ओसिएमसीबाट सेवा लिने बढ्न थाले, अझै व्यवस्थित गराउन सुझाव

    • स्वास्थ्य पेज

  • २५ मंसिर २०८२, बिहीबार

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जमा लैंगिक हिंसा पीडितको न्यायका लागि एक–द्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी)ले पछिल्लो आर्थिक वर्षमा ३९९ जनालाई सेवा दिएको छ । आर्थिक वर्ष २०८१/८२ मा ३९९ जनाले सेवा लिएको ओसिएमसी प्रमुख तथा फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यले जानकारी दिए ।

त्यस्तै आर्थिक वर्ष २०७९/८० मा ३५२ जना र २०८०/८१ मा ३६६ जनाले सेवा लिएका थिए । २०७४ सालदेखि सञ्चालनमा आएको केन्द्रले निरन्तर रूपमा सेवा लिने पीडितहरूको संख्या बढिरहेको तथ्यांकले देखाएको छ ।

उनले भने-“पीडितको पहिचानदेखि कानुनी प्रक्रिया अघि बढाउनका चुनौती, समयमै बयान नदिनु, उजुरी दर्तामा हिचकिचाहट तथा कानुनी जटिलताले सेवा प्रवाहमा कठिनाइ ल्याउँछ।” एडभोकेसी फोरम नेपाल, भेरी अस्पताल र होप ट्रेनिङ एण्ड रिसर्च सेन्टरको सहकार्यमा भेरी अस्पतालको ओसिएमसी सेवाको प्रभावकारिता, चुनौती र सुधारका उपायबारे अन्तरक्रिया कार्यक्रममा उनले यस्तो तथ्यांक प्रस्तुत गरेका थिए ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले ओसिएमसी सेवा लैंगिक हिंसा पीडितका लागी अत्यन्त संवेदनशील र महत्वपूर्ण रहेकाले यसलाई अझ व्यवस्थित र प्रभावकारी बनाउनु सबैको साझा जिम्मेवारी भएको बताए ।

कार्यक्रमलाई सम्वोधन गर्दै भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदी ।

कार्यक्रमको सहजीकरण गर्दै एडभोकेसी फोरम लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतमले ओसिएमसी प्रभावकारी बनाउन सबै निकायको सक्रिय सहकार्य अपरिहार्य रहेको बताए । उनले द्धन्द्वकालीन लैंगिक हिंसा पीडित देखि हालका घटनामा परेका पीडितसम्म सबैका लागि ओसिएमसी महत्त्वपूर्ण माध्यम बनेको उल्लेख गर्दै सेवाको व्यापकता र पहुँच विस्तारमा जोड दिए ।

जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङले प्रशासन र ओसिएमसी बीच आपसी समन्वय, पीडितको न्याय र पीडित सुरक्षा व्यवस्थालाई मजबुत बनाउन प्रशासन सधैं सहकार्य गर्न तयार रहेको बताए ।

जिल्ला न्यायाधीवक्ता दशरथ गौतमले कानुनी जटिलता र प्रक्रियागत ढिलाइ पीडितको न्यायमा बाधक हुने बताउँदै “ओसिएमसीबाट संकलित प्रमाण र रिपोर्टलाई अदालतका लागि विश्वसनीय बनाउन सहकार्य अत्यावश्यक रहेको बताए ।

नेपालगञ्ज उपमहानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा, प्रमुख पवित्रा कुमारी पुरीले स्थानीय तहबाट पीडित–मैत्री सेवा तथा मनोसामाजिक परामर्शलाई अझ सबल बनाउन आग्रह गर्दै ओसिएमसीसँगको सहकार्यलाई प्राथमिकता दिइने बताइन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक जिवराज थापा क्षेत्रीले पीडित उजुरी दर्तामा हिचकिचाउने समस्या अझै कायम रहेको बताउँदै प्रहरी, अस्पताल र स्थानीय तहबीच नियमित समन्वय भएमा धेरै चुनौती समाधान हुने उल्लेख गरे ।

भेरी अस्पताल नर्सिङ प्रमुख आशा पन्थले अस्पताल भित्रका सबै वार्डमा लैंगिक हिंसा सम्बन्धी संवेदनशीलता तथा रिपोर्टिङ प्रणाली सुदृढ गर्दै ओसिएमसीलाई थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

अन्तरक्रिया कार्यक्रमका सहभागीले लैंगिक हिंसा पीडितको पहिचानदेखि मुद्दा दर्तासम्म धेरै तहमा जटिलता हुने गरेको, उजुरी नदिन वा बयान परिवर्तन गर्ने प्रवृत्तिले न्याय प्रक्रियामा चुनौती रहेको, सीमित जनशक्ति र स्रोतले सेवा विस्तारमा प्रभाव पारेको, द्धन्द्वकालीन पीडितका लागि सेवा पहुँच सुनिश्चित गर्नुपर्ने, रिफरल प्रणाली अझ प्रभावकारी बनाउनु पर्ने जोड दिईएको थियो ।

कार्यक्रममा अस्पतालका सबै वार्ड प्रमुखलाई ओसिएमसीका कार्यविधि र दायित्वबारे जानकारी गराईएको होप टे«डिङ्ग एण्ड रिसर्च सेन्टरका अध्यक्ष राजन गौतमले बताए । सेन्टरका निर्देशक सुरेश कुमार गौतमले लैंगिक हिंसा पीडितका न्यायमा सहयोग पुराउने उद्देश्यले कार्यक्रम गरिएको बताए ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानकै सन्दर्भमा गरिएको यो अन्तरक्रिया भेरी अस्पतालमा रहेको ओसिएमसी सेवालाई अझ प्रभावकारी, दिगो र पीडित–मैत्री बनाउन टेवा पुगेको होप टे«डिङ्ग एण्ड रिसर्च सेन्टरका उपाध्यक्ष सरस्वती मल्लले बताइन् । कार्यक्रममा अदालत, सरकारी वकिल, स्थानीय प्रशासन, प्रहरी, बार, स्थानीय तह, अस्पतालका विभिन्न शाखा तथा गैससका प्रतिनिधि सहभागी थिए ।

  • २५ मंसिर २०८२, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech