तिहारको चिल्लो–गुलियो परिकारले स्वास्थ्य बिगार्न सक्छ

    • स्वास्थ्य पेज

  • ३ कार्तिक २०८२, सोमबार

डा.रवीन्द्र पाण्डे / जनस्वास्थ्य बिशेषज्ञ ।

१. तिहारमा हामीले पकाउने सेल रोटी, फिनी, अर्सा, अनारसा, झिलंगी आदि घ्यू वा तेलमा पकाउने भएकोले त्यसमा स्वभावत: चिल्लो तथा गुलियोको मात्रा धेरै हुन्छ ! चिल्लो तथा गुलियोले कोलेस्टेरोल बढाउँछ, रक्तचाप/ मधुमेह / अम्लपित्त आदिको वृद्धि गर्दछ । तसर्थ अघिपछिको तुलनामा एकैपटक शरीरमा चिल्लो तथा गुलियो बढी नहोस् भनेर सतर्क रहनुहोला ।

२. तेलमा पकाएका खानेकुरा गरिष्ठ हुने भएकोले पचाउन गाह्रो हुन्छ तसर्थ थोरै मात्रामा सेवन गर्नुहोला । अधिक सेवन गर्दा झाडापखाला पनि हुनसक्छ ।

३. सबैभन्दा हानिकारक एनिमल फ्याट अर्थात घिउ र बोसो हुन्छ तसर्थ सकभर तेलमा सेलरोटी पकाउनुहोला । मासु सकभर कुखुरा वा ताजा माछा खानुहोला ।

४. खानेतेलको गुणस्तर राम्रो नभएमा त्यसमा रहेका रसायनले दिर्घकालिन असर गर्दछ । तसर्थ सकभर सुद्ध तोरीको तेल, मकैको तेल, भटमासको तेल वा सूर्यमुखी तेल प्रयोग गर्नुहोला ।

४. सेलरोटी खाँदा फलफुल, सागपात, पानी प्रशस्त सेवन गर्नुहोला ।

५. चियामा हट लेमन सबैभन्दा उपयुक्त हुन्छ यसले चिल्लोलाई काट्न सहयोग गर्दछ ।

६. खालि पेटमा सेलरोटी खाँदा अम्लपित्त अर्थात एसिडिटी बढ्ने भएकोले केहि सादा खाना खाएर मात्र सेलरोटी खानुहोला ।

७. पसिना आउन्जेल ब्यायाम गर्नुहोला वा दैनिक एक घण्टा हिड्नुहोला ।

८. मधुमेह, उच्च रक्तचाप, एसिडिटी आदि भएको व्यक्तिले एकदम थोरै सेलरोटी खानुहोला ।

९. तिहारमा तास खेल्ने परम्परा समेत भएकोले निद्रा पुरा नहुने, शरीरमा पानीको कमहुने, मानसिक तनाव हुने एबं ब्यायाम नहुने भएकोले खेल्नै परेमा समयमा खाना, पानि, निद्रा, ब्यायाम आदिको समेत आफ्नो दैनिकीमा जोड्नुहोला ।

१०. चिल्लो र मदिरा स्वास्थ्यको लागि हानिकारक हुन् । ती दुबैको सेवन गर्दा मुटु, पेट, कलेजो तथा किड्नीको समस्या आउन सक्छ तसर्थ मदिरा सेवन नगर्नुहोला ।

११. लामो समय सेलरोटी पकाउँदा, तेलको दियो वा मैन बत्ति कोठामा बाल्दा स्वासप्रश्वास सम्बन्धि समस्या आउन सक्छ । तसर्थ खुल्ला ठाउँमा पकाउने, बेलाबेला बाहिरको हावामा फ्रेस हुने तथा सुत्ने बेलामा दियो एबम मैन बत्ति निभाउनुहोला ।

१२. तिहारमा प्रयोग गरिने रंगमा बिभिन्न केमिकल मिसाएको हुन्छ । केमिकलको कारण हात, निधार आदिमा एलर्जी हुनसक्छ तसर्थ रंगको प्रयोग निकै कम गर्नुहोला ।

तिहार सकिएपछि एकपटक रक्तचाप, मधुमेह, कोलेस्टेरोल, किड्नी तथा लिभरको फङसन आदि जाँच गराउनुहोला ।

  • ३ कार्तिक २०८२, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech