शरीर र मनलाई स्वस्थ बनाउने बाँकेका स्पा–मसाज सेन्टरमा यौन्यजन्य गतिविधि, १८ जना पक्राउ

    • स्वास्थ्य पेज

  • १ मंसिर २०८२, सोमबार

नेपालगन्जः स्पा–मसाज सेन्टरको खास उद्देश्य शरीर, मन र भावनात्मक स्वास्थ्यलाई सन्तुलित र आरामदायी बनाउने हो। यसको मूल लक्ष्य स्वास्थ्य, सौन्दर्य र रिल्याक्सेशन प्रदान गर्नु हो । तर बाँकेका स्पा–मसाज सेन्टरहरु अवैध धन्दाका केन्द्र बनेका छन् । त्यसको तथ्य प्रहरीले उजागर गरिदिएको छ ।

विशेषगरी नेपालगन्ज र कोहलपुर क्षेत्रमा संचालित स्पा, मसाज सेन्टर र खाजा घरमा गैरकानुनी गतिविधि बढ्दै गएको जनगुनासोपछि जिल्ला प्रहरी कार्यालय बाँकेले कडाइका साथ अनुगमन सुरु गरेको छ । यही अभियानअन्तर्गत आइतवार गरिएको संयुक्त अनुगमनमा प्रहरीले अबैध तथा गैर–व्यवसायिक क्रियाकलापमा संलग्न १८ जनालाई नियन्त्रणमा लिएको छ ।तीमध्ये ११ जना महिला तथा ७ जना पुरुष रहेका छन् ।

बाँके प्रहरीले गोप्य सूचनाको आधारमा गरिएको अनुगमनमा अधिकांश स्पा र मासाज सेवाको नाममा अनैतिक क्रियाकलाप चलाइरहेको खुलेपछि उनीहरुलाई तत्काल नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार केही व्यवसायीले अनुमति र दर्ता प्रक्रिया पूरा नगरी स्पा सञ्चालन गरिरहेका थिए भने कतिपयले परम्परागत थेरापीको आवरणमा यौनजन्य क्रियाकलाप सञ्चालन गरिरहेका थिए।

अनुगमनका क्रममा पुरुष–महिला दुवैलाई संवेदनशील अवस्थामा भेटिएको प्रहरीले बताएको छ। प्रारम्भिक अनुसन्धानले केही स्पा सञ्चालकले मसाज सेवा नाममा लुकेर यौन कारोबार चलाइरहेको तथ्य प्रहरीले उजागर गरिदिएको छ ।

अनुगमनमा संलग्न प्रहरी टोलीका एक अधिकारीले भने, “स्पा भन्नेबित्तिकै कानूनविपरीतका गतिविधि हुनुपर्छ भन्ने छैन, तर कतिपयले यो व्यवसायलाई गलत दिशामा लैजाँदै आएका छन्, जसलाई कडाइका साथ नियन्त्रण गरिन्छ।” यस अनुगमन टोलीको नेतृत्व जिल्ला प्रहरी कार्यालय बाँके तथा वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक शेखर खड्काले गरेका थिए ।

सूचना अधिकारी एवम् प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ । बाँके प्रहरी प्रमुखमा एसपी अंगुर जिसीले जिल्ला प्रहरी कार्यालयको कमाण्ड सम्हालेपछि जिल्लामा कानून वर्जित कार्य गर्नेमाथि कठोर अभियान सुरु भएको छ।

केही दिनअघि मात्र प्रहरीले नेपालगन्जका चार होटलमा छापा मारेर बेश्यावृत्तिमा संलग्न ४५ जनालाई नियन्त्रणमा लिएको थियो । त्यसैको निरन्तरता स्वरुप नेपालगन्ज र कोहलपुरका स्पा र खाजा घरमा प्रहरीले कारवाही अभियान चलाएको प्रवक्ता पातलीले बताए ।

  • १ मंसिर २०८२, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech