अभिभावकको सक्रिय भूमिकाले अटिजम भएका व्यक्तिको विकास सम्भव

    • स्वास्थ्य पेज

  • १ पुष २०८२, मंगलवार

नेपालगन्ज: अटिजम भएका व्यक्तिको शारीरिक, मानसिक तथा सामाजिक विकासका लागि नियमित दिनचर्या, अभिभावकको सक्रिय सहभागिता र सकारात्मक वातावरण अत्यन्त आवश्यक हुने सरोकारवालाले बताएका छन् । अभिभावकहरु सचेत, धैर्यवान् र सकारात्मक भए अटिजम भएका बालबालिकाको व्यवहार नियन्त्रण र विकास सम्भव हुने उनीहरूको भनाइ छ ।

अटिजम भएका व्यक्तिका अभिभावक तथा हेरचाहकर्तालाई लक्षित २ दिने सीप विकास तालिममा सहभागीहरूले उक्त धारणा व्यक्त गरेका हुन् । उक्त तालिम नेपालगन्ज स्वीमिङ क्लबले आकार फाउण्डेसन मोरङको सहयोग तथा लायन्स क्लब अफ नेपालगन्ज पीएनएलएफ र युथसँगको सहकार्यमा आयोजना गरेको हो ।

अटिजम भएका व्यक्तिलाई सबैभन्दा आफ्नै अभिभावकको आवश्यकता बढी हुने बताउँदै तालिमका सहजकर्ता तथा आकार फाउण्डेसनका निर्देशक मनोविद् प्रिसिमा थापा (असिमा) ले परिवारको पर्याप्त समय र मायाबाट नै उनिहरुको हेरचाह सम्भव हुने बताईन् ।

२ दिने सीप विकास तालिम

उनिहरुलाई निश्चित दिनचर्यामा राख्नु, सरल भाषा प्रयोग गरी बुझाउन खोज्नु र तनावरहित वातावरण सिर्जना गर्नु आवश्यक हुने भन्दै थापाले अभिभावकले कराउने वा दबाब दिनेभन्दा पनि प्रोत्साहन र माया देखाएर व्यवहार सुधारमा सहयोग पुर्‍याउनुपर्ने सुझाव दिएकी छन् ।

भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट डर्माटोलोजिष्टि तथा पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा.बद्री चापागाईंले अटिजमका घटना बढ्दै गएको भन्दै रोकथामका लागि अभिभावकले सन्तानलाई समय दिनुपर्ने र ग्याजेटमा निर्भरता घटाउनुपर्ने बताए । व्यस्त जीवनशैलीका कारण बालबालिकासँग संवाद र समय घट्दै गएको उल्लेख गर्दै उनले ग्याजेटको भरमा बच्चा हुर्काउँदा समस्या थप बढ्ने चेतावनी दिए ।

नेपालगन्ज स्वीमिङ क्लबका अध्यक्ष केशवराज न्यौपानेको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा वरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारीले अटिजमको समस्या बढ्दै गएको भन्दै सामाजिक उत्तरदायित्वका रूपमा तालिम आयोजना गरिएको बताए । तालिममा बाँकेको नेपालगन्ज र कोहलपुर क्षेत्रका करिब ५० बढी अटिजम भएका व्यक्ति, अभिभावक तथा हेरचाहकर्ताको सहभागिता छ । दुईदिने तालिम आज सकिदैछ ।

  • १ पुष २०८२, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech