स्वास्थ्य कार्यालय बाँकेद्वारा निजी स्वास्थ्य संस्थालाई दर्ता–नवीकरण अनिवार्य गर्न सूचना

    • स्वास्थ्य पेज

  • २६ मंसिर २०८२, शुक्रबार

नेपालगन्ज : स्वास्थ्य कार्यालय बाँकेले जिल्लाभित्र सञ्चालनमा रहेका सबै निजी तथा प्राइभेट स्वास्थ्य संस्थाहरूलाई अनिवार्य रूपमा दर्ता तथा नवीकरण प्रक्रिया समयमै पूरा गर्न आग्रह गरेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै स्वास्थ्य सेवा सञ्चालन गर्दै आएका संस्थाहरूले ऐन तथा नियमावलीअनुसार आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने स्पष्ट पारेको हो ।

प्रदेश स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति ऐन २०७६ तथा नियमावली (पाँचौँ संशोधन) २०८० बमोजिम पोलिक्लिनिक, स्वास्थ्य क्लिनिक, डेन्टल क्लिनिक तथा फिजियोथेरापी सेवा जस्ता स्वास्थ्य संस्थाको स्थापना, सञ्चालन, नवीकरण, स्तरोन्नति र नियमन गर्ने निकाय स्वास्थ्य कार्यालय नै हुने भएकाले सोही अनुसार सेवा प्रदान गर्ने सबै संस्थाले अनिवार्य रूपमा दर्ता, नवीकरण तथा स्तरोन्नति प्रक्रिया पूरा गर्नुपर्ने सूचनामा उल्लेख छ ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलद्वारा हस्ताक्षरित सूचनामा १५ बेडभन्दा माथिका अस्पतालहरूलाई दर्ता तथा नवीकरणको सिफारिसका लागि आवश्यक मापदण्ड पूरा गरी कार्यालयबाट सिफारिस लिनुपर्ने उल्लेख छ । संघ वा प्रदेश तहमा दर्ता गर्नुपर्ने अस्पतालहरूको प्रारम्भिक सिफारिस स्वास्थ्य कार्यालयबाट हुने भएकाले सो प्रक्रिया पूरा गर्न कार्यालयले आग्रह गरेको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले बताए ।

कार्यालयले जिल्लाभित्रका सबै सम्बन्धित स्वास्थ्य संस्थालाई आवश्यक कागजातसहित दर्ता, नवीकरण तथा सिफारिसका लागि कार्यालयमा निवेदन पेश गर्न अनुरोध गरेको छ ।

हेर्नुहोस् सूचना

  • २६ मंसिर २०८२, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech