नेपालगन्ज: बाँकेका औषधि व्यवसायीहरूले आज शुक्रबार पनि औषधि व्यवस्था विभागमा मौन धर्ना दिएका छन् । औषधि ऐन २०३५ का केही व्यवस्थामा संशोधनको माग गर्दै आन्दोलित भएका व्यवसायीहरुले आज विभागको शाखा कार्यालय नेपालगन्जमा करिब २ घण्टा मौन धर्ना दिएका हुन् । बिहान ११ बजे विभागमा जम्मा भएका जिल्लाका औषधि व्यवसायीहरु दिउसो १ बजेसम्म मौन धर्नामा बसेका थिए ।
औषधि ऐन २०३५ का केही व्यवस्थामा संशोधनको माग गर्दै देशैभरका औषधि व्यवसायी आन्दोलित छन् । औषधि ऐनको दफा ११ को उपदफा ३ र ५ व्यवसायीहरूको लागि ‘अव्यवहारिक भएकाले तत्काल संशोधन तथा खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएको औषधि व्यवसायी संघ बाँकेका अध्यक्ष जयदेव अवस्थीले जानकारी दिए ।

औषधि व्यवसायी संघ बाँकेका अध्यक्ष जयदेव अवस्थी
हालको प्रावधानअनुसार दर्ता नवीकरण म्याद सकिएको भोलिपल्टदेखि १०० प्रतिशत जरिवाना र ३१औँ दिनपछि व्यवसाय स्वतः रद्द हुने व्यवस्था छ, जसले व्यवसायीलाई पलायन हुने अवस्था सिर्जना गरिरहेको र सोही कारण आन्दोलनमा उत्रनु परेको औषधि व्यवसायी संघका केन्द्रिय सदस्य सरला विष्टले जानकारी दिइन् ।
नेपाल औषधि व्यवसायी संघको अगुवाइ तथा नेपाल पशुपक्षी औषधि व्यवसायी संघ र नेपाल आयुर्वेदिक औषधि व्यवसायी संघको ऐक्यबद्धताको आधारमा गठित राष्ट्रिय संयुक्त औषधि व्यवसाय संरक्षण समितिको निर्णयअनुसार देशैभरका औषधि व्यवसायीहरु आन्दोनमा होमिएका छन् । केन्द्रको सर्कुलर अनुसार बाँकेका व्यवसायीहरू पनि विरोधस्वरूप आन्दोलनमा उत्रिएको संघका जिल्ला सदस्य सन्तोषबाबु सुवेदीले बताए ।

व्यवसायीहरूको मुख्य मागमा दफा ११ को उपदफा ३ संशोधन, उपदफा ५ खारेजी, रिजर्भ एन्टिबायोटिक अस्पताल फार्मेसीमार्फत मात्र वितरण गर्ने निर्णय खारेज, ओरियन्टेसन प्रमाणपत्रधारीलाई थोक व्यापारी बन्न नदिने नियम हटाउने, औषधिको अनलाइन बिक्री रोक्ने तथा आयुर्वेदिक औषधि पसल खोल्न आवश्यक प्रमाणपत्र शीघ्र प्रदान गर्नुपर्ने समावेश छन् । संघर्ष समितिको कार्यक्रम अनुसार भोली १३ गते शनिबार १ घण्टा आ–आफ्नो कार्यस्थलमा कालो झण्डा र व्यवसायीले कालोपट्टी बाँधी सेवा प्रदान गर्ने, मंसिर १४ गते विभागमा मौन धर्ना तथा १ घण्टा व्यवसाय बन्द गर्ने, १५ गते विभागमा बिहान ११ देखि दिउँसो ३ बजेसम्म मौन धर्ना दिने लगायतका विरोध कार्यक्रम तय छन् ।
संघले मागको बेवास्ता गरे थप संघर्षका कार्यक्रम गर्दै जाने जनाएको छ । मौन धर्ना कार्यक्रममा जिल्लाका दर्जन बढी औषधि व्यवसायीहरूको उपस्थिति थियो ।






