सुर्खेतः दुर्गम भूगोल, गरिबी, शिक्षा र स्वास्थ्य सेवामा सीमित पहुँच तथा कुपोषणजस्ता संरचनात्मक समस्याले कर्णालीका बालबालिकाको स्वास्थ्य अवस्थालाई गम्भीर चुनौती दिइरहेका छन् । कर्णाली प्रादेशिक अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डा.महेश चौलागाइँ भन्छन्–‘कर्णाली प्रदेशमा बालस्वास्थ्यको सबैभन्दा ठूलो समस्या कुपोषण हो । पाँच वर्षमुनिका बालबालिकामा तौल कम हुनु, उमेरअनुसार उचाइ नपुग्नु र शरीरको तौल अत्यधिक घट्नु व्यापक रूपमा देखिन्छ ।’ बालस्वास्थ्यसँग जोडिएको अर्को गम्भीर पक्ष बाल मृत्युदर पनि हो ।
कर्णाली प्रदेशमा नवजात, शिशु तथा पाँच वर्षमुनिका बाल मृत्युदर राष्ट्रिय औसतभन्दा उच्च रहेको पाइन्छ । सुरक्षित प्रसूति सेवाको कमी, दक्ष स्वास्थ्यकर्मीको अभाव, ढिलो गरी स्वास्थ्य संस्थामा पुग्ने प्रवृत्ति तथा भौगोलिक कठिनाइका कारण धेरै बालबालिकाले समयमै आवश्यक उपचार पाउन नसक्दा मृत्युवरण गर्न बाध्य छन् । ‘सामान्य उपचारले निको हुन सक्ने रोगसमेत जटिल अवस्थामा पुगेर ज्यान जाने घटनाहरू कर्णालीमा अझै देखिन्छन्’ डा.चौलागाइँ अनुभव सुनाउँछन्। कर्णालीका धेरै गाउँबस्तीहरु स्वास्थ्य संस्थाबाट टाढा छन् । कतिपय स्थानमा स्वास्थ्य चौकी भए पनि औषधि, उपकरण र जनशक्तिको अभाव छ ।

बालरोग विशेषज्ञ डा.महेश चौलागाइँसँग स्वास्थ्यपेजकर्मी ।
विशेषज्ञ चिकित्सक, बालरोग विशेषज्ञ तथा पोषणसम्बन्धी सेवा सीमित छन् । कठिन सडक अवस्था, यातायातको कमी र आर्थिक अभावका कारण अभिभावकहरुले बालबालिकालाई समयमै अस्पताल लैजान नसक्ने अवस्था छ । सामाजिक र सांस्कृतिक पक्षले पनि बालस्वास्थ्यमा प्रभाव पारेको छ । बालविवाह, कम उमेरमै गर्भधारण, मातृ शिक्षाको कमी र स्वास्थ्य सचेतनाको न्यून स्तरले बालस्वास्थ्यलाई कमजोर बनाएको उनको अनुभव छ । अभिभावकहरुमा बच्चाको रोग हो की भोक हो छुट्याउन सक्ने ज्ञान नै नभएको उनी बताउँछन् । बच्चा रोयो भने भोकले नै रोएको हो भन्ने मानसिकता अभिभावकमा छ ।
अभिभावकमा जनचेतनाको अभाव, स्वास्थ्यकर्मीमा समेत पर्याप्त जानकारी नहुनु लगायतका कारणले सामान्य ज्वरो आउँदापनि बालबालिकालाई एन्टिबायोटिक खुवाउने, त्यसमा डोज (मात्रा) पनि पूरा नदिने लगायतका कारणले एन्टिबायोटिक रेसिस्टेन्टको जोखिम अत्यधिक
कर्णालीका १० जिल्लामध्ये सुर्खेत र मुगुबाहेक अन्य कुनैपनि जिल्लामा बालरोग विशेषज्ञ छैनन् । बालरोग विशेषज्ञता हासिलपछि डा.चौलागाइँ करिव डेढ वर्ष जिल्ला अस्पताल रुकुममा बसेर दुर्गमका बालबालिकालाई विशेषज्ञ सेवा दिए । उनी पनि गएको कार्तिक महिना प्रादेशिक अस्पताल सुर्खेत आइसकेका छन् । पछिल्लो समय कर्णालीका बालबालिकामा बढ्दो एन्टिबायोटिक रेसिस्टेन्टको जोखिम झनै बढ्दै गएको अनुभव डा.चौलागाइँलाई हुन थालेको छ ।
स्वास्थ्यपेजसँगको कुराकानीमा आफ्ना अनुभव साट्नेक्रममा उनले अभिभावकमा जनचेतनाको अभाव, स्वास्थ्यकर्मीमा समेत पर्याप्त जानकारी नहुनु लगायतका कारणले सामान्य ज्वरो आउँदापनि बालबालिकालाई एन्टिबायोटिक खुवाउने, त्यसमा डोज (मात्रा) पनि पूरा नदिने लगायतका कारणले एन्टिबायोटिक रेसिस्टेन्टको जोखिम अत्यधिक बढेको उनले बताए । जिल्ला अस्पतालहरुमा पनि गुणस्तरीय ल्यावको अभावमा चिकित्सकहरुले परीक्षण विनानै एन्टिबायोटिक चलाउँदा पनि समस्या जटिल बन्दै गएको उनको अनुभव छ । गुणस्तरीय ल्यावको अभाव, दक्ष जनशक्ति नहुनु, ग्रामीणक्षेत्रका स्वास्थ्यकर्मीलाई समेत पर्याप्त ज्ञानको अभाव लगायतका कारण पनि समस्या विकराल बनेको उनले सुनाए ।
१४ दिनपछि भेन्टिलेटरबाट फर्किएका ती बालक…
एन्टिबायोटिक रेसिस्टेन्सले पारेको असरबारे उनले दुई वर्षअघिको एउटा घटना सुनाए । त्यतिबेला उनी पाटन अस्पतालमा एमडी गर्दै थिए । दुई वर्षका एक बालक ज्वरो र घाँटी खसखस गर्ने समस्या लिएर रुकुमपश्चिमको जिल्ला अस्पताल आएछन् । डाक्टरले संक्रमणको आशङ्कामा चार–पाँच दिन पुग्ने एमोक्सिसिलिन औषधि दिएर घर पठाए । तर बालकको ज्वरो कम भएन, बरु शरीरभरि रातो दाग देखिन थाले ।
अभिभावकले हतारहतार फेरि अस्पताल ल्याए । डाक्टरले हेरे, एलर्जी भएको ठानेर एथ्रोमाइसिन दिइयो, तर त्यसले पनि काम गरेन । त्यसपछि अभिभावकहरुले बालकलाई नेपालगन्ज ल्याए । परीक्षण गर्दा जन्डिस देखियो । कलेजो पनि सुन्निएको अवस्थामा थियो । डा.महेशसँगको समन्वयमा बालकलाई काठमाडौंको कान्ति बाल अस्पताल लगियो । किनकि महेशले जिल्ला अस्पताल रुकुममा पनि काम गरेकाले अभिभावकहरुले उनीसँग समन्वय गरेका थिए ।
त्यतिबेला बालकको मुटुको चाल निकै कम भइसकेको थियो र पिसाबसमेत बन्द भएको थियो। कान्तिमा आईसीयूको अभाव भएपछि उनलाई पाटन अस्पताल सारियो । त्यहाँ बालरोग विशेषज्ञ डा.पुजा अमात्यको नेतृत्वमा डा.महेश इन्टर्नसीपमा थिए । बालक बेहोस अवस्थामा पुगेको थियो र भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आयो । कल्चर परीक्षण गर्दा ती बालकमा सेफेपिम र सेफ्ट्रियाक्सोनजस्ता एन्टिबायोटिकले काम नगर्ने, अर्थात् ती औषधिप्रति रेसिस्टेन्ट भएको पाइयो । अन्तिम विकल्पका रुपमा प्रयोग गरिने मेरोपेनेम एन्टिबायोटिक दिएपछि मात्र उपचार प्रभावकारी भयो र बालकको ज्यान जोगियो । सामान्यतया अन्य एन्टिबायोटिकले काम नगरेको अवस्थामा मात्र मेरोपेनेम प्रयोग गरिन्छ । १४ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरेपछि बालकको स्वास्थ्यमा सुधार आयो । यो घटना उनी कहिल्यै विर्सन सक्दैनन् ।
जव मुटुको चाल घट्दै गयो…
एमडी सकेपछि उनी जिल्ला अस्पताल रुकुमपश्चिममा कार्यरत थिए । एक जना महिला सुत्केरी भइन्, तर बच्चा रोएन । यस्तोमा ब्याग एन्ड मास्क आवश्यक पर्ने अवस्था मानिन्छ । बच्चाको मुटुको चाल पनि आएको थिएन । सामान्य अवस्थामा स्वस्थ बच्चाको मुटुको चाल प्रतिमिनेट एक सयभन्दा माथि हुनुपर्छ, तर त्यस बच्चाको मुटुको चाल क्रमशः घट्दै गएर ६० भन्दा तल झर्यो। सबै आत्तिए । डा. महेशले तत्काल नाभीबाट क्यानुला हालेर एड्रिनालिन औषधि दिए।
साथै नर्मल सलाइन र क्याल्सियम ग्लुकोनेट पनि दिए । त्यसपछि क्रमशः बच्चाको मुटुको चाल बढ्न थाल्यो । यदि नाभीबाट क्यानुला हालेर समयमै औषधि नदिएको भए बच्चाको ज्यानै जान सक्थ्यो । यसले पुष्टि गर्छ कि विशेषज्ञ चिकित्सक हुँदा क्रिटिकल केसहरुको तत्काल मूल्याङ्कन र व्यवस्थित व्यवस्थापनले जीवन जोगाउन सकिन्छ । त्यसैले हरेक अस्पतालमा विशेषज्ञ चिकित्सकको आवश्यकता जीवन जोगाउन महत्वपूर्ण हुन्छ भन्ने सन्देश पनि हो ।
को हुन् डाक्टर महेश चौलागाइँ ?

बालरोग विशेषज्ञ डा.महेश चौलागाइँ ।
जुम्ला तातोपानी गाउँपालिका–५, लाम्रामा २०४७ सालमा जन्मिएका हुन् । उनका पिता छायादत्त चौलागाइँ र आमा पदमाशीला हुन । बुबा सरकारी जागिरे शिक्षा अधिकृत थिए । उनका दुइ भाइ र तीन दिदी–बहिनी छन् । कक्षा ४ सम्म उनले गाउँकै दुर्गा माध्यमिक विद्यालयमा अध्ययन गरे । त्यसपछि भने उनले त्रिपुरेश्वर मावि, ढोडेखाली सुर्खेतमा पढें । फुपुको घर यतै भएकाले उनी सुर्खेत झरेका थिए । २०६२ सालमा प्रथम श्रेणीमा एसएलसी पास गरे । उनी सामुदायिक विद्यालयबाट जिल्ला प्रथम भएका थिए । पढ्नमा मेधावी उनी कक्षामा कहिल्यै दोस्रो भएनन् । २०६४ सालमा काठमाडौं मोडेल कलेजबाट प्रथम श्रेणीमा प्लस टु गरे । सानैदेखि उनी डाक्टर बन्ने सपना देख्थे ।
सेतो एप्रोन लगाएको देख्दा उनको बालमस्तिष्कमा डाक्टर बन्ने विचार बुनिसकेको थियो । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा २०६६ सालमा उनले एमबीबीएस अध्ययनका लागि छात्रवृत्तिमा नाम निकाले । त्यसपछि उनको डाक्टर बन्ने सपना सार्थक भयो । २०७२ सालमा उनले एमबीबीएस पूरा गरे। संयोगवश त्यसैबेला भूकम्प भयो । एमबीबीएस पूरा गरेपछि उनी काभ्रेपलान्चोक जिल्लाको ढुङखर्क स्वास्थ्य चौकीमा ८ महिना काम गरे र स्वास्थ्य सेवा विभागमा अनुभव प्राप्त गरे । २०७४ सालमा जिल्ला अस्पताल दैलेखमा हाजिर भए र त्यहाँ ६ महिना करार सम्झौता थप भयो । २०७४ साल माघमा उनी मेडिकल अधिकृतका रुपमा सरकारी सेवामा प्रवेश गरे ।
पहिलो पोष्टिङ बाहुनी प्राथमिक स्वास्थ्य केन्द्र, विराटनगरमा भयो । २०७६ सालमा पुनः दैलेख जिल्ला अस्पतालमा हाजिर भए । केही समयपछि उनी रुकुम जिल्ला अस्पताल पुगे । २०७८ सालमा एमडी अध्ययनका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छात्रवृत्तिमा नाम निकाले । एमडी पूरा भएपछि २०८१ साल बैशाख १३ गते उनले पुनः जिल्ला अस्पताल रुकुममा कार्य सुरु गरे । २०८२ साल कार्तिक १९ गतेदेखि उनी कर्णाली प्रादेशिक अस्पतालमा बालरोग विशेषज्ञका रुपमा कार्यरत छन् ।

स्वास्थ्यपेज विशेषांकसहित ।







