नेपालगन्ज : नेपालगन्ज हुँदै अवैध बाटो प्रयोग गरी भारत छिर्न खोजेको अभियोगमा शनिवार भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा लिइएका दुई विदेशी नागरिक नेपालगन्जमा आयोजना गरिएको कान अप्रेशन शिविरमा आएका विदेशी चिकित्सकहरु रहेको खुलेको छ । उनीहरुलाई शनिवार विहान रुपैडिया थानाको प्रहरी टोली र सशस्त्र सीमा बल (एसएसबी) को संयुक्त गस्ती टोलीले जमुनाह नाका पार गरेर भारतीय सीमा प्रवेश गरेलगत्तै नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा ६१ वर्षीया सुमित्रा शकील ओलिसिया र ३५ वर्षीय हस्सन अम्मान सलीम रहेका छन् । सुमित्राको स्थायी निवास उडुपी कर्नाटक, भारत रहेको भारतीय प्रहरीले जनाएको छ । भारतीय प्रहरीले सुमित्रा ब्रिटिश पासपोर्ट रहेको र उनी OCI कार्डधारी रहेको पनि प्रहरीले जनाएको छ । यस्तै हस्सन पाकिस्तानी रहेको भारतीय सुरक्षा अधिकारीले बताएका छन् । हाल उनी १ ए, डाल्मोर्टन रोड, म्यान्चेस्टर, बेलायतमा बस्दै आएको खुलेको छ ।
नेपालगन्ज गणेशमान चोकस्थित बि.एन अस्पतालले यही कार्तिक २२ गतेदेखि ३० गतेसम्म कान शिविर आयोजना गरेको छ । ब्रिनोज युके ब्रिटेन नेपाल अटोलोजी सर्भिस युकेको सहकार्यमा बि.एन कम्युनिटी ईयर केयर सर्भिसद्धारा बि.एन अस्पताल सञ्चालित छ । चिकित्सकको रुपमा नेपालगन्ज आएका उनीहरु कुन प्रयोजनका लागि रुपैडिया गएका थिए भन्नेबारे खुलेको छैन ।
यद्यपि एकजना नेपालगन्जकै चिकित्सको निजी गाडी लिएर गएका उनीहरु नेपालगन्ज–रुपैडिया मार्ग हुँदै अवैध रुपमा भारतीय सीमा प्रवेश गरेको भन्दै नियन्त्रणमा लिइएको भारतीय सुरक्षाकर्मीको दावी छ । उनीहरु माथि थप छानबिन अघि बढाइएको प्रहरीले जानकारी दिएको छ । दुवैजनामाथि भारतीय विदेशी अधिनियम १४A अन्तर्गत मुद्दा दर्ता गरिएको छ । सो मुद्दा म.उ.स. ३३४/२०२५ को रुपमा रुपैडियामा थानामा दर्ता गरिएको त्यहाँका स्थानीय पत्रकार सन्तोष शुक्लाले जानकारी दिए ।
स्वास्थ्य शिविरमा विदेशी चिकित्सक ल्याउन यस्ता छन् कानूनी प्रक्रिया
नेपालमा स्वास्थ्य शिविरमा विदेशी चिकित्सक (Foreign Medical Professionals) ल्याउन कानूनी रूपमा धेरै प्रक्रिया पालना गर्नुपर्दछ । यो विषय स्वास्थ्य सेवा, सुरक्षा, इमिग्रेशन, चिकित्सक दर्ता तथा कार्य अनुमति जस्ता कानुनले नियमन गर्छ । शिविर आयोजना गर्दा विदेशी चिकित्सकले नेपालमा स्वास्थ्य सेवा प्रदान गर्न अनिवार्य रूपमा सरकारी अनुमति लिनुपर्छ।
सामान्यतयाः शिविर आयोजना गर्दा त्यसको प्रकृति अनुसार देशभरी गर्नुपर्ने अवस्थाको शिविर भए मन्त्रालय, प्रदेशभित्र लक्षित भए, प्रदेश तहबाट र जिल्लामा भए सम्वन्धित पालिकाबाट लिखित अनुमति लिनुपर्छ । बि.एन अस्पतालले शिविर सञ्चालनका लागि नेपालगन्ज उपमहानगरपालिकाबाट अनुमति लिएको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए । तर कुनकुन चिकित्सक र कुन तहका हुन भन्नेबारे आफुलाई जानकारी नभएको चन्दले स्वास्थ्य पेजलाई बताए ।
तर विदेशी चिकित्सकले नेपालमा रोगी चेकजाँच गर्ने वा उपचार गर्न भने नेपाल मेडिकल काउन्सिलको अनुमति लिनुपर्ने नियम छ । बि.एन अस्पतालले गरेको शिविरमा ती चिकित्सकहरुले नेपाल मेडिकल काउन्सिलको अनुमति लिए/नलिएको बारे खुलेको छैन् । हप्तादिन बढी देखि नेपालगन्जमै बसिरहेका विदेशी चिकित्सकबारे सुरक्षा निकायलाई पनि कुनै जानकारी छैन ।
विदेशी चिकित्सकनै आउने भएपछि स्थानीय प्रशासन वा सुरक्षा निकायलाई जानकारी आयोजकले गराउनुपर्ने हुन्छ । उक्त प्रोटोकल समेत बि.एन अस्पतालले पूरा नगरेको पाइएको छ । ‘विदेशी चिकित्सकहरु स्वास्थ्य शिविरकै लागि ल्याइएको भए आयोजकले हामी (जिल्ला प्रशासन कार्यालय)लाई जानकारी गराउनुपर्ने हो बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले स्वास्थ्यपेजलाई भने–‘तर आयोजकले कुनै जानकारी दिएन् ।’
बाँकेका एसपी अंगुर जिसीले पनि विदेशी चिकित्सककै सुरक्षाका लागि भएपनि प्रहरीलाई जानकारी गराउनुपर्ने भएपनि आयोजकले जानकारी नदिएको बताए । यसबारेमा थप बुझ्न खोज्दा अस्पतालका वरिष्ठ कान स्वास्थ्य प्राविधिक रामबहादुर बोहराको मोवाइल स्विचअफ गरिएको छ ।









