भारतमा कफ सिरप सेवनबाट बालबालिकाको मृत्युपछि नेपालमा औषधि सुरक्षा कडाइ गर्न फार्मेसी संघको आग्रह

    • स्वास्थ्य पेज

  • २२ आश्विन २०८२, बुधबार

नेपालगन्जः भारतका मध्य प्रदेश र राजस्थानसहितका विभिन्न राज्यमा खोकीको औषधि (कफ सिरप) सेवनका कारण बालबालिकाको मृत्यु भएको घटनाले नेपालमा समेत औषधि सुरक्षाप्रति चिन्ता बढेको छ। यसै सन्दर्भमा नेपाल फार्मेसी संघ (Pharmacy Association of Nepal – PhAN) ले एक विज्ञप्ति जारी गर्दै नेपालमा कफ सिरपसहितका औषधिहरूको गुणस्तर, प्रभावकारिता र स्रोतको निगरानी कडाइका साथ गर्न सरकारलाई आग्रह गरेको छ।

संघले औषधि व्यवस्था विभागका महानिर्देशकलाई सम्बोधन गर्दै भारतमा भएका घटनाले नेपालमा पनि औषधि सुरक्षासम्बन्धी जोखिम बढ्न सक्ने भएकाले तुरुन्त कदम चाल्न सुझाव दिएको हो। संघका अध्यक्ष युवराज भुसालले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा नेपालमा आयात हुने भारतीय औषधिहरूको गुणस्तर परीक्षणमा उच्च सतर्कता अपनाउन जोड दिइएको छ।

संघले स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभागले तत्काल औषधिको गुणस्तर परीक्षण, निगरानी र सिफारिस प्रणालीलाई कडाइ गर्नुपर्ने आवश्यकता औंल्याएको छ। साथै, आयातकर्ताहरूले ल्याउने औषधि वितरणअघि नै प्राविधिक परीक्षण सुनिश्चित गर्नुपर्नेमा संघले जोड दिएको छ।

 विज्ञप्तिमा भनिएको छ, “नेपालमा पनि भारतीय औषधिहरूको परीक्षण परिणाम सार्वजनिक पारिनुका साथै, सिफारिस र वितरण प्रक्रियामा पारदर्शिता ल्याउन आवश्यक छ। भावीमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायबीच समन्वय र वैज्ञानिक निगरानी प्रणाली सुदृढ गर्नुपर्छ।”

संघले निम्न पाँच बुँदामा तत्काल ध्यान दिन आग्रह गरेको छ:
१. नेपालमा आयात हुने भारतीय कफ सिरपसहितका औषधिहरूको गुणस्तर र प्रभावकारिताको अनुगमन गर्न।
२. स्वास्थ्य मन्त्रालयले परीक्षण परिणाम सार्वजनिक गरी सर्वसाधारणमा पारदर्शिता ल्याउन।
३. औषधि आपूर्तिकर्ता र वितरकहरूबीच जिम्मेवारी निर्धारण गरी निगरानी प्रणालीलाई मजबुत बनाउन।
४. औषधिको दुरुपयोग रोक्न नियमनात्मक कदम चाल्न।
५. भविष्यमा यस्ता घटनाबाट बच्न नीति, कानुन र तालिमका माध्यमबाट स्वास्थ्यकर्मीको दक्षता बढाउन।

संघले औषधि सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्न पनि सम्बन्धित निकायलाई आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ, “औषधिको अनियन्त्रित प्रयोग वा गुणस्तरहीन उत्पादनले बालबालिकाको जीवन जोखिममा पार्न सक्छ, त्यसैले समयमै प्रभावकारी कदम आवश्यक छ।” नेपाल फार्मेसी संघले औषधि नियमन, जनसुरक्षा र जिम्मेवार औषधि वितरण प्रणालीमा सरकारसँग सहकार्य गर्न तत्पर रहेको जनाएको छ।

May be an image of text

  • २२ आश्विन २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech