नेपालगन्जः नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले कोहलपुर नगरपालिका वडा नं.११ को वडा कार्यालयलाई कम्प्युटर, प्रिन्टर लगायतका सामाग्री सहयोग गरेको छ । गएको भदौं २४ गते भएको जेनजी प्रदर्शनमा वडा कार्यालय आगजनीबाट पूर्णरूपमा क्षतिग्रस्त बन्न पुगेको थियो ।
शिक्षण अस्पतालका सिइयो सन्तोष कुमार बी एन, उपनिर्देशक श्याम कुमार शर्मा र प्रशासन सम्पर्क अधिकृत रामकृष्ण हमालले संयुक्त रूपमा वडाध्यक्ष कल्पना शर्मा अधिकारीलाई सो सामाग्री हस्तान्तरण गरें । उपकरण अभावमा सेवा प्रवाह गर्न कठिनाइ भइरहेको अवस्थामा सामग्री सहयोग प्राप्त भएको भन्दै वडाध्यक्ष कल्पना शर्मा अधिकारीले खुसी व्यक्त गरिन् ।
उनी भन्छिन्, “सबैसँग सहकार्य गर्दै अघि बढ्ने प्रयास गरिरहेका छौँ। यसमा सबै पक्षले सक्दो सहयोग गरिरहनु भएको छ । आन्दोलनका क्रममा भएको क्षतिपछि आज प्राप्त सहयोगका लागि शिक्षण अस्पताल कोहलपुर लगायत सबैलाई धन्यवाद व्यक्त गर्दछु।”
अस्पतालका प्रशासन सम्पर्क अधिकृत हमालले सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले सहयोग गरेको बताए । उनले, यो सहयोगले वडा कार्यालयबाट हुने सेवा प्रवाहमा थप सजिलो हुने बताउँदै अस्पताल सदैव कोहलपुरबासी र स्थानीय सरकारको पक्षमा रहने प्रतिबद्धता व्यक्त गरे ।







