चितवन: सुत्केरी गराउन आएकी एक महिलाको मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्तहरूले भरतपुर अस्पतालमा नारावाजी गरेका छन्। पर्सा स्थायी घर भई चितवनको कालिका नगरपालिका–२ बस्ने ३० वर्षकी संगीता विकको शनिबार उपचारको क्रममा मृत्यु भएपछि परिवार र आफन्तले चिकित्सकको लापरबाही भन्दै अस्पतालमा नाराबाजी गरेका छन्।
मृतकका आफन्तहरूले प्रसूति सेवा लिन आएका महिलाहरू भर्ना गरिएको वार्ड अगाडि पुगेर नाराबाजी गरेका हुन्। संगीताको मृत्युपश्चात आफन्तले चिकित्सकको लापरबाहीका कारण ज्यान गएको भन्दै छानबिन र दोषीलाई कारबाहीको माग गरेका छन्।
आफन्तका अनुसार संगीतालाई कात्तिक २० गते चेकजाँचका लागि भरतपुर अस्पतालमा भर्ना गरिएको थियो। भिडियो एक्सरेमा बच्चाको धड्कन नभएको देखिएपछि चिकित्सकको सल्लाहमा उनलाई अस्पतालमा नर्मल डेलिभरीको प्रयास गरिएको थियो।
२२ कात्तिकमा उनको अवस्था झन् बिग्रँदै गएको र रातको करिब ९ बजे आईसीयूमा सारिएकोमा सोही राति ११:४० मा मृत्यु भएको थियो। अस्पतालका प्रवक्ता एवम् स्त्री तथा प्रस्तूति रोग विशेषज्ञ डा. रामप्रसाद सापकोटाले उपचारमा कुनै लापरबाही नभएको भन्दै पल्मोनरी एम्बोलिजमका कारण मृत्यु भएको दावी गरेका छन्।

बच्चाको धड्कन नभएको पुष्टि भएपछि तत्कालै अप्रेशन गरेर बच्चा ननिकाल्दा उनको ज्यान गएको मृतकका आफन्तको भनाइ छ। अस्पतालले पेटभित्रै शिशुको मृत्यु भइसकेपछि आमालाई शल्यक्रियाको अनावश्यक जोखिमबाट जोगाउन नर्मल डेलिभरीको प्रयास गरिएको बताउँदै आएको छ।
सुत्केरी हुन व्यथा लाग्ने औषधि चलाउने बित्तिकै संगीतालाई ‘कार्डियाक अरेस्ट’ भएको र सीपीआर दिँदै आईसीयूमा लगेर बचाउने प्रयास गरिए पनि सम्भव नभएको डा. सापकोटाको भनाइ छ।







