मिर्गौलालाई स्वस्थ कसरी राख्ने ?

    • डा.पारस श्रेष्ठ /मिर्गौला रोग विशेषज्ञ

  • १८ कार्तिक २०८२, मंगलवार

हाम्रो शरीरमा दुई वटा मिर्गौला हुन्छन् । यिनीहरु पेटको पछाडिको भागमा हुन्छन् । मिर्गौला सिमी आकारका हुन्छन् । तिनले शरीरमा हुने विभिन्न प्रक्रिया हुँदा निस्किने विकारहरुलाई रगतबाट छानेर बाहिर फाल्छन् । मिर्गौलाको एउटा प्रमुख काम पिसाब बनाउनु पनि हो । मिर्गौलाले नै शरीरमा तरल पदार्थ र लवणको मात्राको सन्तुलन कायम गराउँछन् । शरीरलाई चाहिने अनेकथरी तत्वको मात्रा व्यवस्थापन गर्छन् ।

मिर्गौलाको रोग कसरी लाग्छ ?
कतिपय अवस्थामा मिर्गौलाका रोग जन्मजात हुन्छ । कोही उमेर बढ्दै जाँदा रोगी हुन्छन् । बच्चाहरुमा जन्मजात रुपमा एउटा मात्रै मिर्गौला हुने, मिर्गौलाको रगतको नसा च्यापिएको वा बिग्रिएको हुने, मिर्गौलामा सिस्ट बन्ने लगायतका समस्या देखिन्छन् । पिसाब उम्लिएर गएर संक्रमण गराउने, पिसाबको थैली र नलीका रोगले पनि बच्चाको किड्नीलाई असर गरिरहेको हुन्छ । वयष्क मान्छेमा मिर्गौलाको समस्या हुनुका प्रमुख दुई कारण उच्च रक्तचाप र मधुमेह हुन् । मिर्गौलामा रोग देखिने अन्य कारणमा मिर्गौलाको हुने पत्थरी, ट्युमर, मिर्गौलामा लाग्ने चोटपटक लगायत छन् ।

मिर्गौलालाई स्वस्थ कसरी राख्ने ?
बेलाबेलामा स्वास्थ्य परीक्षण गर्नुपर्छ । हरेक ६ महिना/१ वर्षमा रक्तचाप, क्रियाटिन, पिसाबको परीक्षण र अल्ट्रासाउण्ड (भिडियो एक्सरे) गर्नुपर्छ । यी सबै स्क्रिनङ परीक्षण हुन् । मिर्गौलाको रोग अरु रोग जस्तो सजिलै पत्ता लाग्दैन किनभने क्रियाटिन बढ्नलाई मिर्गौला ७० देखि ८० प्रतिशत बिग्रिनुपर्छ । त्यसैले पिसाब, रगत सबैको परीक्षण गरे मिर्गौला रोगलाई सुरुकै स्टेजमा पत्ता लगाउन सकिन्छ । उच्च रक्तचाप हुनेहरुले नियन्त्रण गर्नुपर्छ । सम्बन्धित फिजिसियनकहाँ गएर बेलाबेलामा परीक्षण गर्नुपर्छ । डाइविटिजका बिरामीले पनि खानामा ध्यान दिने अनि व्यायाम गर्नुपर्छ । रगतको नशा स्वस्थ राख्न कोलस्ट्रोल नियन्त्रण गर्न व्यायाम गर्नुपर्छ । धुमपान गर्नु हुँदैन । धुमपानले फोक्सोलाई मात्र असर गर्ने होइन, मिर्गौलामा जाने रगतको नशा पनि सुकाइदिन्छ । धुलो, धुँवा वातावरणीय प्रदूषणबाट मुक्त रहेर विष, लिड, मर्करीबाट मुक्त रहन सकियो भने मिर्गौलालाई स्वस्थ राख्न सकिन्छ । प्रशस्त पानी पिउनु पनि महत्वपूर्ण छ । पानी धेरै पिउँदैमा मिर्गौला स्वस्थ हुन्छ भन्ने होइन । कुनै पनि ठाउँको मौसम अनुसार पानी पिउनु पर्छ । सामान्य रुपमा दैनिक दुईदेखि साढे दुई लिटर पिसाब बाहिर आउने गरी पानी पिउनु पर्छ । सजिलो भाषामा भन्ने हो भने मुटुलाई स्वस्थ जस्तो खानाले राख्छ त्यस्तै खाना खानुपर्छ । फलफूल हरियो सागसब्जीको मात्रा बढाउनु पर्छ । जसले रोग प्रतिरोधात्मक एन्टीअक्सिडेन्टको मात्रा बढाउँछ । रक्सी, चुरोट, ड्रग्सबाट सधैं टाढै रहनु पर्छ । सन्तुलित भोजन गर्नुपर्छ, जंक फुडलाई बन्द गर्नुपर्छ । खाडी राष्ट्रमा रोजगारीमा जानेले पानी भन्दा कोक, फेन्टा बढी खाने भएकाले त्यसको असर परेको छ । जंक फुड, जंक ड्रिंक्सले मिर्गौलालाई हानी गर्छ । सबैभन्दा राम्रो शुद्ध पानी पिउनु हो । कागती पानी, दही मोहीले मिर्गौलालाई फाइदा गर्छ । अत्यधिक व्यायामले पनि मिर्गौलालाई असर गर्न सक्छ । नियमित व्यायाम चाहिन्छ । वर्षमा एक पटक मसल च्यातिने गरी व्यायाम गरे त्यसले किड्नीलाई असर गर्छ । सन्तुलित व्यायाम गर्ने तर एक्कासी धेरै गर्ने होइन । कुनै पनि अतिले खति गर्छ । व्यायाम गर्नुस्, हरेक दिन गर्नुस् अथवा हप्ताको एक–दुई चोटी मिलाएर गर्नुस् तर एकै पटक मात्र धेरै गह्रौं व्यायाम नगर्नुस् ।

मिर्गौला रोगका लक्षण
मिर्गौला रोगका कतिपय लक्षण दुखेर हुन्छ कतिलाई नदुखी पनि हुन्छ । पत्थरी रहेछ भने कोखा दुख्ने, पिसाबमा रगत जाने हुन्छ । यस्तो बेलामा पिसाबमा रगत जाने र उल्टी हुन सक्छ । तर, धेरैजसो ‘साइलेन्ट ड्यामेज’ हुन्छ । यस्तो भए अत्यधिक टाउको दुख्छ । उच्च रक्तचापले टाउको दुख्छ भने त्यहाँ भएको युरिया लगायत पानी सोडियमले गर्दा उल्टी हुने हुन्छ । त्यसपछि अनुहार, आँखाका कोषिका, गोडा, अण्डकोषको छाला सुन्निने हुन्छ । कतिपयलाई छाती दुख्ने अनि स्याँ..स्याँ… हुने हुन्छ । शरीर पहेँलो हुँदै आउँछ । यी सबै धेरै बिग्रिसकेपछि देखिने लक्षण हुन् । सुरुवाती चरणमा त केही थाहा हुँदैन । मिर्गौला ७०/८० प्रतिशत बिग्रिएपछि मात्रै लक्षण देखिन्छ । पिसाबको रङ परिवर्तन हुनु, पिसाब धेरै गन्हाउनु पनि मिर्गौला रोगकै लक्षण हुन् ।

मिर्गौला रोगको उपचार
यो रोगका विभिन्न चरणहरु हुन्छन् । रिस्कमा पर्नु, चोट लाग्नु, मिर्गौला फेल, मिर्गौलाको काम गर्ने क्षमताको ह्रास र ‘इन्डस्टेज’ गरी पाँच वटा चरण छन् । यसको कारण पत्ता लगाएर उपचार गर्नुपर्छ । दुई वटै किड्नी अथवा पिसाबको नलीमा पत्थरी पर्यो, ट्युमर देखियो भने त्यसलाई फाल्नुपर्छ । यो पनि उपचारको एउटा पद्धति नै हो । ट्युमर छ भने त्यसलाई निकाल्नुपर्छ । पिसाब उम्लेर गएको छ भने त्यसलाई नउम्लिने बनाइदिनुपर्छ । उपचार गर्न मिल्ने कारणहरुको उपचार गर्ने हो । सुगर, प्रेसर नियन्त्रणमा राख्ने हो । जथाभावी नदुख्ने औषधिहरु खानु हुँदैन । पानी ठिक्क मात्रामा पिउनु पर्छ । सन्तुलित रूपमा प्रोटिन मिसिएका खाना खानुपर्छ । अण्डा, माछा, मासु सबै खान हुन्छ तर ‘डाइटिसियन’को सल्लाहमा । सुरुवाती चरणमा यसरी नियन्त्रण गर्न सकिए पनि अन्तिम अवस्थामा पुगेपछि भने डायलासिस वा मिर्गौलाको प्रत्यारोपणमा जानुपर्छ ।

  • १८ कार्तिक २०८२, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech