नेपालगन्जः आज विश्व स्ट्रोक दिवस, विभिन्न सचेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । पश्चिम नेपालको एक मात्र न्युरो सेवामा समर्पित नेपालगञ्ज न्युरो अस्पतालले दिउँसो नेपालगन्जमा कार्यशालाको आयोजना गरेको छ ।
नेपाल स्टोक एशोसिएसन, जिल्ला स्वास्थ्य कार्यालय, नेपाल चिकित्सक संघ, नेपालगन्ज उपमहानगरपालिका, महिला उद्यमी संघ लगायतसँगको सहकार्यमा महिला स्वास्थ्य स्वयसेविकाहरुलाई लक्षित गरेर कार्यशाला आयोजना गरेको हो ।
न्युरो अस्पतालका संचालक समेत रहेका कन्सल्टेन्ट न्यूरोसर्जन डा.जोशन न्यौपानेका अनुसार स्ट्रोक संसारमै धेरै मान्छेको ज्यान लिने प्रमुख रोग मध्येमा पर्दछ । नेपालमा स्ट्रोकका कति बिरामी छन् भन्ने तथ्यांक छैन । तर स्ट्रोक भएर अस्पतालमा आउने बिरामीको संख्या उल्लेख्य मात्रामा रहेको चिकित्सकहरु बताउँछन् । समयमा अस्पताल नआएर हेलचेक्र्याइँ गरेर घरमा बस्दा जीवनभरि नै दुःख पाएका घटना पनि छन् ।
नेपालमा स्ट्रोक धेरै मानिसलाई हुने गर्दछ तर मानिसलाई स्ट्रोकबारे चेतना नहुँदा ढिला अस्पतालमा पुग्दछन् । महिनौँ फिजियोथेरापी गर्ने गर्नु पर्दछ। ‘महिला स्वयसेविकाहरुलाई स्टोकबारे जानकारी गराएर समुदायस्तरमा सचेतना फैलाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो, डा.न्यौपाने भन्छन् -‘कम्तिमा स्ट्रोकका प्रारम्भिक लक्षण चिन्ह र समयमा अस्पताल पुर्याउनु पर्छ भन्ने सन्देश आमनागरिकले बुझनु पर्छ भन्ने हो ।’
कार्यशालामा महिला स्वयमसेविकाहरुलाई स्ट्रोक के हो ? लक्षण चिन्ह, जोगिने उपाय, स्ट्रोक भइहाले तत्काल कसरी उद्दार गर्नेसम्मका कुराहरु सिकाइने छ ।








