नेपालगन्जः स्तन क्यान्सर भएको थाहा पाएपछि अधिकांश महिलाहरु आफ्नो महत्वपूर्ण अङ्ग गुम्ने भयो, शारीरिक सुन्दरता बिग्रने भयो भनेर चिन्ता गर्छन् । तर, अब स्तन जोगाएर पनि क्यान्सरको उपचार गर्न सकिने भएको छ । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा यस्तो प्रविधि सुरु गरिएको छ । पहिले स्तन क्यान्सर भएपछि स्तन काटेर शल्यक्रिया गर्ने गरिन्थ्यो । अहिले भने स्तन जोगाएर उपचार गर्ने आधुनिक प्रविधिको विकास भएको छ, जसलाई मेडिकल भाषामा ब्रेस्ट कन्जर्भिङ सर्जरी (Breast Conserving Surgery) भनिन्छ ।
राजधानी बाहिर यस्तो सर्जरी विरलै हुने गरे पनि सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले भने यो उपचार विधि धमाधम भइरहेको अस्पतालका ब्रेस्ट अंको सर्जन डा. रुपेश रोशनले जानकारी दिए । डा. रोशनका अनुसार यस सर्जरीमार्फत क्यान्सरको उपचारसँगै महिलाको शरीरको प्राकृतिक सौन्दर्य जोगाउने प्रयास पनि भइरहेको छ । उनले स्वास्थ्यपेजलाई भने–‘राजधानी बाहिर यस्तो शल्यक्रिया बिरलै हुने गर्छ, तर सुशील कोइराला क्यान्सर अस्पतालमा भने क्यान्सर भएको भागलाई हटाउने र स्तनको आकार पुनःस्थापना गर्ने दुवै काम एउटै प्रक्रियामा भइरहेको छ ।’
अस्पतालले हालसम्म २० जना स्तन क्यान्सरका बिरामीलाई ब्रेस्ट कन्जर्भिङ सर्जरी सेवा प्रदान गरिसकेको छ । पछिल्लो पटक ७३ वर्षीया एक महिलाको बुधवार सफलतापूर्वक अंको–प्लास्टिक ब्रेस्ट सर्जरी गरिएको डा. रोशनले जानकारी दिए । उनका अनुसार ती महिलाको करिब ६ महिना अघि स्तनमा गाठो पलाएको थियो । तर, उनले रोग लुकाइरहिन् । व्यथाले च्याप्दै गएपछि परिवारले उनलाई अस्पताल पुर्याए । आवश्यक परीक्षणपछि क्यान्सर पुष्टि भयो ।
डा. रोशनले भने–‘बुधवार ती महिलाको सफलतापूर्वक अंको–प्लास्टिक ब्रेस्ट सर्जरी गरिएको छ । अब किमोथेरापी र रेडियोथेरापी दिने योजनामा छौं ।’ उनका अनुसार विकसित देशका महिलाहरु ५० वर्षभन्दा माथिको उमेरमा क्यान्सर देखिए पनि स्तन जोगाएर उपचार गर्न चाहन्छन् । तर, नेपालमा भने प्रायः स्तन काट्ने विधि अपनाइन्छ । ‘३२–३३ वर्षकै उमेरमा स्तन क्यान्सर भएर स्तन फाल्नुपर्ने अवस्थालाई परिवर्तन गर्ने प्रयास गरेका छौं डा. रुपेश भन्छन्–‘सकेसम्म स्तन जोगाउँ भन्ने नै हाम्रो धारणा हो । त्यही अनुसार सेवा दिइरहेका छौं ।’
स्तन क्यान्सरको उपचारमा नयाँ प्रविधि र आधुनिक विधि भित्र्याएसँगै खजुरा क्यान्सर अस्पतालका विज्ञ चिकित्सकहरुले बिरामीलाई ठूलो राहत दिएका छन् । अब क्यान्सरको उपचारसँगै महिलाको आत्मविश्वास र शरीरको आकर्षक बनावट पनि जोगाउन सकिने भएको छ । डा. रुपेशका अनुसार सर्जरीपछि स्तनको आकार बिग्रिन नदिन बिरामीकै शरीरको मासु प्रयोग गरेर स्तनको बनावट पुनःस्थापना गरिन्छ ।
‘हामी बिरामीकै शरीरको मासु नै प्रयोग गरेर स्तनको पुरानो बनावटलाई जस्तै आकर्षक बनाउन प्रयास गर्छौं’–उनले बताए । उनले थपे–‘यो विधिले रोग निको पार्ने काम मात्रै गरेको छैन, महिलाको आत्मसम्मान, आत्मबल र जीवनप्रतिको दृष्टिकोणमा पनि सकारात्मक परिवर्तन ल्याएको हामीलाई अनुभूति भएको छ ।’ यसरी, स्तन क्यान्सरको उपचारमा राजधानी बाहिर आधुनिक प्रविधि विस्तार हुनु यस भेगका क्यान्सर बिरामी महिलाका लागि आशाको किरण बनेको छ ।








