हरेक वर्ष मनाइने राष्ट्रिय कण्डम दिवसले हामी सबैलाई सुरक्षित यौन व्यवहार, जिम्मेवार सम्बन्ध र स्वास्थ्यप्रति सचेत रहन प्रेरित गर्छ। कण्डम सानो देखिए पनि यसको महत्व अत्यन्त ठूलो छ। यसले एचआईभी, यौनजन्य रोगहरू (STIs) र अप्रत्याशित गर्भधारणबाट बचाउँछ।
कण्डम सजिलो, सस्तो र प्रभावकारी गर्भनिरोधक उपाय हो जसले शारीरिक मात्र होइन, भावनात्मक सुरक्षा पनि प्रदान गर्छ। सहि तरिकाले र प्रत्येक यौन सम्पर्कमा प्रयोग गर्दा पुरुष कण्डम करिब ९८ प्रतिशत, र महिला कण्डम करिब ९५ प्रतिशतसम्म प्रभावकारी हुन्छ।
कण्डम प्रयोगका धेरै फाइदाहरू छन्। यसले एचआईभी र अन्य यौनजन्य संक्रमणहरूबाट जोगाउँछ, परिवार नियोजनमा सहयोग पुर्याउँछ, हर्मोनल औषधीजस्तो साइड इफेक्ट यसको हुँदैन, र सजिलै स्वास्थ्य संस्था वा फार्मेसीमा उपलब्ध हुन्छ।
कण्डमले Human Papillomavirus (HPV) संक्रमण रोक्न मद्दत गर्छ, जसले गर्दा गर्भाशयको मुखको क्यान्सर (Cervical Cancer) हुनबाट महिलालाई सुरक्षा प्रदान गर्छ। त्यसैले, कण्डम प्रयोग केवल रोग रोकथामका लागि मात्र नभई महिलाको दीर्घकालीन स्वास्थ्यका लागि पनि अत्यन्त महत्वपूर्ण छ।
कण्डम प्रयोग गर्नु कमजोरी होइन —यो आफू र आफ्नो पार्टनरप्रति सम्मान, माया र जिम्मेवारीको प्रतीक हो। कण्डम प्रयोग गर्दा ध्यान दिन पर्ने कुराहरु – कण्डमको म्याद (expiry date) हेर्ने ,प्याकेट सावधानीपूर्वक खोल्ने, सम्पर्क अघि सही तरिकाले लगाउने, एउटा कण्डमलाई एक पटक मात्र प्रयोग गर्ने, र प्रयोग पछि सुरक्षित रूपमा बिसर्जन गर्ने ।
नेपाल सरकार र AHF Nepal ले देशभरका ART केन्द्रहरूमा निःशुल्क रूपमा कण्डम वितरण गर्दै आएको छ। यसले सेवाग्राहीलाई सुरक्षित यौन व्यवहारमा प्रोत्साहित गर्न, एचआईभी र अन्य यौनजन्य संक्रमणहरू रोकथाम गर्न, र स्वस्थ समाज निर्माणमा ठूलो योगदान पुर्याएको छ।
आजको दिनमा, हामी सबैले कण्डमको प्रयोगलाई सामान्य, सुरक्षित र गर्वको विषय बनाउने संकल्प गरौं। सुरक्षित सम्बन्ध, स्वस्थ जीवन र सुखी परिवार हाम्रो अधिकार हो।
(भट्टराई, भेरी अस्पतालस्थित एएफएच नेपालका काउन्सिलर हुन्)








