औषधि खुवाउँदा सास रोकियोः १८ महिनाकी जमुना हेर्दाहेर्दै अस्ताइन्

    • स्वास्थ्य पेज

  • २२ कार्तिक २०८२, शनिबार

नेपालगन्जः दाङ देउखुरीको गढवा गाउँपालिका–४ अजगढवामा शनिबार बिहानको सामान्यजस्तो लाग्ने भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रमले एक परिवारको संसार नै उजाड बनाइ दिएको छ । । १८ महिनाकी जमुना यादवको जुकाको औषधि घाँटीमा अड्किएर मृत्यु भएको छ । भिटामिन ‘ए’ र जुकाको औषधि वितरण हुने खबरले शिवकुमार यादव दम्पती उत्साहित थिए । उनीहरुको मनमा छोरीको स्वास्थ्यप्रति उत्साह पनि थियो ।

‘सबै बालबालिकालाई जुकाको औषधि खुवाउने भनेपछि हामी पनि लग्यौँ–‘घटनापछि पीडामा डुबेका शिवकुमारले स्वास्थ्य पेजलाई भनेका छन्–‘तर त्यो औषधि नै उसकै घाँटीमा अड्कियो, अनि एकैछिनमा छोरी रहिनन् ।’ १८ महिनाकी जमुना खेल्दै–कुद्दै घरमा रमाइरहेकी थिइन् । महिला स्वास्थ्य स्वयंसेविकाले नजिकैको रामनगर बस्तीमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम छ छोरी लिएर आउनु भने । यादव दम्पतीले घरमा रमाइरहेकी छोरीलाई विहान खोप केन्द्रमा लगे ।

स्वास्थ्य स्वयंसेविकाले औषधि खुवाइन् । जब जुकाको औषधि खुवाइन्, त्यही औषधि उनको घाँटीमा अड्कियो । आत्तिएका आमाबाबुले उनलाई बचाउन खोजे तर केही क्षणमै उनले सास फेर्न छोडिन् । इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बमका अनुसार औषधि खाँदै गर्दा बालिकाको घाँटीमा अड्किएको र सोही कारण दुई मिनेटमै घटनास्थलमै मृत्यु भएको हो ।

हेर्दाहेर्दै खोप केन्द्र मौन बन्यो, हाँसो हरायो र आमाको काख रित्तियो। निमेषभरमै जमुनाको बाल्य मुस्कान चुडियो । र, उनलाई आकाशको एउटा तारा बनाइदियो।अजगढवाको त्यो घर अहिले मौन छ । बालिकाका खेलौना थन्किएका छन् । आमाको आँखाबाट निरन्तर आशु झरिरहेको छ । गाउँलेहरु समेत स्तब्ध छन् । ‘स्वस्थ स्वास्थ्यकै लागि दिएको औषधिले पनि ज्यान लिन सक्ने रहिछ’–उनीहरु स्तब्ध स्वरमा छन्छन् । जमुना यादव अब फर्किँदैनिन् । तर उनको मृत्युले एउटा सन्देश छोडेको छ-सामान्य कार्यक्रम पनि जीवनरक्षक वा प्राणघातक बन्न सक्छ, त्यो निर्भर गर्छ कति सावधानी अपनाइयो भन्नेमा ।

राष्ट्रव्यापी रूपमा वर्षेनी सञ्चालन हुने यो स्वास्थ्य अभियानले देशभरका लाखौं बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइन्छ । यस कार्यक्रमले विगतमा कुपोषण र परजीवीका समस्या घटाउने महत्त्वपूर्ण भूमिका खेलेको छ । तर यसपटकको यो घटना गम्भीर चेतावनीको रूपमा देखा परेको छ । स्वास्थ्यकर्मीहरुका अनुसार, साना बालबालिकालाई औषधि खुवाउँदा धेरै सावधानी अपनाउनुपर्ने हुन्छ ।

औषधि सिधै घाँटीमा नपुर्‍याउने, आवश्यक परेमा सानो पानीमा घोलेर खुवाउनेजस्ता सतर्कता अनिवार्य हुन्छन् । तर यस्ता सतर्कता कत्तिको पालना गरिएको थियो भन्ने प्रश्न अहिले उठिरहेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । ‘पोष्टमार्टम राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा गरी शव परिवारलाई बुझाइएको छ’ प्रहरी निरीक्षक बमले भने । स्थानीयका अनुसार, महिला स्वास्थ्य स्वयंसेविकाले कुनै खराब नियतले नभई आफ्नो जिम्मेवारीअनुसार काम गरेकी थिइन् ।

तर घटनाले उनलाई पनि गहिरो मानसिक आघात पुर्‍याएको छ । ‘हामी सधैंँ सोच्थ्यौं, स्वास्थ्य कार्यक्रमले बालबालिकालाई बचाउँछ । तर आज त्यो नै मृत्युको कारण बन्यो’ गाउँकी अर्की आमाले आँसु पुछ्दै भनिन् । यस्ता घटनाले नेपालका ग्रामीण क्षेत्रमा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दा सावधानी, प्रशिक्षण र निगरानी अझै सुदृढ गर्नुपर्ने आवश्यकता उजागर गरेको छ ।

  • २२ कार्तिक २०८२, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech