फोक्सो जीवनको अमूल्य अंग हो, जसको स्वास्थ्यलाई ध्यान नदिँदा विभिन्न रोगको खतरा बढ्छ । प्रदूषण नियन्त्रण, स्वस्थ जीवनशैली, नियमित व्यायाम र सावधानी अपनाएर हामी आफ्नो फोक्सोलाई लामो समय स्वस्थ राख्न सक्छौं । फोक्सो स्वास्थ्यमा लगानी गर्नु भनेको आफ्नो जीवनको गुणस्तर र दीर्घायु सुनिश्चित गर्नु हो ।
हाम्रो शरीरमा अक्सिजन आपूर्ति गर्ने र कार्बनडाइअक्साइड निकाल्ने मुख्य अंग फोक्सो हो । हावा सासमार्फत फोक्सोमा प्रवेश गर्छ र त्यसले शरीरभरि अक्सिजन पुर्याउँछ, रक्तसञ्चार शुद्ध गर्छ र रोग प्रतिरोधात्मक क्षमतामा योगदान पुर्याउँछ । फोक्सोमा रहेका साना रौँ जस्ता सिलियाले धूलो, कीटाणु र हानिकारक कण बाहिर निकालेर शरीरलाई रोगबाट जोगाउँछन् । फोक्सोले न केवल श्वास फेर्ने काम गर्छ, तर स्वर उत्पादनमा पनि महत्वपूर्ण भूमिका खेल्छ । सासको प्रवाहले स्वरयन्त्रलाई गति दिन्छ, जसले हाम्रो बोलाई र आवाजलाई सम्भव बनाउँछ ।
फोक्सोले कसरी काम गर्छ ?
प्रत्येक श्वासमा करिब आधा लिटर हावा फोक्सोमा प्रवेश गर्छ । एक मिनेटमा हामी ७–८ लिटर र २४ घण्टामा करिब ११ हजार लिटर हावा सास फेर्छौं । तर, प्रदूषित हावामा धूलो र हानिकारक ग्याँस मिसिएको हुनाले यसले फोक्सो र शरीरका अन्य अंगमा क्षति पुर्याउन सक्छ । वायु प्रदूषण, जलवायु परिवर्तन र जीवनशैलीका कारण फोक्सोसँग सम्बन्धित रोगहरु जस्तै दम, फोक्सोको क्यान्सर र अन्य संक्रमण बढ्दो क्रममा छन् ।
फोक्सोमा लाग्ने सामान्य रोगहरु
दम : यो दीर्घकालीन रोग हो जसमा सास फेर्न गाह्रो, खोकी र छाती दुखाई मुख्य लक्षण हुन्छ ।
फोक्सोको क्यान्सरः असामान्य कोशिकाहरू अनियन्त्रित रूपमा बढ्दा हुन्छ । मुख्य कारण धूम्रपान हो ।
निमोनियाः ब्याक्टेरिया, भाइरस वा फङ्गसका कारण फोक्सोमा संक्रमण । खोकी, ज्वरो र सास फेर्न गाह्रो भएका लक्षण देखिन्छन् ।
क्षयरोगः सङ्क्रामक रोग जसले मुख्यतयाः फोक्सोमा असर गर्छ ।
फोक्सोलाई स्वस्थ कसरी गराउने ?
घर र वातावरणको सफाईः धूलो, धुवाँ र प्रदूषक हटाउन नियमित रूपमा घर सफा गर्नु, झ्याल र ढोका खोलेर हावा प्रवाह सुनिश्चित गर्नु ।
धूम्रपानबाट बच्नेः आफैं धूम्रपान नगर्ने र अरूलाई पनि प्रेरित गर्ने । खाना पकाउन र कोठा तताउन कम प्रदूषण हुने इन्धन प्रयोग गर्ने ।
व्यक्तिगत सुरक्षाः प्रदूषणयुक्त क्षेत्रमा मास्क लगाउने, उच्च प्रदूषणमा बाहिर ननिस्कने, सामाजिक दूरी र हात धुने ।
आहार र व्यायामः हरियो सागपात, फलफूल र पौष्टिक भोजन गर्ने । नियमित व्यायाम, दौड, पौडी, योग र गहिरो सास फेर्ने अभ्यासले फोक्सोको कार्यक्षमता बढाउँछ ।
पानी र खोपः पर्याप्त पानी पिउँदा फोक्सोको कफ पातलो हुन्छ र श्वासप्रश्वास सहज हुन्छ । फ्लु र निमोनियाबाट बच्न खोप लिनु आवश्यक छ ।







