थोपा प्रयोगशाला र लायन्स क्लबको संयुक्त पहलमा मधुमेह परीक्षण अभियान प्रारम्भ

    • स्वास्थ्य पेज

  • २१ कार्तिक २०८२, शुक्रबार

नेपालगन्ज: लायन्स क्लब अफ नेपालगन्ज PNLF ले लायन्स क्लब अफ थोपा र थोपा प्रयोगशालासँगको सहकार्यमा नि:शुल्क सुगर परीक्षण अभियान सुरु गरेको छ । आज शुक्रबार विहान औपचारीक कार्यक्रमका बिच अभियानको शुभारम्भ गरिएको हो । नोभेम्बर महिनालाई ‘मधुमेह जनचेतना महिना’ का रूपमा मनाइँदै आएको अवसरमा यो अभियान प्रारम्भ गरिएको आयोजकले जनाएको छ ।

मधुमेह परीक्षणका लागि रगत संकलन गरिदै

मधुमेहबाट हुने जटिलता र क्षति न्यूनिकरणका लागि नियमित परीक्षण अत्यन्त आवश्यक हुने भएकाले सर्वसाधारणमा सचेतना फैलाउने उद्देश्यका साथ यो अभियान सञ्चालन गरिएको आयोजकले जानकारी दिएको छ । अभियानमार्फत स्थानीयलाई नि:शुल्क मुधुमेह परीक्षणको सुविधा उपलब्ध गराइने र मधुमेह सम्बन्धी सल्लाह तथा परामर्श पनि दिइने जनाइएको छ ।

अभियान शुभारम्भ  गर्दै कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट 325 N का गभर्नर ज्ञानेन्द्र कुमार श्रेष्ठले नियमित स्वास्थ्य परीक्षण र जीवनशैली सचेतनाको महत्त्वबारे जोड दिए । उनले यसखाले सहकार्यले समुदायमा निःशुल्क पहुँचयोग्य स्वास्थ्य सेवा विस्तारमा सघाउ पुर्याउने विश्वास व्यक्त गरे । लायन्स क्लब अफ नेपालगञ्ज PNLF का पूर्व अध्यक्ष डा.बद्री चापागाईंले कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै यहि मंसिर १४ नोभेम्बर ३० सम्म चल्ने यो अभियानले सर्वसाधारणमा मधुमेहबारे सचेतना फैलाउने र प्रारम्भिक जाँचलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे ।

लायन्स क्लब अफ नेपालगञ्ज PNLF का पूर्व अध्यक्ष डा.बद्री चापागाईं

कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट 325 N का पूर्वगभर्नर मधुसुदन शर्मा, ट्रेजरर हरी सुवेदी, एरिया नं ४ का एरिया चिफ पुष्कर खड्का, लायन्स क्लब अफ नेपालगन्जका तर्फबाट प्रेसिडेन्ट डा.अवनिन्द्र कुमार मिश्र, प्रथम भाइस प्रेसिडेन्ट डा .केशर खनाल, लायन्स क्लब अफ नेपालगंजको तर्फबाट प्रसिडेन्ट यज्ञ बहादुर बस्नेत, प्रदिप ज्ञवाली लगायतको उपस्थिति थियो । कार्यक्रमको सन्चालन लायन्स क्लब अफ थोपाका पास्ट प्रेसिडेन्ट सरोज चौधरीले गरेका थिए ।

थोपा प्रयोगशालामा कार्यरत लायन हरि बुढाको संयोजकत्वमा सञ्चालन हुने यस अभियानमा सर्वसाधारणहरुलाई निःशुल्क ब्लड सुगर जाँच सेवा र सम्पूर्ण लायन्स सदस्यहरूलाई hba1c परीक्षणमा २५ प्रतिशत छुट प्रदान गरिने आयोजकले जनाएको छ। कार्यक्रम चारबाहिनी सडकस्थित थोपा परिसरमा रहेको थोप प्रयोगशालामा सञ्चालन हुनेछ। प्रयोगशालाले सर्वसाधारण नागरिकलाई प्रयोगशाला जाँचको पहुचमा ल्याउन अन्य विभिन्न आकर्षक प्याकेज सार्वजनिक गर्ने तयारी गरेको समेत जानकारी दिएको छ ।

पछिल्लो समय मधुमेहको समस्याले धेरैलाई सताइरहेको छ। रगतमा चिनीको मात्रा आवश्यकता भन्दा बढी हुने अवस्थालाई मधुमेह (डायबिटिज) भनिन्छ, जसलाई साधारण भाषामा चिनी रोग वा सुगर पनि भनिन्छ। मधुमेहका कारण मुख वा घाँटी सुक्खा हुने, दृष्टि धमिलो देखिने, थकान लाग्ने, धेरै पिसाब लाग्ने जस्ता लक्षणहरू देखा पर्न सक्छन् ।

यस्ता लक्षणहरूलाई सामान्य ठान्ने प्रवृत्तिले रोगलाई झन् गम्भीर बनाउन सक्छ । विशेषज्ञहरूले यस्ता लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य परीक्षण र चिकित्सकको परामर्श लिन सुझाव दिएका छन् । मधुमेहको जटिलता रोकथाम गर्न समयमै उपचार गराउनु अत्यन्त महत्वपूर्ण छ । नियमित जाँच, स्वस्थ जीवनशैली र चिकित्सकको सल्लाहअनुसार औषधि सेवनले यो सम्भव छ ।

  • २१ कार्तिक २०८२, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech