कुनै पनि दम्पतिले सन्तानको योजना बनाएका छन् । त्यस अनुरुप कुनै गर्भनिरोधक साधन प्रयोग नगरी नियमित यौन सम्पर्क गरेका छन् र एक वर्षसम्म पनि यो क्रम जारी छ । तर, गर्भ रहेन भने त्यस्तो स्थितिलाई निःसन्तानपन भनिन्छ ।
कारण
निःसन्तानपन हुनुको एउटा मात्र कारण छैन । र, यसमा एक जना मात्र जिम्मेवार छैनन् । महिलाको हकमा भन्ने हो भने, डिम्बवाहिनी नलीमा अवरोध हुनु मुख्य कारण हो । पाठेघरको टिवी र इन्फेक्सनको कारणले नलीमा अवरोध हुने गरेको छ । डिम्ब निष्कासन हुन नसक्नु वा त्यसको वृद्धि विकास हुन नसक्नु एउटा कारण हो । पाठेघरमा पटकपटक संक्रमण, वंशाणुगत समस्या र ढिलो विवाह जस्ता थुप्रै कारण छन् ।
पुरुषको हकमा शुक्रकिटको संख्यामा कमी हुनु, कमसल गुणस्तरको हुनु जस्ता कारणले निःसन्तानपनको समस्या ल्याउँछ । वैदेशिक रोजगार पनि अहिले निःसन्तानपनको एउटा मुख्य कारण बनेको छ । खाडी मुलुकको चर्को गर्मीमा काम गर्दा वीर्यको गुणस्तरमा कमी आउँछ । अर्को ढिला गरी विवाह गर्ने प्रवृत्ति पनि निःसन्तानपनको कारण बनेको छ ।
निःसन्तानपन भए के गर्ने त ?
निःसन्तान दम्पतिका लागि अहिले वरदान हो, आइभीएफ IVF (In–Vitro Fertilization) । बोलीचालीको भाषामा यसलाई ‘टेस्ट ट्युब बेबी’ भन्ने गरिन्छ । यही अत्याधुनिक प्रविधि भित्र्याएको छ, एचसीआरसी हस्पिटल (HCRC) ले । सम्भवतः काठमाडौं बाहिर यो खालको प्रविधि कुनै अस्पतालसँग छैन । अन्तर्राष्ट्रिय मापदण्डमा सेटअप गरिएको छ । उपकरण पनि त्यस्तै स्तरीय छन् । एएचयू र भिओसी प्रविधि जडान गरिएको छ । यसले हावालाई तातो वा चिसो आफं बनाउँछ । अर्थात हावा फिल्टर गरेर तापक्रम नियन्त्रण गर्ने काम गर्छ । यो सेटअप गर्नका लागि मात्रै ५ करोड खर्च गरिएको छ ।
अन्य ठाउँमा आइभीएफ छ । तर, यहाँ आइसिएससी–आइभीएफ ICSI (Intracytoplasmic Sperm Injection-IVF) पनि छ । यो आइभीएफकै विकसित प्रविधि भएको आइभीएफ स्पेशलिस्ट डा.मञ्जु विसी बताउँछिन् । यसको सक्सेस रेट आइभीएफ भन्दा बढी हुन्छ । डा. विसीका अनुसार आइभीएफमा डिम्ब र शुक्राणुलाई एउटै डिशमा राखिन्छ, र शुक्राणु आफैं डिम्बभित्र प्रवेश गर्छ । यसमा सामान्य शुक्राणु संख्या र गुणस्तर आवश्यक हुन्छ । तर, आइसिएससी–आइभीएफमा एउटै स्वस्थ शुक्राणु छानेर प्रत्यक्ष डिम्बभित्र सुईद्वारा हालिन्छ । धेरै शुक्राणुको आवश्यकता पर्दैन ।
डिम्ब र वीर्य भण्डारणको पनि सुविधा
एकल महिला छन् । अर्थात् विवाह भएको छैन । चाँडै विवाह गर्ने कुनै योजना पनि छैन । सन्तानपछि जन्माउने योजनामा रहेका त्यस्ता महिलाको डिम्बलाई भण्डारण (फ्रिज) गरेर राख्न सकिने सुविधा पनि अस्पतालसँग छ । जसलाई क्रायो–फ्रिजिङ भनिन्छ । यसरी संकलित डिम्बलाई आफ्नो आवश्यकता वा इच्छा अनुसार ५ वर्षसम्म भण्डारण गरेर राख्न सकिने डा. विसी बताउँछिन् ।
उनी भन्छिन्–‘आफूलाई बच्चा जन्माउन मन लागेपछि गर्भधारण गर्न सकिन्छ ।’ यस्तै पुरुषले पनि आफ्नो वीर्यलाई भण्डारण गर्न सक्छन् । कुनै पुरुष वैदेशिक रोजगारीमा जानु छ वा सन्तानको तुरुन्त योजना छैन भने वीर्य पनि भण्डारण गर्ने सुविधा अस्पतालसँग रहेको छ । उनी भन्छिन्–‘प्रविधिले दिएको यो एक उच्चतम् सुविधा हो । यदि कुनै दम्पतिले तुरुन्त सन्तानको योजना बनाएका छैनन् भने उनीहरुले आफ्नो डिम्ब र शुक्रकिटबाट निषेचन गराएर त्यसलाई भण्डारण गर्न सक्छन् । यसलाई उनीहरुले आफ्नो अनुकुलता अनुसार चाहेको बेला पाठेघरमा प्रतिष्थापन गराएर गर्भधान गराउन सक्छन् ।’
को हुन् डा.मञ्जु विसी ?

डा.मञ्जु विसी पश्चिम नेपालमै पहिलो आइभिएफ स्पेशलिस्ट हुन् । प्रसूति तथा स्त्री रोग विशेषज्ञ समेत रहेकी उनले भारतको राजस्थान उदयपुरबाट आइभीएफमा विशेषज्ञता हासिल गरिन् । उनले एक वर्षको कोर्ष पूरा गरिन् । एक वर्षको कोर्ष पूरा गर्नेको संख्या नै अत्यन्तै कम छ । ७ दिने, १५ दिने १ महिने तालिम लिएर पनि आइभीएफ सेवा दिनेको संख्या बढिरहेका बेला डा.मञ्जु भने पूर्णरुपमा विज्ञता हासिल गरेर स्तरीय सेवामा खटिएकी छिन् ।
निःसन्तानपनका कारण दम्पतिहरुमा बढ्दो तनाव, पीडा र छटपटीलाई नजिकबाट हेरेकी उनले त्यस्ता दम्पतिहरुको अनुहारमा खुसी फर्काउने प्रयासमा छिन् । एचसीआरसी अस्पतालमा पूर्णकालीन सेवा दिँदै आएकी उनी दैलेख गुराँस गाउँपालिकामा जन्मिन्, २०४५ सालमा । बुवा देवकुमार विसी र आमा खगीसरा बुढाका तीन सन्तान मध्ये उनी एक्ली छोरी हुन् । दुई जना दाई छन् । बुवा सरकारी शिक्षक थिए । शिक्षित परिवारमै जन्मिएकीले मञ्जुलाई पठनपाठनको कुनै समस्या भएन् । २०४६ सालमा उनको परिवार सुर्खेत वीरेन्द्रनगरमा बसाइँ सर्यो । उनी त्यही हुर्किइन् । त्यहीँ पढिन् ।
सरकारी विद्यालय जनज्योति उच्च माविबाट २०६१ सालमा एसएलसी उत्तीर्ण गरिन् । प्लस टु पनि जनज्योतिबाटै गरिन् २०६३ मा । उनी पब्लिक हेल्थ पढ्न चाहन्थिन् । तर, दाईहरुले एमबीबीएस नै पढ्न सुझाव दिए । त्यसपछि उनी चीन गइन् । त्यहाँको सरकारी यानबियन विश्वविद्यालयबाट एमबीबीएस र एमडी गरिन् । २०७६ सालमा एमडी गरेर आएपछि उनी पश्चिम नेपालका महिलाहरुलाई प्रसूति तथा स्त्री रोग सम्वन्धि उपचारमा संलग्न छिन् । चीनबाट फर्केपछि भेरी अस्पताल, क्यान्सर अस्पताल खजुरा लगायतमा समेत काम गरेकी उनले पछिल्लो तीन वर्षदेखि भने एचसीआरसी अस्पतालमा पूर्णकालीन सेवामा क्रियाशील छिन् ।
(स्वास्थ्यपेज विशेषांकबाट)








