एन्टिमाइक्रोबियल रेसिसटेन्स (Antimicrobial Resistance-AMR) यो २१ औं शताब्दीको विश्वकै जनस्वास्थ्यको चुनौतिको रुपमा रहेको छ । एन्टिमाइक्रोबियल रेसिसटेन्स भनेको कुनै पनि सूक्ष्मजीव जस्तैः ब्याक्टेरिया, भाइरस, फंगस र परजीवी विरुद्ध प्रयोग गरिने औषधिहरुले काम गर्न छोड्नु भन्ने बुझिन्छ । विश्व स्वास्थ्य संगठन (WHO) ले एन्टिमाइक्रोबियल रेसिसटेन्सलाई २१ औं शताब्दीको सबैभन्दा ठूलो सार्वजनिक स्वास्थ्य संकट मध्येको एक मानेको छ । यदि यसलाई नियन्त्रण गर्न सकिएन भने सन् २०५० सम्ममा हरेक वर्ष संसारभर करिब १ करोड मानिस केवल औषधिले कुनै पनि संक्रमणमा काम गर्न छाडेर मृत्यु हुने अनुमान गरिएको छ ।
AMR कसरी विकास हुन्छ ?
सूक्ष्मजीवहरू अति तीव्र गतिमा प्रजनन गर्छन् । यसै क्रममा केही सूक्ष्म जीवमा प्राकृतिक उत्परिवर्तन (Mutation) हुन्छ । यदि उक्त उत्परिवर्तनले औषधिको असरबाट बाँचेको क्षमता विकास गर्यो भने बाँकी सूक्ष्म जीव नष्ट हुँदा ती प्रतिरोधी सूक्ष्म जीव बाँच्छन् र नयाँ पुस्तामा फैलिन्छन् । यसको अतिरिक्त सूक्ष्म जीवहरु आपसमा जेनेटिक सामग्री आदान–प्रदान पनि गर्छन् (जस्तै प्लाज्मिड मार्फत)। यसरी एउटा जीवाणुमा विकसित भएको प्रतिरोधी जिन छिट्टै अन्य जीवाणुमा फैलिन सक्छ ।
AMR बढ्नुका कारणहरु
१) मानव स्वास्थ्य क्षेत्रमा एन्टिबायोटिकको दुरुपयोग
– चिकित्सक वा स्वास्थ्यकर्मीले आवश्यक नपर्दा पनि एन्टिबायोटिक सिफारिस गर्ने प्रचलन ।
– बिरामीले औषधि पूरा मात्रा नखाँदै आफुलाई निको भएको जस्तो भए बीचमै औषधिको मात्रा पूरा नगरी छोड्ने ।
– चिकित्सकको सिफारिस बिना फार्मेसीमा एन्टिबायोटिक दिने चलन ।
– सामान्य रुघाखोकी साथै भाइरल इन्फेक्सनमा एन्टिबायोटिक खाने चलन ।
२) पशुपालन र कृषिमा एन्टिबायोटिकको प्रयोग
– पशुहरूलाई द्रुत गतिमा वृद्धि गराउन वा रोग लाग्न नदिन एन्टिबायोटिकको प्रयोग (यो कुखुरा पालन र माछा पालनमा व्याप्त छ) ।
३) पर्यावरणीय कारण
– औषधिको अवशेष फोहर नाली र नदीमा पुगेर सूक्ष्म जीवलाई प्रतिरोधी बनाउँछ।
४) कमजोर संक्रमण रोकथाम र नियन्त्रण प्रणाली
– अस्पतालजन्य फोहरहरूको निसंक्रमण नगरी नगरपालिकाको गाडीमा पठाउँदा संक्रमण दर बढ्दछ ।
विश्वब्यापी असर
विश्व स्वास्थ्य संगठनले एन्टिमाइक्रोबियल रेसिसटेन्सलाई साइलेन्ट प्यान्डेमिक भनेको छ । हरेक वर्ष करिब ७ लाख भन्दा बढी मानिसको एन्टिमाइक्रोबियल रेसिसटेन्सका कारण मृत्यु हुन्छ । यदि तत्काल यसका सवालमा कदम चालिएन भने सन् २०५० सम्म यो संख्या हरेक वर्ष एक करोड मृत्यु पुग्ने आकलन गरिएको छ । संसारभरिको मृत्यु मध्य ९ प्रतिशत मृत्यु एन्टिमाइक्रोबियल रेसिसटेन्सका कारणले हुन्छ । सन् २०१९ मा १३.७ मिलियन मृत्यु संक्रमण सम्बन्धीत मृत्यु भएको थियो, जसमा १.२७ मिलियन मृत्यु एन्टिमाइक्रोबियल रेसिसटेन्स सम्बन्धीत संक्रमणबाट भएको थियो ।
सन् २०२२ को ग्लोबल बर्डेन अफ डिजिजको अनुसन्धान अनुसार मुख्य Escherichia coli, Staphylococus aureus, Klebsiella pneumoniae, Streptococcus pneumoniae, Acinetobacter baumannii र Pseudomonas aeruginosa ब्याक्टेरिया नै एन्टिमाइक्रोबियल रेसिसटेन्स सम्वन्धित मृत्यु (७३ प्रतिशत) मुख्य कारण हुन् ।
नेपालमा AMR को अवस्था
नेपालमा एन्टिमाइक्रोबियल रेसिसटेन्सको ठूलो बोझ छ । सन् २०१९ मा नेपालले ६ हजार ४०० बढी मृत्यु प्रत्यक्ष रुपमा एन्टिमाइक्रोबियल रेसिसटेन्सको कारण भएको तथ्यांक दर्ता गर्यो । यसले एन्टिमाइक्रोबियल रेसिसटेन्सलाई देशमा मृत्युको प्रमुख तीन कारणमध्ये एक बताएको छ । नेपालमा २६ वटा अस्पतालबाट संकलित राष्ट्रिय एन्टिमाइक्रोबियल रेसिसटेन्स निगरानी तथ्यांक अनुसार E.coli ५१ प्रतिशत, Klebsiella Spp मा ५६ प्रतिशत, Acenenatobacter Spp मा ६२ प्रतिशत मल्टीड्रग प्रतिरोध देखिएको छ । Carbapenem र थर्ड जेनेरेसन Cephalosporin जस्ता महत्वपूर्ण औषधिहरूप्रति पनि प्रतिरोध बढ्दै गएको छ ।
नियन्त्रणका उपायहरु
१) विवेकपूर्ण औषधि प्रयोग
– चिकित्सकले प्रमाणमा आधारित उपचार गर्नुपर्छ ।
– बिरामीले औषधि पूरा मात्रा खानुपर्छ ।
– चिकित्सकको सिफारिस बिना एन्टिबायोटिकको सेवन, बिक्री वितरण रोक्नुपर्छ ।
२) प्रयोगशाला क्षमता सुदृढीकरण
– पहिले प्रयोगशालामा नमुनाको माइक्रोबायोलोजी ल्याबमा कल्चरको रिपोर्ट हेरेर मात्र औषधि सुरु गर्ने अभ्यास विकास गर्नुपर्छ ।
– आधुनिक माइक्रोबायोलोजी ल्याब स्थापना र क्षमता विकास गर्नुपर्छ।
३) कृषि र पशुपालनमा नियमन
– पशुपालनमा वैकल्पिक रोग नियन्त्रण अभ्यास अपनाउनुपर्छ।
– खाद्यान्नमा औषधि अवशेषको निगरानी गर्नुपर्छ।
४) जनचेतना र शिक्षा
– विद्यालय, सामुदायिक कार्यक्रम र सञ्चारमाध्यममार्फत जनतालाई सचेत बनाउनुपर्छ ।
– बिरामीहरूले चिकित्सकको निर्देशनलाई प्राथमिकता दिनैपर्छ ।
५) कानुनी र नीतिगत मापदण्ड
– गुणस्तर नियन्त्रण कडा पार्नुपर्छ ।
– औषधि उद्योग र फार्मेसीलाई कडाइका साथ नियमन गर्नुपर्छ ।
– राष्ट्रिय डाटाबेस बलियो बनाउँदै जानुपर्छ ।
६) अनुसन्धान र विकास
– नयाँ औषधि र वैकल्पिक उपचार विकासमा लगानी बढाउनुपर्छ।
– फेज थेरापी, इम्युनोथेरापी जस्ता नयाँ उपायमा अनुसन्धान बढाउनुपर्छ।
७) One Health Approach
– मानव, पशु र वातावरण स्वास्थ्यलाई एकैसाथ सम्बोधन गर्ने रणनीति अपनाउनुपर्छ ।
– अन्तर्राष्ट्रिय सहयोग र स्रोत साझेदारीलाई प्राथमिकता दिनुपर्छ ।
वेवास्ता गर्दाको सम्भावित परिणाम
– सामान्य पिसाबको संक्रमण पनि ज्यानघातक हुन सक्छ ।
– सिजेरियन, जोइन्ट रिप्लेसमेन्ट वा दन्त उपचारजस्ता सामान्य शल्यक्रिया अत्यधिक जोखिमपूर्ण बन्न सक्छन् ।
– क्यान्सर उपचार असुरक्षित हुन सक्छ किनभने बिरामीमा संक्रमणको खतरा धेरै हुन्छ ।
– अस्पतालमा बिरामी लामो समयसम्म बस्नुपर्ने हुन सक्छ ।
– अस्पतालमा उपचारको लागत बढ्न सक्छ ।
– यसले स्वास्थ्य मात्र नभई आर्थिक संकट पनि निम्त्याउँछ । O’Neil-Review का अनुसार विश्व बजारमा १ ट्रिलियन अमेरिकी डलरभन्दा बढी आर्थिक घाटा ल्याउन सक्छ ।
– गरिब तथा कमजोर समुदाय बढी प्रभावित हुन्छन् ।
निष्कर्ष
एन्टिमाइक्रोबियल रेसिसटेन्स आजको विश्वले सामना गर्नुपर्ने सबैभन्दा गम्भीर चुनौती हो । समयमै कदम चालिएन भने भविष्यमा सामान्य संक्रमण नै घातक बन्न सक्छ । नेपाल जस्तो स्रोत–सिमित देशमा अझै गम्भीर असर पर्नेछ । त्यसैले स्वास्थ्यकर्मी, नीति–निर्माता, कृषि क्षेत्र, समुदाय र बिरामी सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरेर मात्र यो संकटलाई नियन्त्रण गर्न सकिन्छ । हामीले एन्टिबायोटिकको सुनौलो युगमा १०० वर्षपनि बिताएको छैनौँ, तर यदि हामीले ध्यान दिएनौँ भने त्यो युग हाम्रो जीवनकालमै अन्त्य हुन सक्छ । विकल्प अब हाम्रो हातमा छ, आजै एन्टिबायोटिक जोगाऔँ, नभए भोलि सानो चोटपटक पनि ज्यानघात
क बन्न सक्छ ।
( लेखक आचार्य मेडिकल माईक्रोबायोलोजिस्ट हुन् ।)







