छैठौं वर्षमा स्वास्थ्यपेज: स्वस्थ समाजका लागि स्वास्थ्य पत्रकारिता अपरिहार्य

वार्षिकोत्सव कार्यक्रमका अवसरमा स्वास्थ्यपेज विशेषांक विमोचन


    • स्वास्थ्य पेज

  • १ कार्तिक २०८२, शनिबार

नेपालगन्ज: दिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम छैठौं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा शनिबार वार्षिकोत्सव, स्वास्थ्यपेज विशेषांक विमोचन र अग्रज चिकित्सक सम्मान कार्यक्रम गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि लुम्विनी प्रदेशका स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठले स्वस्थ पत्रकारिता अपरिहार्य रहेको बताइन् । पत्रकारिताका क्षेत्रबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा स्वास्थ्यपेजले अहम् भूमिका निर्वाह गरेको उनको भनाइ छ । लुम्विनी प्रदेश सरकारले आमनागरिकको गुणस्तरीय स्वास्थ्य प्राप्तिका सवालमा प्राथमिकतामा राखेर काम गर्दै आएको सचिव श्रेष्ठले बताइन् ।

लुम्विनी प्रदेशका स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठ

नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाइँले मोफसलको विट पत्रकारिताका क्षेत्रमा स्वास्थ्यपेजले छुट्टै पहिचान कायम गर्न सफल भएको बताए । उनले व्यवसायिक पत्रकारिताका माध्यमबाट स्वास्थ्य क्षेत्रको सम्भावना, समस्याको पहिचान र समाधानको उपायको खोजीका निमित्त विश्वसनीय सामग्री उत्पादन गरेकै कारण छोटो समयमै स्वास्थ्यपेज स्थापित भएको बताए ।

नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाइँ

भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदीले मोफसलको पत्रकारिता यसैपनि चुनौतीपूर्ण रहेको बेला स्वास्थ्यपेजले विट पत्रकारिताको मानक स्थापित गरेको बताए । नेपाल चिकित्सक संघ भेरीका अध्यक्ष डा.रुपानन्द अधिकारीले स्वास्थ्यका विषयमा कमै समाचार बन्ने गरेको अवस्थामा स्वास्थ्यकै विटमा पत्रकारिता गर्नु सम्पूर्ण स्वास्थ्यकर्मीका लागि सुखद भएको बताए ।

नेपाल चिकित्सक संघ भेरीका अध्यक्ष डा.रुपानन्द अधिकारी

दिर्घायु हाउस प्रालिका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा भएको कार्यक्रममा पश्चिम नेपालमा निजी मेडिकल कलेजका सूत्रधार डा.सुरेश कुमार कनोडिया, लुम्विनी प्रदेश स्वास्थ्य मन्त्रालयका वरिष्ठ नर्सिङ प्रशासक इश्वरी केसी, बर्दिया अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ड डा.सुभाष पाण्डे, सम्पूर्ण नर्सहरुको तर्फबाट नर्सिङ संघ बाँकेका अध्यक्ष शिला शर्मा, सम्पूर्ण औषधि व्यवसायीको तर्फबाट औषधि व्यवसायी संघ बाँकेका अध्यक्ष जयदेव अवस्थी, सम्पूर्ण पालिकाका स्वास्थ्य शाखाको तर्फबाट राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र कुमार केसी, उपभोक्ता हित संरक्षण मंचका केन्द्रीय सचिव वसन्त गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए । वार्षिकोत्सवमा कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठ लगायतले स्वास्थ्यपेज विशेषांकको विमोचन समेत गरेका थिए ।

त्यसैगरी यो वर्ष अग्रज चिकित्सक सम्मानबाट बरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा.विनोद थापालाई सम्मानित गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले खादा र कदरपत्रले सम्मानित गरिन् । त्यसक्रममा डा.थापाले स्वास्थ्यपेज सबै स्वास्थ्यकर्मीको आफ्नै हो भन्ने भावना जागृत हुनुपर्ने बताए ।

बरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा.विनोद थापालाई सम्मान

पाँचौं वार्षिकोत्सवमा डा.सुरेश कुमार कनोडियालाई सम्मानित गरिएको थियो । स्वास्थ्यपेज डटकमका प्रधान सम्पादक समेत रहेका नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले स्वागत गरेको उक्त कार्यक्रमको संचालन भने समिरमान श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा यसक्षेत्रका अग्रज चिकित्सक, स्वास्थ्यकर्मी, अस्पताल संचालक, अग्रज पत्रकार लगायत सहभागि थिए ।

तस्बिरहरु:

  • १ कार्तिक २०८२, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech