आकस्मिक दुर्घटनामा छिटो उपचार आवश्यक पर्छ । यस्तो अवस्थामा जो–कोही निजी अस्पतालमै बिरामीलाई लैजाने गर्छन् । किनकि निजीमा छिटो–छरितो सेवा पाइन्छ । तर सुविधा अनुसारको खर्च पनि उत्तिकै लाग्छ । त्यो खर्च गर्ने सामर्थ्य सबैमा हुँदैन । त्यसैलाई मध्यनजर गरी वीर अस्पतालले दुर्घटनामा परी अंगभंग वा अनुहार अंगभंग भएको बिरामीको तत्काल उपचार होस् भन्ने उद्देश्यले ओरल तथा म्याक्जिलोफेसियल शल्यक्रिया सेवा सञ्चालन गरिरहेको छ ।
यो सेवा सञ्चालनमा आएको वर्षौं बित्दा पनि यसबारे सही जानकारीको अभावले कमै मात्र उपचारको लागि पुग्ने ओरल तथा म्याक्जिलोफेसियल सर्जन डा. किशोर भण्डारी बताउँछन् । ‘आकस्मिक सेवाबारे थाहा नपाउने मात्र होइन, यस्तो शल्यक्रिया सम्भव छ वा कतिपयलाई त यो कस्तो सेवा हो भन्ने नै थाहा छैन’, उनी भन्छन् । ओरल तथा म्याक्जिलोफेसियल शल्यक्रिया के हो ? कस्तो अवस्थामा गरिन्छ ? वीर अस्पतालमा यसको सेवा कस्तो छ ? ओरल तथा म्याक्जिलोफेसियल सर्जन डा. भण्डारीसँगको कुराकानीको सम्पादित अंशः
के हो ओरल तथा म्याक्जिलोफेसियल शल्यक्रिया ?
ओरल मुखभित्रको सम्पूर्ण भाग हो । म्याक्जिलो भन्नाले मुख भित्र भएको हाडहरूको संरचनालाई जनाउँछ । यी भागमा कुनै संक्रमण, रोग र दुर्घटनाका कारण अनुहारको भाग क्षत–विच्छेद भएको अवस्थामा शल्यक्रियाबाट गरिने उपचार विधिलाई ओरल तथा म्याक्जिलोफेसियल सर्जरी भन्ने गरिन्छ ।
कस्तो अवस्थामा गरिन्छ ?
शल्यक्रिया सामान्यदेखि जटिलसम्म हुन्छ । दाँत, बुद्धिबंगारो निकाल्ने, हड्डीमा पलाउने सिस्ट र ट्युमरको शल्यक्रिया म्याक्जिलोफेसियल शल्यक्रिया अन्तर्गत पर्छन् । विशेषतः फेसियल ट्रमा अर्थात् अनुहारको चोट–पटकका कारण हड्डी भाँचिएको, नरम तन्तुमा भएको क्षति, बोल्दा वा ‘आँ’ गर्दा चल्ने कान अगाडिको जोर्नीको शल्यक्रिया, पहिलेबाट अनुहारको हड्डीहरूको सन्तुलन नमिलेर आकृति बिग्रिएको अवस्थालाई कस्मेटिक रूपमा राम्रो देखाउन पनि यो शल्यक्रिया गरिन्छ । म्याक्जिलोफेसियल सर्जरी अन्तर्गत दाँत प्रत्यारोपण पनि पर्छ । जसमा दाँत झरेको वा नपलाएको अवस्थामा हड्डीमा कृत्रिम दाँत हालिन्छ ।
म्याक्जिलोफेसियल सर्जरी कसरी हुन्छ ? कत्तिको जटिल मानिन्छ ?
म्याक्जिलोफेसियल सर्जरीको समस्या र प्रक्रियाको आधार धेरै फरक हुन सक्छ । केही शल्यक्रिया सहज हुन्छन् । जसकारण त्यही दिन नै उपचारपछि डिस्चार्ज हुन सकिन्छ । जटिल समस्या तर नतिजा राम्रो चाहेमा अन्य शल्यक्रिया पनि आवश्यक पर्न सक्छ ।
नरम मासु अर्थात् हड्डी नभएको मासु र कडा तन्तुहरू (दाँत र हड्डी)को कुनै कारणवश बिग्रिएको सन्तुलनलाई शल्यक्रिया मार्फत मिलाउने काम गर्छ । अनुहारको हड्डी भाँचिएमा त्यस भागले गर्ने काममा बाधा पुग्छ । जस्तो कि आँ गर्न गाह्रो हुने, टोकाइ बिग्रिने, अनुहारको आकृति खराब हुने ।
यी सबैको जटिलता हेरेर त्यस अनुसार उपचार प्रक्रिया अघि बढ्छ । भाँचिएर सन्तुलन बिग्रिएको हड्डीलाई पहिलाकै अवस्थामा ल्याउन कस्मेटिक शल्यक्रिया समेत गर्ने गरिन्छ । जसले बाहिरबाट हेर्दा दाग समेत छोप्न सक्छन् । यो प्रविधिकै देन हो ।
जति ठूलो घाउ भए पनि शल्यक्रिया गरी मिलाएर दाग समेत नहुने गरी उपचार गरिन्छ । शल्यक्रिया गर्दा दुखाइ नहोस् भन्न एनेस्थेसिया दिइन्छ । शल्यक्रियापछि कति समयपछि ठीक हुन्छ भन्ने घाउ र उपचार प्रक्रियामा निर्भर रहन्छ ।
यो चिकित्सा उपचार विधा नेपालको लागि नयाँ हो ?
यो विधा नेपालको लागि नयाँ होइन । करिब ३० वर्षदेखि यो सेवा नेपालमा छ । वीर अस्पतालमा पनि यो सेवा सञ्चालनमा आएको वर्षौं भइसक्यो । पछिल्लो केही वर्षमा यो विधामा अत्याधुनिक रूपमा विकास भइरहेको छ । तर पनि यसको उपचारबारे अधिकांश अनभिज्ञ छन् ।
पुरानो सेवा हुँदा पनि जानकार किन छैनन्, अधिकांश मानिस ?
शायद, यो चुनौतीको विषय छ । नेपालमा कमै मात्र यो सेवा बारे अवगत छन् । अर्को भनेको दुखाइले जबसम्म दैनिकी स्तरमै दुःख दिंदैन तबसम्म उपचार गर्न अस्पताल पुग्दैनन् । त्यसमाथि मुख तथा दाँतको समस्या हुँदा अत्यधिक दुखाइ भएपछि मात्र अस्पताल जाने चलन छ । अस्पताल गएर कुन ठाउँमा कुन चिकित्सकलाई भेट्ने थाहा हुँदैन । विभिन्न चिकित्सकलाई भेटेर रिफर भएपछि सही ठाउँमा ढिला पुग्छन् ।
त्यस्तै, सरकारी अस्पताल भन्ने वित्तिकै उपचार ढिला हुन्छ भन्ने मानसिकता छ । म्याक्जिलोफेसियल सर्जरीबारे सुन्ने कतिपयले अनुहारको स्वरुप मिलाउनको लागि मात्र गरिन्छ भन्ने पनि सोच छ । यी यावत् पक्षले यो सेवा सरकारीस्तरमा अत्याधुनिक भएर पनि ओझेलमा छ ।
ओरल तथा म्याक्जिलोफेसियल सर्जरी सेवा लिन ओपीडीमा कस्ता खालका बिरामी आइरहेका छन् ?
आकस्मिक सेवाको लागि त घटना घट्ने बित्तिकै बिरामी आउनै पर्ने हुन्छ । ओपीडीमा भने दाँत निकाल्ने, बुद्धिबंगाराको समस्या भएर र अनुहारको विकृत समस्या लिएर आउनेको संख्या बढी छन् ।यीमध्ये धेरै अनुहारको विकृतको समस्या लिएर किशोरावस्थाको उमेर समूह आउँछन् ।
यी शल्यक्रिया पछि जटिलता कतिको देखिन्छ ?
अत्याधुनिक मेसिन र अनुभवी दक्ष जनशक्तिले उपचार गर्ने हुँदा जटिलता कमै छन् ।








