सल्यान: सल्यानमा बौलाहा कुकुरको टोकाइबाट ६ जना घाइते भएका छन्। जिल्लाको शारदा नगरपालिका– १० पैयाखर्कमा बुधबार बिहान बौलाहा कुकुरको टोकाइबाट ६ जना घाइते भएका हुन्।
फरक–फरक ठाउँमा गएर कुकुरले मानिसलाई आक्रमण गरेर घाइते गराएको स्थानीयहरूको भनाइ छ। घाइते हुनेहरूमा ५४ वर्षीय तुलाराम चलाउने, २५ वर्षीया पार्वती चलाउने, २० वर्षीय नवीन बुढाथोकी, १९ वर्षीय धमन बुढाथोकी, १५ वर्षीया शर्मिला बोहरा र सात वर्षीय श्रीस बोहरा रहेका छन्। उनीहरू सबैको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
शारदा नगरपालिका–११ का वडाध्यक्ष कृष्णबहादुर बोहराका अनुसार सोही गाउँमा उक्त कुकुरले अन्य १२ वटा कुकुर र आठवटा बाख्रालाई पनि टोकेको छ। मानिससहित अन्य पशुमा समेत आक्रमण भएपछि गाउँभर त्रास फैलिएको उनको भनाइ छ।
कुकुरलाई नियन्त्रणमा लिएर नगरपालिकाको पशु शाखाका डाक्टरसहितको टोली घटनास्थलमा खटिएको छ। तर, रेबिजविरुद्धको भ्याक्सिनको अभावका कारण उपचारमा समस्या भएको उनले बताए। पशु अस्पताल तथा पशु सेवा कार्यालय र नगरपालिकामा भ्याक्सिन नहुँदा कठिनाइ भएको उनले बताए।








