बढ्दै मधुमेहको जोखिम, कसरी जोगिने ?

    • स्वास्थ्य पेज

  • २० मंसिर २०८२, शनिबार

नेपालमा मधुमेह (सुगर) तीव्र गतिमा बढ्दै जाँदा जनस्वास्थ्यमा नयाँ चुनौती थपिएको छ । एकपटक मधुमेह भएपछि जीवनभर सावधानी आवश्यक पर्छ, त्यसैले के खान मिल्ने र के खान नमिल्ने भन्ने जानकारी अत्यन्त जरुरी भएको छ ।

मधुमेह भएका बिरामीका लागि फाइबरयुक्त फलफूल, हरियो सागसब्जी, कोदो–फापर–ओट्स जस्ता होलग्रेन अन्न, अण्डा–दाल जस्ता प्रोटिनयुक्त पदार्थ, बदाम–ओखर जस्ता स्वस्थ बोसो र बिना चिनीका पेय पदार्थ सुरक्षित मानिन्छन् ।

यस्ता खाद्य पदार्थले रक्त–चिनी सुस्त गतिमा बढाउँछन् र सम्पूर्ण मेटाबोलिज्मलाई सन्तुलित राख्छन् । सेतो चामल, सेतो रोटी, बिस्कुट, केक, चकलेट, मिठाई, प्याकेट–जुस, कोल्ड ड्रिंक, फास्टफुड र अत्यधिक तारेका परिकार मधुमेहका लागि सबैभन्दा हानिकारक मानिन्छन्, किनकि यिनमा ‘हिडन सुगर’ र रिफाइन्ड कार्बोहाइड्रेट धेरै भएकाले रक्त–चिनी तुरुन्तै बढाउने क्षमता हुन्छ ।

दैनिक ३० मिनेट हिँडाइ वा व्यायाम, चिनी र प्रोसेस्ड फुडको सेवन न्यूनकरण, पेट वरिपरि बोसो घटाउने, तनाव कम गर्ने, पर्याप्त निद्रा लिने र वर्षमा कम्तीमा एकपटक रक्त–चिनी परीक्षण गर्ने बानीले रोग हुनै नदिने सम्भावना धेरै हुन्छ  । विशेषगरी परिवारमा मधुमेहको जीनेटिक रिक्स भएकाहरूलाई अझै बढी केयरफुल रहन आवश्यक हुन्छ ।

जोखिम भएका व्यक्तिले सेतो चामल–सेतो रोटी पूर्ण रूपमा घटाउने, फाइबर र प्रोटिन बढी खाने, तौल ५–१० प्रतिशतले घटाउने, नियमित व्यायाम अनिवार्य गर्ने र पर्याप्त पानी पिउने बानी अपनाउनुपर्छ । चिकित्सकहरूका अनुसार जेनेटिक जोखिम भए पनि सही जीवनशैलीले मधुमेहलाई थाम्न र रोक्न सकिन्छ ।

बजारमा आकर्षक प्याकेटिङ, मिठास बढाउने र स्वाद बनाउने नाममा चिनीको मात्रा अत्यधिक मिसाइनाले मधुमेहको जोखिम झनै बढ्दै गएको बताइन्छ । जनस्वास्थ्य विज्ञका अनुसार मधुमेह केवल व्यक्तिगत समस्या नभई राष्ट्रियस्तरको स्वास्थ्य चुनौती बन्दै गएको छ, जसलाई रोकथाम, सूचना र जीवनशैली सुधारका माध्यमबाट न्यूनिकरण गर्न सकिन्छ ।

  • २० मंसिर २०८२, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech