एन्टिमाइक्रोबियल्स रेसिस्टेन्स सप्ताहः सामान्य रोग पनि गम्भीर बन्दै, सचेतना फैलाउँदै उपमहानगर

    • स्वास्थ्य पेज

  • ८ मंसिर २०८२, सोमबार

नेपालगन्जः विश्व प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल्स रेसिस्टेन्स) सचेतना सप्ताह अन्तर्गत नेपालगन्ज उपमहानगरपालिकाले २३ वटै वडाका विद्यालयमा सचेतनामुलक कार्यक्रम गरेको छ ।

प्रत्येक वडाको एउटा विद्यालयमा शिक्षक, विद्यार्थी लगायतलाई प्रतिजैविक प्रतिरोधबारे सचेत पारिएको स्वास्थ्य महाशाखाका जनसवास्थ्य निरीक्षक सरोज रिमालले जानकारी दिए । रोग लाग्दा उक्त रोगका जिवाणु मार्ने औषधि (एन्टिवायोटिक)ले काम नगर्ने हुन्छ भने त्यसलाई प्रतिजैविक प्रतिरोध अर्थात एन्टिमाइक्रोबियल्स रेसिस्टेन्स भनिन्छ ।

अझ बुझिने भाषामा भन्नु पर्दा जुन औषधिले पहिला रोग सिधैं सन्चो बनाउँथ्यो अहिले त्यहीं रोग त्यहीं औषधिले ठिक नबनाउनु एन्टिवायोटिक रेसिस्टेन्स हो । सामान्य रुघाखोकी लाग्दा पनि एन्टिबायोटिक खाइदिने, मात्रा पूरा नगर्ने, बारम्बार औषधि बदल्दै खाने, पशुपंक्षी, तरकारी, फलफूलमा पनि विषादीको प्रयोग बढी हुने लगायतका कारण एन्टिवायोटिक रेसिस्टेन्सको जोखिम बढ्दै गएको जनस्वास्थ्य निरीक्षक रिमाल बताउँछन् । जसका कारण मानिसको औषधिले काम नै नगरेर ज्यान गइरहेको छ ।

पछिल्लो समय महामारीकै रुपमा एन्टिवायोटिक रेसिस्टेन्सको जोखिम बढ्न थालेपछि नेपाल सरकारले पनि यसकाबारेमा आमनागरिकलाई सचेतना फैलाउन कार्यक्रमहरु गर्न थालेको छ । त्यसैको निरन्तरता नेपालगन्ज उपमहानगरपालिकाले पनि विद्यालय केन्द्रीत सचेतना कार्यक्रमसँगै सरोकारवालाहरुसँग अन्तरक्रिया गरिएको रिमालले बताए । सोमवार सम्वद्ध सरोकारवाला निकायसँग नेपालगन्जमा भएको अन्तरक्रियामा स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले प्रतिजैविक प्रतिरोधका कारण सामान्य रोग पनि गम्भीर भइरहेको बताए ।

उनले भने-पछिल्लो समय प्रतिजैविक प्रतिरोध ठूलो जनस्वास्थ्य समस्याका रुपमा देखिएको छ । लामो समय उपचार गर्नुपर्ने, महंगो औषधि लाग्ने भएकाले आर्थिक भार थपिएको छ भने बिरामीको मृत्युको जोखिम पनि उच्च देखिएको छ । यसबाट जोगिन आम नागरिकहरु सचेत हुन आवश्यक छ ।’

उनले आफु खुसी एन्टिबायोटिक नखान सुझाव दिए । ‘डाक्टरले भनेपछि मात्रै एन्टिबायोटिक खाने, पूरै मात्रा खाने, परिवारका अन्य सदस्यले खाएको औषधि आफुले नखाने र पशुपंक्षी, तरकारी तथा फलफूलमा विषादीको प्रयोगलाई निरुत्साहित गर्ने र त्यस्ता खाने कुरा बहिष्कार गर्दा नै उपयुक्त हुन्छ’-उनको थप सुझाव थियो ।

अन्तरक्रियामा जनप्रतिनिधि, कृषि, वातावरण, भेटेनेरी र स्वास्थ्य शाखाका कर्मचारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

  • ८ मंसिर २०८२, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech