कोहलपुरः पछिल्लो समय नसर्ने रोगका कारण मृत्यु हुने दर तीव्ररुपमा बढ्दै गएको छ। हृदयाघात, मधुमेह, रक्तचाप, क्यान्सर, फोक्सोको रोग, मस्तिष्कघातजस्ता रोगहरु नेपालमा मात्र होइन, विश्वभर सार्वजनिक स्वास्थ्यका ठूला चुनौती बनेका छन्।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका कन्सल्टेन्ट फिजिसियन डा.शिशिर रेग्मीका अनुसार अस्वस्थ आहार, शारीरिक निष्क्रियता, अत्यधिक तनाव र धूम्रपान–मद्यपान जस्ता जीवनशैलीका कारण नसर्ने रोग तीव्र रुपमा फैलिँदै छन्।
कन्सल्टेन्ट फिजिसियन डा. रेग्मी नसर्ने रोगको बढ्दो प्रभावले मानव स्वास्थ्यलाई जटिल बनाउँदै लगेको बताउँछन् । उनी भन्छन्–‘जीवनशैली बदलिँदै गएको छ । मानिसहरु मेशिनजस्तै दौडिरहेका छन्, तर शरीरको आवाज सुन्न बिर्सिएका छन् ।’
उनका अनुसार, हाल आफ्नो ओपीडीमा आउने अधिकांश बिरामी नसर्ने रोगका छन् । सुगर, प्रेसर, दम र मुटुरोग । आधुनिकताले सुविधा त ल्यायो, तर स्वास्थ्यमा असन्तुलन पनि ल्यायो । उनी थप्छन्–‘अस्वस्थ खानपिन, पर्याप्त व्यायामको अभाव र तनाव–यी नै हाम्रो शरीरका मौन शत्रु हुन् ।’
नियमित शारीरिक व्यायाम, सन्तुलित आहारको प्रयोग, धूम्रपान र मद्यपानबाट टाढा रहने, मानसिक स्वास्थ्य र तनाव व्यवस्थापन, नियमित स्वास्थ्य परीक्षण गर्न सकियो भने नसर्ने रोगको प्रभाव घटाउन सकिने उनी बताउँछन् ।
उनको भनाइमा,उपचारभन्दा पनि जीवनशैली सुधार नै दीर्घ समाधान हो । बिहानको सानो हिँडाइ, सन्तुलित आहार र आत्मिक शान्ति–यी नै रोगविरुद्धका सशक्त औषधि हुन् ।
डा.रेग्मीका अनुसार- ‘नसर्ने रोग नामले नसर्ने भए पनि यसको कारण भने हाम्रो व्यवहार र जीवनशैलीसँग प्रत्यक्ष सम्बन्धित हुन्छ। त्यसैले नियन्त्रणका लागि सचेत जीवनशैली अत्यावश्यक छ।’
को हुन् डा.शिशिर

दाङको हरियो फाँटबीच लमही नगरपालिका–१ सुन्डवरीमा २०३९ सालमा जन्मिए डा.शिशिर रेग्मी । बुवा अरुण रेग्मी र आमा ज्ञानु रेग्मीको ममतामयी कोखबाट जन्मिएका उनी परिवारका जेठा सन्तान थिए । हजुरबुवा माधवप्रसाद शर्माको शिक्षण–संस्कार र परिवारको अध्ययन–परम्पराले उनको बालमस्तिष्कमा एउटा स्वप्न रोप्यो–‘म मानिसको पीडा घटाउने बन्छु, डाक्टर बन्छु ।’
बाल्यकालको हिलोमैलोसँगै उनको भविष्यको सपना पनि बढ्दै गयो । बुवाको सरकारी सेवाको यात्राले शिशिरलाई एउटा स्थायी गाउँमा होइन, सहरसम्म यात्रा गर्न सिकायो । सुर्खेतको आदर्श मेमोरियलमा कक्षा २ सम्म अध्ययन गरेपछि काठमाडौंको सिद्धार्थ वनस्थली स्कुलमा उनको विद्यार्थी जीवन फस्टायो । त्यही स्कुलमा उनले कक्षा ३ देखि १० सम्म पढे । २०५४ सालमा एसएलसी पास गरेपछि, २०५७ मा आइएस्सी पनि त्यहीँबाट उत्तीर्ण गरे–उत्साह, लगन र लक्ष्यसहित । यात्रा यतिमै रोकिने थिएन । उनको मनमा एउटा नयाँ संसारको ढोका खुल्दै थियो–चीन । सन् २००२ (२०५९ साल) मा उनले त्यहाँको मेडिकल विश्वविद्यालयको यात्रातर्फ पाइला टेके ।
प्रदेशको कठिन भाषाबीच पनि उनले आफ्नो सपना गर्मजोसीका साथ जोगाए । पाँच वर्षपछि, सन् २००७ (२०६४ साल) मा उनी ‘डाक्टर शिशिर रेग्मी’ को पहिचानसहित मातृभूमिमा फर्किए । नेपाल फर्किएपछि उनको उपचार–यात्रा सुरु भयो–आर्मी अस्पतालदेखि प्रसूति गृह, कान्ति बाल अस्पतालदेखि लुम्बिनी अञ्चल अस्पतालसम्म । प्रत्येक बिरामीको आँखामा उनले जीवनप्रतिको आशा देख्थे । ‘रोगसँग होइन, आशासँग लड्नुपर्छ,’ भन्ने उनको मन्त्र थियो । समयले उनलाई अझ परिपक्व बनायो । भैरहवा मेडिकल कलेजबाट एमडी पुरा गरेपछि, २०७४ सालदेखि उनी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा कन्सल्टेन्ट फिजिसियनका रुपमा कार्यरत छन् ।
यहाँका बिरामीका लागि उनी केवल डाक्टर मात्र होइनन्, आशाको ज्योति हुन् । डा. रेग्मीको व्यक्तित्वको अर्को विशेषता भनेको उनको विनम्रता हो । सादा जीवन, उच्च विचार उनको परिचय हो । हजुरबुवाले भनेका थिए–‘शिशिर, तिमी डाक्टर बन्नु पर्छ–बिरामीको सेवा गर्नुपर्छ ।’ त्यो वाक्य उनको जीवनको दिशानिर्देशक दीपक बन्यो । आज पनि कोहलपुरको बिहान सुर्योदयसँगै, अस्पतालको ओपीडीमा उनी शान्त मुद्रामा बिरामी सुन्दै देखिन्छन् ।
कहिलेकाहीँ थाकेका आँखामा पनि उनको अनुहारमा शान्त हाँसो झल्किन्छ–त्यो हाँसो उपचारको पहिलो डोज हो, जसले बिरामीको मनमा आशाको किरण बाल्छ । मेडिकल कलेजमा पूर्णकालीन सेवा दिँदै आएका उनी कोहलपुरमा अन्य क्लिनिकहरुमा पनि प्रयाक्टिस गर्छन् ।









