नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिका–५ फुलटेक्रास्थित ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाले ब्रिनोज कान अपरेशन शिविरको आयोजना गरेको छ । पश्चिम नेपालकै एकमात्र कान उपचारमा समर्पित (कान–डेडिकेटेड) अस्पतालका रूपमा परिचित ब्रिनोज अस्पतालले यस क्षेत्रका ख्यातिप्राप्त नाक, कान र घाँटी रोग विशेषज्ञहरूको टोलीमार्फत सेवा प्रदान गर्न लागेको अस्पतालका प्रबन्धक चेतन नारायण चौधरीले जानकारी दिए ।
उनका अनुसार, शिविरमा सहभागी हुन इच्छुक बिरामीका लागि नाम दर्ता शुल्क केवल एक सय रुपैयाँ मात्र तोकिएको छ । उनले भने, “नाम दर्ता र प्रारम्भिक चेकजाँच मंसिर १ गते सोमबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म अस्पतालमा नै गरिनेछ ।” चौधरीले थप जानकारी दिँदै भने, “शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामीहरूको अपरेशन मंसिर ३, ४ र ५ गते गरिने कार्यक्रम तय गरिएको छ ।”
अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत यो शिविर सञ्चालन गर्न लागेको बताउँदै चौधरीले भने, “हामीले बिरामीलाई सहज र किफायती दरमा उपचार उपलब्ध गराउने लक्ष्य राखेका छौं । मेजरदेखि माइनरसम्मका अपरेशनहरू अन्य नियमित सेवाका दिन भन्दा कम्तीमा तीन गुणासम्म सस्तो दरमा उपलब्ध गराइनेछ।”
उनका अनुसार, यो शिविरले केवल उपचारका माध्यमबाट बिरामीलाई राहत पुर्याउने मात्र छैन, कानसम्बन्धी रोग, लापरवाही र सुरक्षाका उपायबारे जनचेतना फैलाउने उद्देश्य पनि रहेको छ । “हामी उपचारसँगै सचेतना फैलाउने अभियान पनि सञ्चालन गर्न चाहन्छौं,” चौधरीले भने, “यो केवल स्वास्थ्य सेवा होइन, समाजप्रति हाम्रो जिम्मेवारीको प्रतीक हो।”
ब्रिनोज अस्पतालले यसअघि पनि समुदायमुखी स्वास्थ्य कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । ग्रामीण र शहरी दुबै क्षेत्रका बिरामीलाई लक्षित गरी नियमित स्वास्थ्य परामर्श, कान परीक्षण, र सस्तो शुल्कमा उपचार उपलब्ध गराउँदै आएको यो अस्पतालले पछिल्लो समयमा अत्याधुनिक उपकरण र दक्ष विशेषज्ञ टोलीमार्फत सेवा विस्तार गरिरहेको छ ।
यस पटकको कान अपरेशन शिविरले विशेषगरी कानको समस्या, सुन्ने क्षमतामा कमीदेखि जटिल प्रकृतिका बिरामीलाई लाभ पुर्याउने कन्सल्टेन्ट इएन्टी सर्जन डा.आनन्द झाले अपेक्षा गरे । अस्पतालका अनुसार, अपरेशनपछि पनि बिरामीहरूको नियमित फलोअप र परामर्श सेवा उपलब्ध गराइनेछ ।
चौधरीले भने, “ब्रिनोजको उद्देश्य उपचारका क्रममा आर्थिक बोझ घटाउने मात्र होइन, कान स्वास्थ्यप्रति जनचेतना फैलाएर भविष्यमा हुने समस्याबाट समुदायलाई जोगाउने हो । हामी सबैलाई आग्रह गर्छौं — यदि कानसँग सम्बन्धित कुनै समस्या छ भने, यो अवसर नछुटाउनुहोस्, मंसिर १ गते आइपुग्नुहोस्।”







