नेपालगन्जः नर्स तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक तथा सेवा सुविधाहरु सम्बन्धी मागको सम्बोधनका लागि गठित कार्यदलले प्रतिवेदन बुझाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले स्वास्थ्य मन्त्री डा सुधा गौतमलाई उक्त प्रतिवेदन बुझाएको हो।
निजी तथा सामुदायिक अस्पताल एवं संस्थाहरुमा कार्यरत नर्सिङ्ग/स्वास्थ्यकर्मीहरुको मर्यादित श्रम तथा सुविधाका सम्बन्धमा सरकारी सरह न्यूनतम तलब भत्ता प्रदान गर्न पटक पटक भएका निर्देशन, परिपत्रहरुको हालसम्म कार्यान्वयन नभएकाले यथाशिघ्र कार्यान्वयन गर्न सहमति कायम गर्ने प्रतिवेदनको उद्देश्य छ।
निजी मेडिकल कलेज, डेन्टल कलेज तथा अस्पतालहरुमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीको सेवा सुविधा, सहज व्यावसायिक वातावरणका सम्बन्धमा पनि प्रतिवेदनमा उल्लेख गरिएका छन्। स्वास्थ्य मन्त्रालयले निर्देशन गरे अनुरुपको सेवा सुविधाको माग गर्दै चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजका नर्सहरुले देशव्यापी रुपमा आन्दोलन गरेका थिए।







