नेपालगन्जः ‘नेपालगन्ज कलक्लेभ’मा शुक्रबार जेन–जी विद्रोहबाट चर्चामा रहेकी रक्षा बम सहभागी भइन् । ‘जेन–जी विद्रोहपछि नेपाल : अन्यौल र अवसर’ विषयक सत्रमा प्यानालिस्टका रुपमा निम्त्याइएकी बमले आफ्नो धारणा राख्दै पश्चिम नेपालका नागरिकले अझै पनि आधारभूत स्वास्थ्य सेवा सहजै पाउन नसकिरहेको तथ्य प्रस्तुत गरिन् ।
अस्पताल सुविधाको अभावले दूरदराजका नागरिक मारमा परिरहेको उदाहरण प्रस्तुत गरिन् । त्यसक्रममा उनले नेपालगन्जस्थित भेरी अस्पताललाई कर्णाली र सुदूरपश्चिमका नागरिकको भरोसाका रुपमा उदाहरण प्रस्तुत गरिन् ।
उनले भनिन्–‘सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै बिरामीहरु आज पनि राम्रो उपचारको अपेक्षामा भेरी अस्पतालमा निर्भर रहन बाध्य छन् ।’ उनले अगाडि थपिन्–‘म सुदूरपश्चिमकी हुँ। अहिले पनि मानिसहरु बिरामी परे राम्रो उपचार गर्ने ठाउँ छैन । अन्तिममा भेरी अस्पतालमा ल्याउनै पर्ने अवस्था छ ।’
उनले जेन–जी आन्दोलनको औचित्य स्पष्ट गर्दै राजनीतिक दलप्रतिको बढ्दो असन्तुष्टि र जनताको आधारभूत आवश्यकता पूरा गर्न नसक्ने अवस्थाले नै पछिल्लो विद्रोह जन्माएको दाबी गरिन् ।
बमले भनिन्–‘प्रत्येक जिल्लामा भेरीजस्तै स्तरीय अस्पताल हुनुपर्ने हो । तर नेताहरुले आजसम्म त्यो काम पूरा गरेनन् । भदौ २३ र २४ को विद्रोह यही विस्फोट हो ।’ उनले कार्यक्रममा केपी ओलीको नामै लिइन् ।
‘म नजन्मिदै केपी ओली २०५२ सालमा गृहमन्त्री भइसक्नु भएको रहिछ । अहिले म २६ वर्षकी भए उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो । स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकता पूरा गर्ने काम किन भएनन् ?’ समस्या देखाएरमात्र भएन, अव पार्टी खोलेर समाधान कहिले गर्ने ?
मोडरेटर भेरी अस्पतालका पूर्व मेडिकल सुपरिन्टेन्डेन्ट डा. बद्री चापागाईँको प्रश्नमा उनले भनिन–‘तत्काल पार्टी खोलेर राजनीतिक गर्ने सोंच छैन तर सम्भावना छैन भनेको पनि होइन् । हाम्रो काम राजनीति गर्ने होइन् । त्यो सोंचका साथ आन्दोलनको उदय भएको पनि होइन् ।’
उक्त सत्रमा जेनजी नेता रक्षा बमसँगै मिस नेपाल लुना लुइँटेल, युवा उद्यमी मञ्चका अध्यक्ष सुदीप घिमिरे र समाजशास्त्री राम गुरुङ पनि प्यानालिस्टका रुपमा सहभागी भएका थिए ।







