भेरी अस्पतालमा थप चार डायलाइसिस मेसिन सञ्चालन, मिर्गौला बिरामीका लागि ठूलो राहत

    • स्वास्थ्य पेज

  • ११ कार्तिक २०८२, मंगलवार

नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जले मिर्गौला पीडितका लागि थप चारवटा डायलाइसिस मेसिन सञ्चालनमा ल्याएपछि उपचार लिन आउने बिरामीलाई ठूलो सहजता मिल्ने भएको छ । अस्पतालले थप चारवटा मेसिन सञ्चालनमा ल्याएसँगै दैनिक उपचार क्षमतामा उल्लेख्य वृद्धि भएको छ ।

यसअघि अस्पतालमा रहेका ६ वटा मेसिनमार्फत तीनवटा सिफ्टमा दैनिक १८ जनाको मात्र डायलाइसिस हुँदै आएको थियो । अब कुल १० वटा मेसिनमार्फत तीन सिफ्टमा दैनिक ३० जना बिरामीले सेवा लिन सक्ने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.निराजन सुवेदीले बताए । अस्पतालका नर्सिङ निरीक्षक बिना घलेका अनुसार तीमध्ये दुईवटा मेसिन विशेष रूपमा सेरोपोजेटिभ बिरामी (जस्तै हेपाटाइटिस र एचआईभी संक्रमित)का लागि छुट्याइएको छ ।

संक्रमण नियन्त्रण र संवेदनशीलताका दृष्टिले यी बिरामीलाई अलग्गै सुविधा दिइएको हो’-उनले भनिन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.सुवेदीले मेसिन थप भएपछि डायलाइसिस सेवामा देखिएको भीड र पालो कुर्नुपर्ने समस्या धेरै घट्ने बिश्वास व्यक्त गरे । उनले भने- बिरामीहरुले दिनौंदिन पालो पर्खनुपर्थ्यो । अहिले भने थप मेसिनले बिरामीलाई राहत दिएको छ । धेरै जनाको समयमै उपचार सम्भव भएको छ।´ डायलाइसिसका लागि पालो नपाउदा कतिपय बिरामीहरु महंगो रुपैयाँ तिरेर निजि अस्पतालबाट सेवा लिन बाध्य थिए ।

डा. सुवेदीका अनुसार, स्वास्थ्य विभागबाट तीनवटा नयाँ मेसिन प्राप्त भएका हुन् भने एउटा मेसिन अस्पतालले आफ्नै स्रोतबाट मर्मत गरी सञ्चालनमा ल्याएको हो । साथै, पुराना बेडहरुको पनि मर्मत र सुधार गरिएको छ, जसले सेवा गुणस्तरमा थप सुधार ल्याएको छ । अस्पतालले डायलाइसिस वार्ड विस्तारसँगै एनआइसीयू (नवजात शिशु गहन उपचार इकाई) क्षेत्रका बेड पनि व्यवस्थित गरेको छ ।

कोभिड महामारीको समयमा सञ्चालन गरिएको पुरानो आइसीयूलाई नयाँ भवनमा सारिएको र त्यहाँको स्थान प्रयोग गरी डायलाइसिस सेवा अझ विस्तारित गरिएको डा. सुवेदीले बताए । नेपालगन्ज र आसपासका जिल्लाबाट दैनिक रूपमा आउने मिर्गौला पीडित बिरामीहरुको चाप बढ्दै जाँदा उपचारको सहज पहुँच चुनौती बनिरहेको बेला भेरी अस्पतालले ल्याएको यो कदम मिर्गौला रोगीहरुका लागि राहतको बनेको हो ।

उपचारका लागि अस्पताल पुगेका स्थानीय मिर्गौला पीडित बिरामीले अस्पतालको सेवा बिस्तारसंगै खुशी मिलेको बताए । एक जना बिरामीले भने-`पहिले डायलाइसिसका लागि हप्तौं पालो कुर्नुपर्थ्यो, अब भने छिटै सेवा पाउन सकिन्छ कि भन्ने आशा जागेको छ ।´भेरी अस्पतालले यसअघि पनि मिर्गौला उपचारका क्षेत्रमा प्रदेशमै भरपर्दो सेवा दिँदै आएको छ । अहिले मेसिन थप हुनु र बेडमा समेत सुधार गरिएसंगै अस्पतालमा डायलाइसिसको क्षमता र पहुँच दुवै गुणात्मक रूपमा सुधारिएको छ ।

यसरी, थप चारवटा डायलाइसिस मेसिनको सञ्चालनले भेरी अस्पताल प्रदेशमै मिर्गौला उपचारका लागि अझ सबल केन्द्रका रूपमा उभिएको छ । जसले बाँकेका मात्र नभएर बर्दिया, सुर्खेत, दाङ र कैलालीसम्मका बिरामीलाई पनि ठूलो राहत दिने अपेक्षा गरिएको छ ।

  • ११ कार्तिक २०८२, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech