नेपालगन्जः अत्यधिक प्रशोधित खानेकुरा मानव स्वास्थ्यका निम्ति खतरा बनेको भन्दै विज्ञले चेतावनी दिएका छन् । अन्तर्राष्ट्रिय विशेषज्ञले गरेको एक नयाँ अनुसन्धानमा अत्यधिक प्रशोधित खानेकुरा मानव स्वास्थ्यका निम्ति खतरापूर्ण रहेको र यसबाट जोगिन तत्काल प्रशोधन गरिएका खाना खान कम गर्नुपर्ने सुझाव दिइएको छ ।
उनीहरूका अनुसार, ताजा र स्वस्थकर खाद्यपदार्थको साटो सस्तो र अत्यधिक प्रशोधित खानातर्फको झुकावले मानिसमा मोटोपना र डिप्रेसनलगायत धेरै किसिमका दीर्घकालीन रोगहरूको जोखिम बढाइरहेको छ ।
लन्सेट जर्नलमा प्रकाशित लेखमा अनुसन्धानकर्ताले प्रशोधित खाद्य उत्पादनमा चेतावनी र अतिरिक्त कर लगाउन सरकारलाई सुझाव समेत दिएका छन् । साथै, यसबाट प्राप्त हुने आयलाई पौष्टिक खानाको पहुँचमा लगाउनुपर्ने उनीहरूको राय छ ।
केही वैज्ञानिकले भने अधिक प्रशोधित खानाले सिधै मानव स्वास्थ्यलाई नोक्सान पुर्याउँछ नै भन्ने प्रमाणित गर्न नसक्ने बताएका छन् । यसनिम्ति थप अनुसन्धान र परीक्षण आवश्यक रहेको उनीहरूको तर्क छ ।
अत्यधिक प्रशोधित खाना
अत्यधिक प्रशोधित खाना भन्नाले हाम्रो घरको भान्सामा पाइने पाँचभन्दा धेरै तत्व – जस्तै, इमल्सिफायर, प्रिजरभेटिभ, एडिटिभ, रङ र मिठास थप्ने पदार्थ भएका खाद्यपदार्थलाई बुझिन्छ । ससेज, क्रिस्प, पेस्ट्री, बिस्कुट, इन्स्टेन्ट सुप, कार्बोनेटेड पेयपदार्थ, आइसक्रिम र सुपरमार्केटमा पाइने पाउरोटी अत्यधिक प्रशोधित खानेकुरामा पर्छन् ।
यसमा चिनी र अस्वस्थकर बोसोको मात्रा बढी तथा फाइबर र प्रोटिन कम हुँदा समग्रमा खानाको गुणस्तरलाई नै थप खराब बनाइरहेको उनीहरूको दाबी छ ।
अनुसन्धानमा प्रशोधित खानेकुराले १२ किसिमका स्वास्थ्य समस्याको उच्च जोखिम औँल्याइएको थियो । त्यसमा टाइप–२ डायबिटिज, हृदयाघात, मिर्गौला रोग, डिप्रेसन र कुनै पनि कारणले छिटो मृत्यु हुनुपर्ने अवस्था समावेश छन् ।
ब्राजिलको साओ पाउलो विश्वविद्यालयका समीक्षक प्रोफेसर कार्लोस मोन्टेरोका अनुसार, अत्यधिक प्रशोधित खानाको बढ्दो खपतले मानिसको ताजा तथा न्यूनतम खानेकुरालाई प्रतिस्थापन गरिरहेको छ ।
उनले मानिसमा खानासम्बन्धी यो परिवर्तन शक्तिशाली बहुराष्ट्रिय कम्पनीले ल्याएको बताए । “बहुराष्ट्रिय कम्पनीहरूले अत्यधिक प्रशोधित उत्पादनलाई प्राथमिकता दिएर ठूलो मुनाफा कमाउँछन्,” उनले भनेका छन् ।
अत्यधिक प्रशोधित खानाले कसरी स्वास्थ्यलाई हानि पुर्याउँछ भन्ने विषयमा सटीक क्लिनिकल परीक्षणको कमीलाई स्वीकार गरिएको तर सम्भावित स्वास्थ्य जोखिमबाट विश्वभरका मानिसलाई जोगाउने कार्यमा ढिलाइ गर्न नहुनेमा जोड दिएको छ ।
केही वैज्ञानिकले मानिसको जीवनशैली, व्यवहार र आर्थिक अवस्थाजस्ता अरू कारणबाट अहिलेका मानिसको यस्ता खानेकुराको लतलाई छुट्ट्याउन कठिन रहेको टिप्पणी गरेका छन् ।
नोभा वर्गीकरण प्रणालीका आलोचकको भनाइमा यो खानाको प्रशोधनको मात्रामा बढी निर्भर गर्छ, त्यो विशेष खाना कति पौष्टिक छ भन्नेमा होइन ।
ओपन युनिभर्सिटीका एप्लाइड स्ट्याटिस्टिक्सका इमेरिटस प्रोफेसर केभिन म्याककन्वेको भनाइमा यस्तो अध्ययनले सहसम्बन्ध पत्ता लगाउन सक्छ । तर, यसले कारण पत्ता लगाउन र प्रभावबारे निश्चित हुन सक्दैन ।
उनले यस्ता खानाले केही क्रोनिक रोगको जोखिम बढाउने सम्भावना रहेको बताए । तर, त्यस्ता खानामा केले रोग ल्याउँछ वा योगदान दिन्छ भन्ने अझै स्पष्ट नभएको उनको भनाइ छ ।
एबरडिन विश्वविद्यालयका प्रोफेसर जुल्स ग्रिफिन भन्छन्, “खाना प्रशोधनका केही सकारात्मक पक्ष पनि छन् । तर, यसले हाम्रो स्वास्थ्यलाई कसरी प्रभावित गर्छ भन्ने बुझ्न थप अनुसन्धान अत्यावश्यक छ ।”
बेलायतको वैज्ञानिक सल्लाहकार समितिले यसै वर्षको सुरुआतमा अत्यधिक प्रशोधित खानाको बढी खपत र प्रतिकूल स्वास्थ्य नतिजाबीचको सम्बन्ध चिन्ताजनक रहेको जनाएको थियो ।
समितिले यस्ता खाद्यपदार्थ प्रशोधनका कारण वा तिनमा क्यालोरी, स्याचुरेटेड फ्याट, नुन र फ्री सुगरको मात्रा बढी भएकाले अस्वस्थकर छन् भन्ने अझै अस्पष्ट रहेको जनाएको थियो ।
यसैबीच, बेलायत सरकारले जारी गरेको आहारसम्बन्धी निर्देशिकामा अधिक फलफूल, तरकारी र फाइबर खाना तथा चिनी, बोसो र नुन कम गर्न सुझाव दिएको छ ।
बीबीसीबाट ।







