नेपालगन्ज: २२औं राष्ट्रिय सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा बर्दिया बाँसगढी नगरपालिकाका स्वयंसेविकालाई डिजिटल थर्मस बितरण गरिएको छ । वर्षौंदेखि समुदायको स्वास्थ्य सुरक्षाका अगाडि उभिएर सेवा पुर्याउँदै आएका १०३ जना स्वास्थ्य स्वयंसेविकालाई डिजिटल थर्मस वितरण गरिएको हो ।

स्वयंसेविकालाई डिजिटल थर्मस बितरण गरिदै
नेपालगन्जस्थित एचसीआरसी अस्पतालको सहयोगमा गरिएको यो कार्यक्रममा स्वयंसेविकाहरुको योगदानप्रति कृतज्ञता र सम्मान दुवै मिसिएको अनुभूति पाइन्थ्यो । अस्पतालकी व्यवस्थापक बिनिता खत्रीले अस्पतालको सामाजिक उत्तरदायित्व अन्तर्गत स्वयंसेविकाहरुलाई थर्मस सहयोग गरिएको बताइन् । व्यवस्थापक खत्रीले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालले निरन्तर समुदायमूखी गतिविधिमा संलग्न रहँदै आएको र स्वयंसेविकालाई प्रदान गरिएको सहयोग पनि त्यसैको निरन्तरता भएको बताइन् ।

स्वयंसेविकाहरुको योगदानप्रति कृतज्ञता र सम्मान
थर्मस वितरण गर्दै उपमेयर इन्दिरा चौधरीले समुदायमा स्वास्थ्य सेवा जोड्ने ‘अदृश्य पुल’ को रुपमा स्वयंसेविकाको सक्रियता रहेको भन्दै प्रशंसा गरिन् । `तपाईंहरुले गरेको निःस्वार्थ कामले पालिकाको स्वास्थ्य प्रणालीप्रति समुदायको भरोसा बढेको छ। विश्वास, पहुँच र सहभागिता विस्तार हुनुमा तपाईंहरुको भूमिका अतुलनीय छ´ उपमेयर चौधरीले भनिन् । उनले यो सहयोगमार्फत स्वयंसेविकाको दैनिकी अझ सहज बन्ने विश्वास पनि व्यक्त गरिन् ।
यस्तै पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले चिसो मौसममा गाउँगाउँ धाउनैपर्ने स्वयंसेविकाका लागि डिजिटल थर्मस सयोगी साधन बन्ने बताए। `सकसपूर्ण समयमै पनि तातो पानी पिउन मिल्नु स्वास्थ्य र ऊर्जा दुवैका लागि महत्वपूर्ण हुन्छ उनले भने-`अस्पतालको यो सहयोगले उनीहरुको दैनिक सेवामा सचेतता र सहजता थप्नेछ ।´

कार्यक्रममा नगरपालिकातर्फबाट स्वास्थ्य शाखा प्रमुख कुलबहादुर बिष्ट, सिनियर अनमी जानकी गिरी, नगर अस्पतालका व्यवस्थापक बलबहादुर चौधरी तथा जिल्ला स्वास्थ्य समन्वय इकाईका सरोज पौडेल उपस्थित थिए। एचसीआरसी अस्पतालतर्फबाट मार्केटिङ विभाग प्रमुख पवन मल्ल, कर्मचारी विजय चौधरी र प्रतिक कार्कीले सहभागिता जनाएका थिए । कार्यक्रमभर स्वयंसेविकाको उत्साह, सम्मान र भावनात्मक वातावरणले सामुदायिक स्वास्थ्य सेवामा उनीहरुको भूमिकाले कसरी समाजलाई सहयोग गरेको छ भन्ने सन्देश झनै प्रष्ट बनाइदिएको एचसीआरसी अस्पतालका मार्केटिङ विभाग प्रमुख मल्लले बताए ।







