डा.दुर्गाको उपचार अनुभवः पाठेघर उल्टिएर वेहोस अवस्थामा मध्यराती ल्याइएकी ती महिला…

एमबीबीएसपछि विशेषज्ञता हासिल गर्ने धेरै विकल्प भए पनि उनीभित्र प्रसूति तथा स्त्रीरोग (गाइने) अध्ययन गर्ने आकर्षण विशेष थियो । यो चाहनाको पछाडि दुर्गाको ‘रिस्क लिन सक्ने स्वभाव’ नै मुख्य रह्यो । उनी भन्छिन्–‘यो विषय दुई जीवनसँग जोडिएको हुन्छ—आमा र बच्चा । अलिकति मात्र तलमाथि हुँदा पनि दुवैको ज्यान जोखिममा पर्न सक्छ । सानोतिनो मुटु भएकाले यो विषय सम्हाल्न सकिँदैन ।’


    • प्रियास्मृति ढकाल / समिरमान श्रेष्ठ

  • २२ मंसिर २०८२, सोमबार

नेपालगन्जः सुर्खेतको भेरीगंगा नगरपालिका–३ छिन्चुमा २०४२ सालमा धर्मराज बुढाक्षेत्री र पशुपति बुढाक्षेत्रीको कोखबाट जन्मिएकी डा. दुर्गा विसी परिवारकी पहिलो र एक मात्र चिकित्सक हुन् । उनका श्रीमान सशस्त्र प्रहरीका डिएसपी छन् । दुई छोरा हुर्काइरहेकी छिन् । व्यवसायिक पृष्ठभूमिको परिवारमा जन्मिएर आर्थिक अभाव नदेखे पनि उनको सफलताको मूल आधार कडा मिहिनत, बुद्धिमत्ता र अडिग लक्ष्यप्रति रहेको प्रतिबद्धता हो । छिन्चु इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ५ सम्म अध्ययन गरेकी दुर्गाले त्यसपछि उच्च अध्ययनका लागि काठमाडौंको यात्रा सुरु गरिन् । सानैदेखि पढाइमा तेज भएकी उनले काठमाडौं भ्यालीबाट २०५९/६० सालमा एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरिन् ।

२०६२ सालमा युनाइटेड एकेडेमीबाट प्लस–टु पनि प्रथम श्रेणीमै सक्न सफल भइन् । उनको मनमा डाक्टर बन्ने चाहना भने सानै उमेरदेखि पलाएको थियो । गाउँ–घरको वातावरणमा डाक्टर, इन्जिनियर र पाइलटप्रति देखिने ठूलो सम्मानले उनको बालमस्तिष्कमा विशेष छाप छाडेको थियो । त्यही सम्मानसँगै सेवाको नाता जोडिएको अनुभूति बाल्यकालमै गरिसकिएकी दुर्गाले भविष्यमा चिकित्सक बन्ने लक्ष्य प्रष्ट्याइ सकेकी थिइन् । उनको सपना नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरबाट एमबीबीएसमा नाम निस्किएपछि नयाँ दिशातर्फ उन्मुख भयो । २०६८ सालमा एमबीबीएस पूरा गरेपछि उनले करिब एक वर्ष डायलाइसिस विभागमा काम गरिन् ।यस बीच परिवार नियोजन सेवा क्षेत्रमा पनि अनुभव बटुल्दै उनले चिकित्सकीय अभ्यासको आधार बलियो बनाइन् ।

तर यत्तिले मात्र उनको यात्रा पूरा भएन । एमबीबीएसपछि विशेषज्ञता हासिल गर्ने धेरै विकल्प भए पनि उनीभित्र प्रसूति तथा स्त्रीरोग (गाइने) अध्ययन गर्ने आकर्षण विशेष थियो । यो चाहनाको पछाडि दुर्गाको ‘रिस्क लिन सक्ने स्वभाव’ नै मुख्य रह्यो । उनी भन्छिन्–‘यो विषय दुई जीवनसँग जोडिएको हुन्छ—आमा र बच्चा । अलिकति मात्र तलमाथि हुँदा पनि दुवैको ज्यान जोखिममा पर्न सक्छ । सानोतिनो मुटु भएकाले यो विषय सम्हाल्न सकिँदैन ।’ सम्बन्धित जोखिमले नै उनलाई यस क्षेत्रमा अझै जिम्मेवार, संवेदनशील र निडर बनाइदियो ।

२०७१ सालमा उनले मेडिकल कलेजमै एमडी गाइनेको अध्ययन पूरा गरिन् । त्यसयता नौ वर्षदेखि शिक्षण अस्पतालको प्रसूति तथा स्त्रीरोग विभागमा सह–प्राध्यापकका रुपमा कार्यरत डा. दुर्गाले हजारौं महिला स्वास्थ्य परीक्षण गरिसकेकी छन् । प्रसूति जटिलता, स्त्रीरोग समस्या र आकस्मिक अवस्थाका कैयौं चुनौतीपूर्ण केस उनले सफलता पूर्वक व्यवस्थापन गरिसकेकी छन् । जहाँ एकसँग दुई ज्यान जोडिएका हुन्छन्, जहाँ चिकित्सकको प्रत्येक निर्णय आमा–बच्चाको भविष्यसँग गाँसिएको हुन्छ । स्वास्थ्यपेजसँगको कुराकानीमा उनी भन्छिन्–‘जोखिम त सबै केस नै हुन्छन् केही घटना भने जीवनभर विर्सन नसकिने खालका हुन्छन् ।’

डाक्टर बन्ने बाल्यकालको सपना पूरा गरी हजारौं महिलाको जीवनमा उज्यालो भरेकी डा. दुर्गा विसी आज पनि उही जोस, उही समर्पण र उही प्रतिबद्धतासहित यसक्षेत्रमा सेवा गरिरहेकी छन् । अहिले उनी आफ्नै नेतृत्वमा एच एण्ड एच अस्पताल समेत सञ्चालमा ल्याएकी छिन् । उनको यात्राले देखाउँछ—सपना पूरा गर्न अरुभन्दा बलियो कुरा चाहिन्छः लक्ष्यप्रति दृढता, जोखिम उठाउने साहस र मानवताप्रतिको गहिरो जिम्मेवारी ।

पाठेघर उल्टिएर वेहोस अवस्थामा मध्यराती ल्याइएकी ती महिला…

बर्दिया अस्पतालमा चार–पाँच वर्षअघिको घटना हो । २२ वर्षीया पहिलो प्रसूत महिलाको नर्मल डेलिभरी भएको थियो, तर बच्चा जन्मिएपछि पाठेघर (uterus) बाहिरतिर उल्टिएर निस्किन थालेछ । मेडिकल भाषामा यसलाई uterine inversion भनिन्छ । चिकित्सकहरूले भित्र राख्ने कोशिष गरे तर सफल भएन । रातारात रिफर गरियो र कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालमा राति १२ बजे बेहोस अवस्थामा ल्याइएकी ती महिलालाई डा. दुर्गाले सम्हालीन् ।

एनेस्थेसिया विभाग र क्रिटिकल केयर टिमसहितको समन्वित प्रयासले डा. दुर्गाले पाठेघरलाई पुनः स्थानमा राख्न सफल भइन् । ती महिला करिब १२ घण्टाभित्र पूर्णरुपमा रिकभर भइन् र सामान्य अवस्थामा फर्किइन् । पाठेघर उल्टिँदा हुने अत्यधिक रक्तस्रावले ज्यान जाने उच्च जोखिम हुने भए पनि डा. दुर्गा र उनको टिमको तुरुन्त निर्णय, प्रविधि र सहकार्यले ती आमाको ज्यान जोगियो । उनी यो घटना विर्सिन सक्दिनन् ।

नर्मल डेलिभरी भयो, तर रगत नै रोकिएन…

बाँकेको ढकेरीबाट आएका २६ वर्षीया एक महिला प्रसूति व्यथाले च्यापेपछि एच एण्ड एच अस्पताल आइपुगिन् । यो उनको दोस्रो गर्भ थियो । अस्पतालमा उनको नर्मल डेलिभरी भयो । तर सुत्केरीपछि अपेक्षित भन्दा धेरै रगत बग्न थाल्यो । अर्थात Postpartum Hemorrhage–PPH । डा. दुर्गाले तुरुन्तै स्थिति मूल्यांकन गरिन् । रगत कति बगिरहेको छ, आमा होसमा छ कि छैन, नाडी र रक्तचाप कस्तो छ, श्वासप्रश्वास ठिक छ कि छैन र Shock को संकेत छ कि छैन ? डा. दुर्गाको नेतृत्वमा Step–by–step management । अनि त्यहीअनुसारको उपचार । क्रमशः उपचारको प्रभावले रगतको बहाव घट्दै गयो र महिलाको अवस्था स्थिर भयो । अन्ततः आमाको ज्यान जोगियो । यस्ता घटनाले देखाउँछ कि PPH मा समयमै र रणनीतिक उपचार नै निर्णायक हुन्छ ।

आफ्नै नेतृत्वमा महिला डेडिकेटेड अस्पताल

कोहलपुर मेडिकल कलेजकी सह–प्राध्यापक डा. दुर्गा विसीले आफ्नै नेतृत्वमा १५ शैयाको सुविधा सम्पन्न महिला डेडिकेटेड अस्पताल सञ्चालनमा ल्याएकी छिन् । यो अस्पतालमा २४ घण्टा कन्सल्टेन्ट सेवा उपलब्ध छ । नर्मल डेलिभरी, शल्यक्रिया र जटिल केसहरु समेत सुरक्षित र सहज तरिकाले व्यवस्थापन हुनेगरी सेवा प्रवाह भइरहेको छ । उनको टिममा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. सरोजा महत पनि कार्यरत छन् । अस्पतालमा आइसीयू, एनआईसीयू सेवा उपलब्ध हुनुका साथै प्रसूतिसँग सम्बन्धित अन्य स्वास्थ्य सेवा पनि प्रदान भइरहेको छ ।

बालरोग, अर्थोपेडिक लगायतका सेवा पनि यही अस्पतालबाट उपलब्ध छन् । कोरोनाकालमा, डा. दुर्गाले महिलाले भोगेका दुःख, पीडा र स्वास्थ्य चुनौतीलाई नजिकबाट अनुभव गरेकी थिइन् । गर्भवती महिलाले भोग्नु परेको ती दर्दनाक अनुभवहरुले उनलाई गहिरो प्रभाव पारेको थियो । यही कारणले पनि उनले महिलाका लागि विशेष अस्पताल सञ्चालन गर्ने योजना बनाएकी थिइन् । डा. दुर्गाले भनिन्–‘आफ्नै क्षेत्रबाट स्तरीय सेवा दिन सक्नेगरी जनशक्ती, उपकरण र संरचना तयार पारिएको छ । यसले महिलालाई सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्छ ।’ महिला स्वास्थ्य सेवामा डा. दुर्गाको प्रतिबद्धता, अनुभव र नेतृत्वले यसक्षेत्रका हजारौं महिलाको जीवनमा उज्यालोको अनुभव गराएको छ ।

  • २२ मंसिर २०८२, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech