पछिल्लो समय खाडी मुलुक र मलेसिया जानेहरूमा मिर्गौला बिग्रिने समस्या देखिन थालेको छ। तर विदेश नगएकाहरूमा पनि धेरै समस्या देखिएको छ।
अहिले नेपालभर करिब ९० वटा डायलासिस सेन्टर छन्। त्यहाँ डायलासिस गरेका बिरामी संख्या गणना गर्दा लगभग ३० प्रतिशत बिरामी विदेश गएर आएकाहरू भेटिन्छन्। नेपालमा यसको आधिकारिक गणना भने छैन।
तीमध्ये अधिकांश मध्यपूर्वका देशहरू — साउदी अरब, युएई, कतार, कुवेत, ओमान, बहराइन — सहित मलेसियाबाट आएकाहरू छन्। अन्य देशबाट फर्किनेहरूमा भने विरलै मात्र यस्तो समस्या देखिन्छ।
विभिन्न अनुसन्धानले देखाए अनुसार विदेशमा काम गरेर आएका ५.६ प्रतिशतमा कुनै न कुनै कारणले मिर्गौलाको रोग देखिएको छ। विदेश गएर नेपाल फर्किने ०.४ प्रतिशतको मिर्गौला फेल भएको छ।
नेपालकै ३८ जना नेफ्रोलोजिस्टहरूको अध्ययन अनुसार विदेश गएर आउने ७०–७५ प्रतिशत बिरामीमा मिर्गौला र मिर्गौलासँग सम्बन्धित कुनै न कुनै समस्या देखिएको छ। यो भनेको अति सामान्यदेखि जटिलसम्मको समस्या भन्न खोजिएको हो।
खाडी मुलुक र मलेसिया जानेहरूमा मिर्गौलाको समस्या देखिने कारण यस्ता छन्-
-ती देशहरूमा काम गर्ने एकदमै अप्ठ्यारो स्थिति वा वातावरण।
-धेरै गर्मी हुनु र गर्मी ठाउँमा काम गर्दा डिहाइड्रेसनको समस्या हुनु।
-शरीरमा कुनै न कुनै दुखाइ हुँदा लगातार पेनकिलर खाइरहनु।
-पानी कम र जुस, पेयपदार्थ, जंक फुड धेरै खानु।
हामीकहाँ आउने बिरामीमध्ये २० देखि ३० प्रतिशत बिरामी विदेश गएर आएका हुन्छन्। उनीहरू शरीरमा केही अप्ठ्यारो भएर वा कुनै लक्षण देखिएर आएका हुन्छन्। कतिपय त विदेशमै मिर्गौला फेल भएको थाहा पाउँछन् अनि नेपाल आउँछन्।
उनीहरूसँग मैले कुरा पनि गरेको हुन्छु।
उनीहरू भन्छन्, ‘नेपालमा स्वास्थ्य परीक्षण गर्दा सबै ठीक थियो। त्यहाँ गएर काम गर्दागर्दै एकदमै टाउको दुख्यो। जाँच्दा ब्लड प्रेसर बढेको भेटियो। रगत जाँचेर अन्य परीक्षण गर्दा मिर्गौलामा समस्या छ भन्यो।’
कम्पनीले स्वास्थ्य बीमा नगरिदिने र उपचारमा समेत चासो नदिँदा बाध्य भएर उनीहरू नेपाल फर्किनुपर्छ। सामान्य बिरामको उपचार गरिदिए पनि कम्पनीहरूले जटिल समस्याको उपचार गर्न मान्दैनन्। धेरै लाग्ने भएकाले यस्ता बिरामी फर्केर जाऊन् भन्ने चाहन्छन्।
हुन त खाडी मुलुक वा मलेसियामै नभए पनि, गर्मी ठाउँमा नबसे पनि, डिहाइड्रेसन नभए पनि, दुखाइ कम गर्ने औषधि नखाए पनि मिर्गौलामा समस्या हुन सक्छ।
यस्तोमा मधुमेह प्रमुख कारण हो। त्यस्तै उच्च रक्तचाप, ग्लोमेरूलोनेफ्राइटिस भन्ने अटो–इम्युन डिजिज हो। पिसाबमा फिँज आउन थाल्यो, पिसाबमा प्रोटिन देखिन थाल्यो, अनावश्यक रूपमा मोटाउन थाल्यो तर खाना रूचेन भने हामी यसको परीक्षण गर्छौं।
जन्मजात कारण पनि हुन सक्छ। विभिन्न कारणले गर्दा जन्मैदेखि मिर्गौलामा समस्या देखिएको हुन्छ। त्यस्तै पेनकिलरको धेरै प्रयोगले मिर्गौलामा पत्थरी पनि हुन सक्छ।
विदेश जानेले जुस, चिसो पेय पदार्थ र जंक फुड धेरै खान्छन्, जसले गर्दा मिर्गौलाको समस्या देखिन्छ।
मिर्गौला बिग्रिने अर्को कारण मदिरा सेवन पनि हो। मध्यपूर्वका देशहरूमा मदिरा सेवन गर्न पाइँदैन। तर केही समयअघि मात्र कुवेतजस्तो देशमा विषाक्त मदिरा सेवन गरेर केही नेपालीको ज्यान गयो। यसले के देखाउँछ भने लुकिछिपी भए पनि मदिरा सेवन गरिन्छ।
कतिपय अवस्थामा भने स्वस्थ रहन सतर्कता अपनाएर मात्र हुँदैन। जस्तो, गर्मी तापक्रममा काम गर्नुपर्ने बाध्यता हुन सक्छ।
घरभित्र उपयुक्त तापक्रममा काम गर्नेलाई शरीर दुख्ने समस्या कम हुन सक्छ। यसले गर्दा उनीहरूले पेनकिलर लिने सम्भावना पनि कम रहन्छ। हरेक व्यक्तिले काम गर्ने वातावरण आफैले छान्न सक्छ भन्ने त हुँदैन।
यसका बाबजुद मिर्गौला जोगाउन समय समयमा शरीर परीक्षण गर्नुपर्छ। रक्तचाप पनि परीक्षण गर्नुपर्छ। प्रशस्त पानी पिउनुपर्छ। कुनै रोग लागेको छ भने त्यसको औषधि नियमित रूपमा लिनुपर्छ। मिर्गौलामा समस्या आउनासाथ डायलाइसिस र प्रत्यारोपणको स्थितिमा जानुपर्छ भन्ने होइन। सुरूमै थाहा भयो भने यसलाई औषधिले निको पार्न सकिन्छ।
त्यसैले सामान्यतया वर्षमा एक पटक मिर्गौला परीक्षण जरूरी छ। जिउ दुख्ने, खाना नरूच्ने, आलस्य हुने, काम गर्न मन नलाग्ने लगायत लक्षण बारम्बार देखिए अलि धेरै पटक परीक्षण गर्नुपर्ने हुन सक्छ।