नेपालगन्जः देशभर जाडो मौसम सुरु हुन लागेसँगै तापक्रम क्रमशः घट्दै गएको छ। बिहान–बेलुकाको हावा चिसिन थालेको र हुस्सु देखिन थालेपछि चिकित्सकहरूले अबदेखि नै सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन्।
विशेषज्ञहरूका अनुसार चिसो बढ्दै जाँदा श्वासप्रश्वाससम्बन्धी रोग, रुघाखोकी, निमोनिया, दम, एलर्जी, छालासम्बन्धी समस्या र ज्वरो–घाँटी दुख्ने संक्रमणको जोखिम बढ्ने गर्दछ।
नेपालगन्जको हावा पहिले नै प्रदूषित र सुख्खा भएकाले जाडोमा यसको असर दोब्बर हुन्छ। श्वासप्रश्वाससँग सम्बन्धित समस्या भएका बिरामीलाई चिसो मौसम धेरै चुनौतीपूर्ण हुने गर्छ ।
‘जाडोमा हावामा धुलो र धुवाँको मात्रा बढ्छ, जसले सास फेर्न गाह्रो हुने समस्या निम्त्याउँछ। दम र एलर्जी भएका बिरामीहरू विशेष जोखिममा हुन्छन्,’ नेपालगन्ज सञ्जीवनी मेडिकल कलेजका कन्सल्टेन्ट फिजिसियन डा.सुभाष योगीले भने । चिसोमा हावाले नाक, घाँटी र फोक्सोको सतह सुकाउने भएकाले भाइरस छिटो फैलिने अवस्था बनाउँछ।
चिसोमा बढ्ने सम्भावित रोग
रुघाखोकी र ज्वरो – भाइरल संक्रमणका कारण प्रायः सबै उमेरका मानिस प्रभावित।
निमोनिया र ब्रोन्काइटिस – बालबालिका र वृद्धबृद्धामा बढी देखिने समस्या।
दम र एलर्जी – प्रदूषण र धुलो मिसिएको चिसो हावाले समस्या चर्काउँछ।
छालाको सुख्खापन र चिलाउने समस्या – शरीरको आर्द्रता कम हुँदा छाला फाट्ने, चिलाउने समस्या।
जोर्नी दुख्ने – जोर्नी दुख्ने समस्या पनि जाडोमा धेरै देखिन्छ । उमेर ढल्किँदै गएपछि यो समस्या थप देखिने गर्छ ।
बच्न अपनाउनुपर्ने उपाय
चिकित्सकहरूका अनुसार, सामान्य सावधानी अपनाएर जाडोका धेरै रोगहरूबाट जोगिन सकिन्छ।
बिहान–साँझ अत्यधिक चिसोमा बाहिर ननिस्कनु,
तातो कपडा, टोपी, मोजा र मफ्लर प्रयोग गर्नु,
पर्याप्त पानी र तातो सूप–पानी सेवन गर्नु,
घरभित्र हावा सर्किन दिने र सफा राख्ने,
बालबालिका र वृद्धको हेरचाहमा ध्यान दिने।
सामान्य रुघाखोकी वा ज्वरो लामो समय रह्यो भने आफैं औषधि नखाई चिकित्सकसँग परामर्श लिनुपर्ने चिकित्सकले सुझाएका छन् । जाडो मौसम केवल कपडामा मात्र होइन, शरीर र रोगप्रतिकार क्षमतामासमेत प्रभाव पार्ने समय हो। विशेषगरी नेपालगन्जको प्रदूषित हावामा बस्नेहरूले सावधानी नअपनाए सामान्य रुघाखोकीदेखि निमोनियासम्मका रोगको जोखिम बढ्न सक्छ।








