नेपालगन्जः डा. सैयद वकार अहमद बाँकेको नरैनापुर गाउँपालिकाका पहिलो डाक्टर हुन् । उनी २०३२ सालमा बाँकेको ‘कर्णाली’ भनेर चिनिने दुर्गम नरैनापुर गाउँपालिका–२ गंगापुरमा जन्मिएका हुन् । उनका बुवा सैयद मुस्ताक अहमद इस्लाम धर्मगुरु हुन् । त्यतिमात्र होइन उनी समाजसेवी पनि थिए । खेती किसानीसँगै समाजसेवा उनको बढी रुचि थियो । पढेलेखे र सम्पन्न परिवारमा जन्मिएका सैयदको जन्मथलो नरैनापुरमा अहिले पनि शिक्षा र स्वास्थ्यको अवस्था नाजुक नै छ ।
५० वर्षअघि त अवस्था कति कठिन थियो होला भन्ने सहजै अनुमान गर्न सकिन्छ । सडक सुविधा बनेको त झण्डै आधा दशक जति मात्र भएको हो । विद्युत् सेवा पनि धेरै पुरानो होइन । त्यतिबेला नेपालगन्ज आउन अहिलेझैँ सहज थिएन । बाटोघाटो नै थिएन, राप्ती नदीमा पुल पनि थिएन । सदरमुकाम नेपालगन्ज आउनुपर्दा भारतको बहराइच हुँदै १३२ किलोमिटर घुमेर आउनु पथ्र्यो ।
त्यसै कारण उनी भारतको बहराइचमै बसेर हुर्किए–बढे र अध्ययन गरे । प्लस टु बहराइचबाट पूरा गरेपछि उनी एमबीबीएसको तयारीमा जुटे । सन् २००० मा बंगलादेशबाट एमबीबीएस अध्ययन पूरा गरे । त्यसपछि सन् २००६ मा बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट मेडिसिनमा एमडी गरे । थुप्रै देशहरुबाट पनि उनले एकेडेमिक तालिम समेत हासिल गरेका छन् । केही समय धरानमै अध्यापनसमेत गरे । सन् २००७ देखि भने उनी नोबेल मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगरमा कन्सल्टेन्ट फिजिसियनका रुपमा कार्यरत छन् ।
बाँकेको नरैनापुरमा जन्मिएर भारतको बहराइचमा हुर्किए, हाइस्कुल तहसम्म त्यहीँ अध्ययन गरे, बंगलादेशबाट एमबीबीएस र धरानबाट एमडी पूरा गरेपछि उनी विराटनगरमा बसेर निरन्तर सेवा दिँदै आएका छन् । हाल विराटनगरमै उनको घर छ । उनी नेपालगन्जमा पनि समय–समयमा प्र्याक्टिस गर्न आउँछन् । नरैनापुर गाउँपालिकाको नाम आउँदा अझै पनि उनलाई दुर्गमता, अभाव र पहुँचको कमी सम्झना हुन्छ । यही भूगोलबाट पहिलोपटक सेतो एप्रोन लगाएर डाक्टर बनेका डा. सैयद आफ्नो जन्मभूमिप्रतिको अघात प्रेम लुकाउन चाहादैनन् ।

जन्मभूमिमा रातको समयमा पनि बिरामीलाई स्वास्थ्य सेवा दिँदै डा.अमहद
अहिले उनी पूर्वी नेपाल, विराटनगरमा कार्यरत छन् । आधुनिक अस्पताल, सुविधा सम्पन्न सहर र व्यस्त जीवनबीच पनि उनी आफ्नो जन्मथलो नरैनापुरलाई कहिल्यै बिर्सिँदैनन् । वर्षमा पाँच–छ पटक उनी नरैनापुर गाउँपालिका–२ गंगापुर पुग्छन् । त्यो यात्रा केवल घर जाने औपचारिक भ्रमण हुँदैन, बरु सेवा र जिम्मेवारी बोकेको यात्राजस्तै हुन्छ । गाउँ पुगेपछि उनी स्थानीय नागरिकसँग भेटघाट गर्छन् । स्वास्थ्य समस्या बुझ्छन् र रोग लागेपछि मात्र होइन, रोग लाग्न नदिन के गर्ने भन्ने विषयमा स्वास्थ्य शिक्षा दिन्छन् ।
‘जुन भूगोलबाट म पहिलो डाक्टर बनेँ, त्यसप्रति स्वाभाविक रुपमा गर्व लाग्छ उनी भन्छन्–‘विदाको मेसो मिल्यो भने जन्मथलो जान्छु । त्यहाँका नागरिकलाई सकेसम्म स्वास्थ्य सेवा र सचेतना दिनु नै मेरो कर्तव्य हो भन्ने लाग्छ ।’ गाउँका लागि उनी केवल डाक्टर मात्र होइनन्, आशाको प्रतीक पनि हुन् । कहिल्यै डाक्टर नदेखेको, अस्पताल टाढा रहेको समाजमा जन्मिएका उनी स्वयं डाक्टर बनेर बेलाबखत नरैनापुर आउँदा युवाका लागि प्रेरणादायी कथा बनेको छ ।

निःशुल्क स्वास्थ्य शिविरमा, स्वास्थ्यकर्मीको टिमसँगै डा.अहमद पनि ।
उनका शब्द र व्यवहारले स्थानीयलाई उपचारभन्दा पनि ठूलो कुरा—आफ्नो स्वास्थ्यप्रति सचेत हुन सिकाइरहेका छन् । सहरमा सफल चिकित्सकको जीवन बिताइरहेका डा. सैयद वकार अहमदका लागि गंगापुर केवल जन्मिएको ठाउँ मात्र होइन, सेवा गर्नुपर्ने जिम्मेवारी हो । यही जिम्मेवारीबोधले उनलाई बारम्बार आफ्नै माटोमा फर्काइरहन्छ—जहाँबाट उनको यात्रा सुरु भएको थियो । उनी भन्छन्–‘आज गर्व लाग्छ । तर त्यो गर्व केवल मेरो मात्र होइन्, यो ४० वर्षअघिको संघर्ष, अभाव र नथाक्ने सपनाको विजय हो । त्यो बाटो सजिलो थिएन, तर आज फर्केर हेर्दा महसुस हुन्छ । अँध्यारोबाट उज्यालोसम्म आइपुग्नु नै जीवनको सबैभन्दा ठूलो उपलब्धि रहेछ ।’

स्वास्थ्य शिविरमा डा.अमहद
डा.सैयदलाई नरैनापुरबासीले समाजसेवीका रुपमा समेत चिन्छन् । लायन्स क्लव र रोटरी क्लव जस्ता सामाजिक संघसंस्थामा आवद्धता भएर उनले समाजसेवाको कर्ममा पनि आफुलाई अब्बल बनाएका छन् । उनको बाल्यकालमा डाक्टर बन्ने विशेष चाहना थिएन । उनका बुवाले सन् १९६५ मै स्नातक तह पूरा गरेका थिए । बुवाको चाहना आफ्ना सन्तानले राम्रो शिक्षा हासिल गरुन् भन्ने थियो । त्यसैले सैयदले पनि पढ्नैपर्छ भन्ने मान्यतामा हुर्किए । पढ्दै जाँदा उनको मावली परिवार नै स्वास्थ्यकर्मी भएको, त्यसमा पनि अधिकांश चिकित्सक रहेको थाहा पाए । उनी जन्मिँदाखेरि नै हजुरआमाले ‘यसलाई डाक्टर बनाउनुपर्छ’ भनेको कुरा उनले पछि थाहा पाएका थिए । त्यसै प्रेरणाले आफू डाक्टर बनेको उनी बताउँछन् ।








