नेपालगन्जः बाँकेको राप्तीसोनारी गाउँपालिकाको सामुदायिक अस्पताल परिसरमा पहिलो पटक गरिएको निःशुल्क आँखाको मोतियाबिन्दु शल्यक्रियाले गाउँका बासिन्दाको आँखामा नयाँ उज्यालो फिर्ता ल्याएको छ। गाउँकै अस्पतालमा शल्यक्रिया सुविधा पाएपछि सेवाग्राहीहरुमा “सरकारले हामीलाई सम्झियो” भन्ने भाव जागेको छ।
तीन दिनसम्म चलेको शिविरमा १ सय ९३ जनाको मोतियाबिन्दु र ४ जनाको आँखामा मासु पलाएको (प्टेरिजियम) शल्यक्रिया गरिएको छ। आर्थिक कठिनाइका कारण लामो समयदेखि अन्धकारमा बाँचिरहेका नागरिकका लागि यो शिविरले ठूलो राहात दिएको पालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले बताए ।
अध्यक्ष पौडेलका अनुसार, “वर्षौंदेखि उपचार नपाएर दुस्ख पाउँदै आएका नागरिकका लागि यो शिविरले ठूलो राहत दिएको छ।” गाउँपालिकाको सक्रिय पहलमा पहिलो पटक यति ठूलो आँखा शल्यक्रिया शिविर गरिनुले स्वास्थ्यका क्षेत्रमा पालिकाको प्राथमिकतालाई पुष्टि गरेको अध्यक्ष पौडेलको भनाइ छ।
शिविरको उद्घाटन गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारूले गरेकी थिइन्। उनले भनिन्, “मोतियाबिन्दु पीडितहरू एउटै स्थानमा आएर निःशुल्क शल्यक्रिया पाउनु हाम्रो गाउँपालिकाको ठूलो उपलब्धि हो। यसले गाउँमै सेवा विस्तारको बाटो खोलेको छ।”
उपाध्यक्ष सिंहका अनुसार, महिलाहरूमा आँखा रोगको समस्या बढी पाइने भएकाले उनीहरूको उपचारमा प्राथमिकता दिइएको थियो। गाउँपालिका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीका अनुसार, कार्तिक १० गतेदेखि सुरु भएको निःशुल्क आँखा जाँच तथा छनोट कार्यक्रम गाउँपालिकाका सबै ९ वडामा गरिएको थियो।
त्यसैक्रममा मोतियाबिन्दु र अन्य आँखासम्बन्धी समस्या भएका बिरामीको पहिचान गरिएर अस्पतालमा शल्यक्रिया गरिएको हो। शिविर नेपाल आँखा कार्यक्रम र तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौँको प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो। शिविरमा तिलगंगा आँखा प्रतिष्ठानबाट डाक्टर रेखा पुन, डाक्टर नम्रता, र विदेशी विशेषज्ञ डाक्टर ओराक सहितको टोली खटिएको थियो।
यसअघि पनि राप्ती सोनारी अस्पताल परिसरमा रहेको ग्रामीण आँखा केन्द्रमार्फत विभिन्न आँखा जाँच र परामर्श शिविर सञ्चालन हुँदै आएको थियो। तर यसपटकको मोतियाबिन्दु शल्यक्रिया कार्यक्रम भने ‘पहिलो’ ठूलो शल्यक्रिया प्रयास भएको गाउँपालिकाले जनाएको छ। स्थानीयवासीहरूले यसलाई आँखा स्वास्थ्यमा गाउँपालिकाको ‘माइलस्टोन’का रूपमा व्याख्या गरेका छन्। र, निरन्तरताको माग पनि गरेका छन् ।






