नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जमा थप चार वटा डायलाइसिस मेसिन सञ्चालनमा आएपछि केही समययता मिर्गौला पीडित बिरामीको उपचारमा सहजता बढेको छ । सेवा विस्तारसँगै अस्पतालको दैनिक उपचार क्षमता बढेको अस्पतालले जनाएको छ ।
यसअघिसम्म ६ वटा मेसिनमार्फत तीन सिफ्टमा दैनिक १८ जनाको मात्र डायलाइसिस हुने गर्थ्यो । तर अहिले सेवा विस्तारपछि १० वटा मेसिनले तीन सिफ्टमा दैनिक ३० जना बिरामीले उपचार लिइरहेका छन् । आपतकालीन (Emergency) डायलाइसिस सेवा समेत अस्पतालले उपलब्ध गराइरहेको छ । अस्पतालका डायलाइसिस विभाग प्रमुख तथा मिर्गौला रोग विशेषज्ञ डा.पारस श्रेष्ठका अनुसार, मेसिन थपिएका कारण पहिलेदेखि देखिँदै आएको भीड र पालो कुर्नुपर्ने समस्या धेरै घटेको छ ।

डायलाइसिस मेसिन
हेपाटाइटिस वा एचआईभी संक्रमित सेरोपोजेटिभ बिरामीका लागि छुट्टै दुई वटा मेसिन छुट्याइएको छ, जसले संक्रमण नियन्त्रण र संवेदनशीलतामा थप सुरक्षित वातावरण प्रदान गरेको छ ।
डा.श्रेष्ठका अनुसार सेवा विस्तारपछि पनि करिब १८ जना बिरामी अझै पालो कुरिरहेको अवस्था भने कायम छ । “मेसिन थप भए पनि दक्ष जनशक्तिको अभाव अहिलेको मुख्य चुनौती हो । दक्ष जनशक्ति बढेमा २४ घण्टै सेवा दिन सकिन्छ,” डा.श्रेष्ठ भन्छन् ।

अस्पतालका डायलाइसिस विभाग प्रमुख तथा मिर्गौला रोग विशेषज्ञ डा.पारस श्रेष्ठ
स्वास्थ्य सेवा विभागबाट प्राप्त तीन मेसिन र अस्पतालले आफैँ मर्मत गरी तयार पारेको एक मेसिन जोडिँदा भेरी अस्पतालले चार वटा अतिरिक्त मेसिन सञ्चालनमा ल्याउन सफल भएको हो । बाँकेका अस्पतालहरुमा नेपालगन्ज र आसपासका जिल्लाबाट दैनिक रूपमा मिर्गौला पीडित बिरामीको चाप बढ्दो छ । भेरी अस्पतालमा डायलाइसिस सेवा विस्तारले धेरै बिरामीको उपचारमा राहत पुगेको छ।
के हो डायलाइसिस
डायलाइसिस भनेको मिर्गौलाले ठीकसँग काम नगर्दा शरीरबाट फोहोर पदार्थ, अतिरिक्त पानी र रासायनिक असन्तुलन हटाउने प्रक्रिया हो । साधारण शब्दमा भन्नुपर्दा, मिर्गौलाले गर्ने ‘फिल्टरको काम’ डायलाइसिसले गर्छ।
किन चाहिन्छ त ?
जब मिर्गौला पुरै वा आंशिक रूपमा काम गर्न सक्दैनन्, शरीरमा विषाक्त पदार्थ (जस्तै युरिया, क्रिएटिनिन) र पानी जम्मा हुन्छ। यस्तो अवस्थामा डायलाइसिसले ती फोहोर पदार्थ र अतिरिक्त पानी हटाउँछ र रगतको रासायनिक सन्तुलन मिलाउँछ ।
डायलाइसिसका मुख्य प्रकारहरू :
हेमोडायलाइसिस
शरीरबाट रगत निकालेर मेसिनमा पठाइन्छ । मेसिनले फोहोर पदार्थ र अतिरिक्त पानी फिल्टर गरेर रगत पुनः शरीरमा फर्काउँछ । यो अस्पतालमा सबैभन्दा धेरै प्रयोग हुने प्रकार हो ।
पेरिटोनियल डायलाइसिस
पेटको भित्तामा राखिएको विशेष तरल पदार्थले रगत सफा गर्छ । यो डायलाइसिस बिरामीले घरमै गर्न सक्छ।








