सुर्खेतः सुर्खेतको भेरीगंगा नगरपालिकाका स्थानीयबासीलाई प्राथमिक स्वास्थ्य सेवा पहुँचमा पुर्याउने उद्देश्यले प्राथमिक कान तथा आँखा उपचार शिविर सुरु भएको छ । कार्तिक १६ गतेदेखि मंसिर २ गतेसम्म सञ्चालन हुने शिविर नगरका १७ वटै वडामा चरणबद्ध रूपमा सञ्चालन गरिनेछ ।
कार्यक्रमअनुसार पहिलो शिविर कार्तिक १६ गते भेरीगंगा–६ स्थित जनज्योति माध्यमिक विद्यालय, किर्नीमा सञ्चालन हुनेछ भने अन्तिम शिविर मंसिर २ गते भेरीगंगा–२ सानीमौर (सत्तरी) स्थित सामुदायिक माध्यमिक विद्यालयमा सञ्चालन गरिनेछ ।

नेपाल रेडक्रस सोसाइटी भेरीगंगा उपशाखाले आयोजना गरेको यस अभियानमा आर्थिक सहयोग भेरीगंगा नगरपालिकाले गरेको छ भने प्राविधिक सहयोग ब्रिनोज कान अस्पताल र सुर्खेत आँखा अस्पतालको रहेको छ ।

आँखा तथा कानको उपचार, परामर्श र परीक्षण सेवा उपलब्ध गराइएको ब्रिनोज कान अस्पतालका आउटरिच इन्चार्ज भीषण कुमार चौधरीले बताए । शिविरमा आँखा विशेषज्ञ, कान विशेषज्ञ, स्वास्थ्यकर्मी र प्रशिक्षित स्वयंसेवकहरु सहभागी भएका छन् ।

कानको चेकजाँच तथा परामर्श सेवा कान सहायक चिकित्सक भीषण कुमार चौधरी र तिर्थमान चौधरीले प्रदान गरेका छन् भने आँखाको चेकजाँच सुमित्रा चौधरी र विजया भट्टराईले गरेका छन् ।

शिविरमा आउने बिरामीको दृष्टि परीक्षण, कान सुन्ने क्षमता परीक्षण, सामान्य रोगको औषधि वितरण, साथै जटिल समस्या भएकालाई विशेषज्ञ अस्पतालमा रिफर गर्ने गरिएको छ ।







