नेपालगन्जः पश्चिम नेपालकै पहिलो कान समर्पित अस्पताल ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको १५औं र १६औं वार्षिक साधारणसभा तथा अधिवेशन शनिबार नेपालगन्जमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष बिमल टण्डनले गरेका थिए भने प्रमुख अतिथि वरिष्ठ अधिवक्ता भोलासिंह हमाल रहेका थिए । अध्यक्ष टण्डन र अधिवक्ता हमालले कान स्वास्थ्यको उपचार र परामर्शमा ब्रिनोजले यसक्षेत्रका नागरिकहरुलाई ठूलो लाभ दिएका बताए ।
कान उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्यका लागि अझ यसलाई स्तरीय बनाउन पहल गर्ने विश्वास समेत उनीहरुले दिलाए । यहाँ दैनिक करिब डेढ सय बिरामीले ओपीडी सेवा लिने गरेका छन्, जसमा ३० प्रतिशतभन्दा बढी भारतीय नागरिक हुने जनाइएको छ । पछिल्लो समय अस्पतालले ओपीडी सेवासँगै विशेषज्ञ चिकित्सकमार्फत शल्यक्रिया सेवा पनि सञ्चालन गर्न थालेको छ । अस्पतालले ग्रामीण तथा सीमावर्ती क्षेत्रका कान सम्बन्धी समस्या भएका बिरामीलाई सुलभ र गुणस्तरीय सेवा दिँदै आएको छ ।
स्थापना कालदेखि नै ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाले नेपालगन्ज मात्र होइन, बाँके, बर्दिया, सुर्खेत, दाङ र भारतको उत्तर प्रदेशसम्मका बिरामीलाई सेवा पुर्याउँदै आएको छ । स्थानीयको सहभागिता र चिकित्सकको समर्पणकै कारण संस्थाले स्वास्थ्य सेवाको सुदृढीकरणमा महत्वपूर्ण योगदान दिँदै आएको अध्यक्ष टण्डनले बताए ।
कार्यक्रमका क्रममा संस्थाका प्रवन्धक चेतनारायण चौधरीले संस्थाको २०८०–८१ र २०८१–८२ सालको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक विवरण प्रस्तुत गरे । उनले विगत दुई वर्षमा संस्थाले सेवा विस्तार, बिरामी संख्या वृद्धि, शल्यक्रिया सेवा सञ्चालन लगायतका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको जानकारी दिए । कार्यक्रममा आजीवन सदस्य रामु जोशी र अर्का आजीवन सदस्य अभिनाश चौधरीले मन्तव्य दिएका थिए ।
यसैबीच अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ । संस्थाका १९ जना सदस्यहरूबाट ९ जना कार्यसमिति सदस्य चयन गर्ने परम्परा अनुसार, सोही ९ सदस्यहरूमध्येबाट नयाँ कार्यसमिति गठन गरिएको हो । अध्यक्षमा पुनः बिमल कुमार टण्डन चयन भएका छन् ।
त्यसैगरी, उपाध्यक्षमा राहुल टण्डन, सचिवमा प्रदीप शाह, सहसचिवमा रोजी बोस, कोषाध्यक्षमा सन्तोष कुमार कनोडिया चयन भए । यस्तै सदस्यहरूमा अभिनाश चौधरी, रामशरण चौधरी, रौनक अली र दिनेशकुमार बैश्य चयन भए । वार्षिक साधारणसभाले संस्थाको भविष्यको दिशालाई अझ स्पष्ट बनाउँदै समुदायप्रति उत्तरदायित्व दोहोर्याएको छ ।








