जहाँ जन्मिइन्, त्यहीँ सेवा गर्ने संकल्पका साथ अघि बढेकी न्यूरोसर्जन डा.उपमा !

यसअघि टाउकोमा सामान्य चोटपटक लाग्दा पनि नेपालगञ्ज वा वुटवल जानुपर्ने अवस्था थियो । जसले बिरामीको परिवारमा समय, खर्च र मानसिक तनाव दुबै बढाउँथ्यो । न्यूरोे सर्जन डा. उपमाका अनुसार अहिले ओपीडीमा दैनिक ३५–४० जना न्यूरोका बिरामीहरु आउने छन् ।


    • प्रियास्मृति ढकाल

  • १३ कार्तिक २०८२, बिहीबार

नेपालगन्जः दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले न्यूरो (स्नायु सम्बन्धि) सेवा प्रारम्भ गरेपछि त्यस क्षेत्रका नागरिकहरु लाभान्वित हुन थालेका छन् । स्थानीयस्तरमै विशेषज्ञ उपचार उपलब्ध हुन थालेपछि न्यूरोका बिरामीहरुले सहजरुपमा क्लिनिकल परामर्श, औषधि उपचार, डाइग्नोस्टिक सुविधासँगै जटिल खालका शल्यक्रिया समेत हुन थालेका छन् । न्यूरोसर्जन डा. उपमा शर्मा गएको चैत महिनामा अस्पतालमा भित्रिएसँगै दाङमा पहिलोपटक न्यूरोे सेवा सुरु भएको हो । सामान्यतया न्यूरो सेवा भनेको मस्तिष्क, मेरुदण्ड, स्नायु प्रणाली र त्यससँग सम्बन्धित रोगहरुको उपचार हो ।

यसअघि टाउकोमा सामान्य चोटपटक लाग्दा पनि नेपालगञ्ज वा वुटवल जानुपर्ने अवस्था थियो । जसले बिरामीको परिवारमा समय, खर्च र मानसिक तनाव दुबै बढाउँथ्यो । न्यूरोे सर्जन डा. उपमाका अनुसार अहिले ओपीडीमा दैनिक ३५–४० जना न्यूरोका बिरामीहरु आउने छन् । प्रतिष्ठानमा न्युरो सेवा सुरु भएपछि दाङ, रोल्पा, सल्यान लगायत जिल्लाका बिरामीहरु आउने गरेका छन् । पछिल्ला दुई महिनादेखि प्रतिष्ठानमा जटिल खालका शल्यक्रियाहरु समेत भइरहेका छन् ।

‘ट्युमर, मेरुदण्ड, टाउकोमा चोट लागेर हड्डी फुट्ने तथा रगत जम्ने जस्ता जटिल शल्यक्रियाहरु सफलतापूर्वक भइरहेका छन्’–उनले भनिन् । समुदायस्तरमा न्यूरोका सबै केश शल्यक्रियामार्फत मात्र उपचार हुन्छ भन्ने बुझाई रहेको उनको अनुभव छ । तर, डा. उपमाको भनाईमा ७०–८० प्रतिशत केशहरु औषधि उपचारमार्फत नै ठिक हुन्छन् । शल्यक्रिया गर्नै पर्ने अवस्थामा पनि बिरामीको अवस्था, जनशक्ति, उपकरण लगायतका पक्षहरुको मूल्याङ्कन गरेर मात्र शल्यक्रिया गर्ने गरिएको उनले बताइन् ।

‘यहाँ सम्भव नहुने जटिल केशहरु भए नेपालगञ्ज वा बुटवल रिफर गर्ने गरेका छौँ’–उनले थपिन् । तर, रोगको जटिलता पहिचानका लागि भने अब टाढा धाउनुपर्ने अवस्था नरहेको उनले स्पष्ट पारिन् । प्रतिष्ठानमा सिटिस्क्यान मेसिन र एमआरआई उपलब्ध भएकाले ट्रमा केशहरूमा पनि तत्काल परीक्षण गरी अवस्था पहिचान गर्न सकिने सुविधा मिलेको छ । ‘पहिला अवस्था मात्र बुझ्नकै लागि पनि नेपालगञ्ज वा बुटवल जानुपर्ने बाध्यता थियो, तर अब त्यो अवस्था छैन’–उनी भन्छिन् ।

यस्तै, मृगी, पार्किन्सन्स लगायतका बिरामीहरूले पनि अहिले प्रतिष्ठानमै सहज उपचार सेवा पाउन थालेका छन् । यसअघि यस्ता केशहरु मिस हुँदै आएका थिए । अहिले यस्ता बिरामीहरु एउटै प्रिस्क्रिप्सनबाट नै तयार भएको उनको भनाई छ । नयाँ–नयाँ प्रविधिको विकाससँगै उपकरणको आवश्यकता र माग स्वभाविक रुपमा बढ्ने गर्दछ । एउटा मात्र उपकरणले न्युरोसर्जरी सम्भव हुँदैन । तथापि, हाल आपतकालीन अवस्थाका लागि आवश्यक उपकरणको अभाव छैन । तर, जटिल प्रकृतिका केशहरुको हकमा भने उपकरणको कमी अझै छ ।

जस्तै, मस्तिष्कको गहिराईमा रहेको ट्युमर निकाल्नका लागि चाहिने उपकरण उपलब्ध छैन । त्यति मात्र नभई त्यसका लागि दक्ष चिकित्सकहरुको टिम पनि आवश्यक पर्छ । तालिम प्राप्त जनशक्ति, आइसीयू, पोस्ट–अपरेटिभ कक्ष जस्ता संरचनात्मक सुविधा र प्राविधिक पक्षहरु पनि सेवासँगै जोडिने भएकाले ती सबैको व्यवस्थापन अनिवार्य हुन्छ । यी समस्यालाई सम्वोधन गर्न सकियो भने न्यूरोेका बिरामीहरुलाई रिफर गर्नै नपर्ने गरी सेवा दिन सकिने डा. उपमाको भनाई छ । उनी भन्छिन्–‘हाम्रो लक्ष्य केवल औषधि उपचार मात्र होइन, रोगको पहिचान, रोकथाम र परामर्श पनि हो ।’

को हुन् डा.उपमा ?

दाङको घोराही उपमहानगरपालिका–३ गोग्लीमा २०४७ सालमा जन्मेकी उपमा शर्मा उत्तमकुमार र उमा घिमिरेकी जेठी छोरी हुन् । उनको परिवारमा एक बहिनी पनि छिन् । बाल्यकालदेखि नै पढाईमा लगनशील उपमाले भिएस निकेतन स्कूलबाट २०६३ सालमा एसएलसी परीक्षा उत्तीर्ण गरिन् । त्यसपछि उनले काठमाडौको प्रसादी कलेजमा प्लस टु अध्ययन गरिन् । उनको सपना सधैं डाक्टर बन्ने थियो, तर उनका बुवाले छोरीलाई इन्जिनियर बनाउने इच्छा राखेका थिए ।

बाबुको सपना पूरा नभए पनि उपमा आफ्नो लक्ष्य नछोडी २०६६ सालमा धुलीखेल अस्पतालमा एमबीबीएस अध्ययनका लागि भर्ना भइन् र २०७१ सालमा डाक्टरी डिग्री हासिल गरिन् । एमबीबीएस अध्ययन पश्चात उनले मेडिकल अधिकृतको रुपमा बाँसबारी न्यूरो अस्पतालमा काम सुरु गरिन् । जहाँ ख्यातिप्राप्त न्यूरो सर्जन डा.उपेन्द्र देवकोटाको मार्गदर्शनमा उनले थुप्रै न्यूरो केशहरू हेरिन् र अनुभव संगालिन् ।

उपमा भन्छिन्–‘डा. देवकोटासँग काम गर्दै जाँदा मलाई पनि न्यूरो सर्जरीमा करियर बनाउने इच्छा जाग्यो ।’ उनले २०८० सालमा पाकिस्तानको सरकारी मान्यता प्राप्त कलेज अफ फिजिसियन एण्ड सर्जन्सबाट न्यूरो सर्जरीमा फेलोशिप पूरा गरिन् । तर, अभ्यास र तालिम भने उनले वीर अस्पताल काठमाडौं र अन्नपूर्ण न्यूरो अस्पतालबाट प्राप्त गरिन् । अन्नपूर्णमा न्यूरो सर्जन डा. वसन्त पन्तको प्रत्यक्ष मार्गदर्शनमा उनले थप प्राविधिक दक्षता हासिल गरिन् ।

फेलोशिप पूरा भएपछि उपमा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्ज र कोहलपुरमा करिब डेढ वर्षसम्म कन्सल्टेन्ट न्यूरो सर्जनको रुपमा कार्यरत रहिन् । गत चैत महिनादेखि भने उनले आफ्नै गृहनगरको प्रतिष्ठानमा न्यूरो विभागको नेतृत्व सम्हालेकी छिन् । यो उनका लागि गर्व र आत्मसन्तुष्टिको क्षण हो, किनभने आफ्नो जन्मभूमिमा पहिलोपटक सुरु भएको न्यूरो सेवालाई प्रभावकारी गराउने जिम्मेवारी उनको काँधमा छ । उपमा भन्छिन्–‘मेरो जन्मस्थानमा सेवा गर्ने अवसर पाउनु मेरो लागि धेरै ठूलो खुशी र आत्मसन्तुष्टि हो ।’

  • १३ कार्तिक २०८२, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech