किन गरिन्छ वाटर थेरापी ?

    • स्वास्थ्य पेज

  • २ कार्तिक २०८२, आईतवार

पञ्चतत्वमध्येको एक तत्व पानी हो । पानीलाई थेरापीको एक तरिकाको रूपमा पनि लिन सकिन्छ । यसमा पानीका विभिन्न रूपको उपयोग गरेर विकारको उपचार गरिन्छ । हाइड्रोथेरापी वा वाटर थेरापी पानीको प्रयोगबाट गरिने एक प्रकारको उपचार पद्धति हो । यस विधिले रोग निको पार्ने र आरामदायी महसुस गराउन मद्दत गर्छ । हाइड्रोथेरापीले मांसपेशी दुख्ने र तनाव कम गर्ने पनि काम गर्छ ।

रोग निको पार्न पानीको प्रयोग गर्ने अभ्यास निकै पुरानो हो । उपचारका लागि पानी प्रयोग गर्ने कला करिब ४५०० वर्षभन्दा पुरानो रहेको छ । विश्वभरका धेरै संस्कृतिमा यो कला उपचारको अभिन्न अंग बनेको छ । ग्रिक, रोमन र इजिप्टियन सभ्यतामा पनि पानीको चिकित्सीय गुणलाई मान्यता दिएको देखिन्छ । उनीहरूले त्यतिवेलाकै समयमा बाथहाउस र स्पाको निर्माण गरेका थिए । यस्तो ठाउँमा मानिसले तातो मुहान र खनिजयुक्त पानीमा आफूलाई डुबाएर पीडा कम गर्ने र आराम प्राप्त गर्ने गर्थे । समयसँगै, हाइड्रोथेरापीका विभिन्न प्रविधिको विकास भयो । स्टिम बाथ, हट कम्प्रेस र वाटर एक्सरसाइजजस्ता विधि यसमा पर्छन् ।

आधुनिक उपचार पद्धतिमा हाइड्रोथेरापीलाई सामान्यतया प्राकृतिक चिकित्सा विभागमा राखेको देखिन्छ । एक्सरसाइज विशेषज्ञ प्राकृतिक चिकित्सक वा थेरापिस्टको निरीक्षणमा गरिन्छ । हाइड्रोथेरापीमा शरीरका भित्री र बाहिरी अंगमा उपचारका लागि आवश्यकताअनुसार तातो वा चिसो पानीको प्रयोग गरिन्छ । तापक्रमको विभिन्न रेन्जमा पानीको प्रयोग गर्न सकिन्छ ।

हाइड्रोथेरापी विज्ञका अनुसार चिसो पानीले हाम्रो रक्तनलीमा संकुचन गराउँछ, जसका कारण रगत शरीरको सतहबाट भित्री अंगमा पुग्छ । चिसो पानी वा आइसले कुनै अंग सुन्निने र त्यहाँ उत्पन्न हुने सुजनलाई कम गर्छ ।

यसैगरी, तातो पानीले हाम्रो रक्तनली फैलाउँछ, जसले पसिना ग्रन्थीलाई सक्रिय पारी शरीरका तन्तुबाट फोहोर बाहिर निकाल्छ । पानीको तापक्रम प्रयोग गरी गरिने हाइड्रोथेरापीको सिद्धान्त पनि यही हो । तातो वा चिसो पानी उपचारको वैकल्पिक प्रयोगले सुजन कम गर्छ । यसबाट रक्त प्रवाह र लिम्फेटिक प्रणाली पनि उत्तेजित हुन्छ ।

हाइड्रोथेरापीले प्रयोग गर्ने अर्को तरिका पानीको दबाब हो । पानीको दबाबले मांसपेशीको मसाज गर्छ र रक्त प्रवाह सुधार गर्छ, जसले हाम्रो शरीरलाई रोगमुक्त पार्न मद्दत गर्छ ।

फाइदा 
हाइड्रोथेरापीले शारीरिक र मानसिक स्वास्थ्य दुवैका लागि लाभ प्रदान गर्छ । पानीको न्यानोपन र उछालले दिमागमा शान्त प्रभाव पारी तनाव र चिन्ता कम गर्छ । हाइड्रोथेरापीले हाम्रो पाचन र मेटाबोलिक दर बढाउँछ । कोशिकाहरूलाई हाइड्रेटेड राख्छ र मांसपेशी र छालाको टोनसमेत सुधार गर्छ । हाम्रा घाइते अंग निको पार्न, जलेको र फ्रस्टबाइट निको पार्न, ज्वरो कम गर्न, सुन्निने र दुखेको मांसपेशी र जोर्नीहरू निको पार्न, टाउको दुख्ने, छालाको समस्या, प्रसव दुखाइ आदि निको पार्न पनि मद्दत गर्छ । हाइड्रोथेरापीका विधिमा हट सावर, कोल्ड कम्प्रेस, स्टिम बाफ, जलीय अभ्यास, कन्ट्रास्ट थेरापी, एनिमा आदि पर्छन् ।

  • २ कार्तिक २०८२, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech