नेपालगन्जः भारतको मध्य प्रदेश र राजस्थानमा कफ सिरप सेवनका कारण कम्तीमा १८ बालबालिकाको मृत्यु भएको छ। पाँच वर्षमुनिका ती बालबालिकाले खोकी र रुघाको उपचारका लागि दिइएको सिरप सेवन गरेका थिए।
भारतीय सञ्चारमाध्यमका अनुसार मृतक बालबालिकाले सेवन गरेको ‘कोल्ड्रिफ’ नामक कफ सिरपमा अत्यधिक मात्रामा विषाक्त रसायन डाइथिलिन ग्लाइकोल (DEG) पाइएको छ। उक्त रसायनको मात्रा सुरक्षित सीमाभन्दा करिब ५०० गुणा बढी रहेको अनुसन्धानमा खुलेको हो।
भारतको तामिलनाडुस्थित स्रेसन फर्मा नामक औषधि कम्पनीले उत्पादन गरेको उक्त सिरपमा डाइथिलिन ग्लाइकोलको ४८.६ प्रतिशत मात्रा भेटिएको जनाइएको छ। यो रसायन शरीरमा प्रवेश गरेपछि मिर्गौला र कलेजोमा गम्भीर असर पुर्याउँछ, जसले गर्दा बालबालिकाको मृत्यु भएको बताइन्छ।
घटनापछि भारतमा प्रहरी प्रशासनले औषधि प्रेस्क्राइब गर्ने चिकित्सकदेखि उत्पादन कम्पनीका सञ्चालकसम्मलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। भारतीय अधिकारीहरूले बजारमा उपलब्ध उक्त सिरप तुरुन्त फिर्ता गर्ने प्रक्रिया सुरु गरेको जनाएका छन्।
नेपालमा भने यस औषधि उपलब्ध नभएको औषधि व्यवस्था विभागले स्पष्ट पारेको छ। विभागका महानिर्देशक नारायण ढकालका अनुसार ‘कोल्ड्रिफ’ नामक सिरप नेपालमा दर्ता नै नभएकाले बिक्री वितरण गर्न पाइँदैन।
उनले भने, “उक्त औषधि नेपालमा दर्ता भएको छैन, त्यसैले बजारमा पाइँदैन। भारतमा भएको घटनापछि चासो बढेकाले विभाग यस विषयमा सूचना सार्वजनिक गर्ने तयारीमा छ।”
भारतमा उत्पादन हुने कफ सिरपमा यसअघि पनि यस्ता समस्या देखिएका थिए। दुई वर्षअघि भारतीय कम्पनीले उत्पादन गरेको चारवटा ब्रान्डका कफ सिरप सेवनपछि गाम्बियामा ६६ बालबालिकाको मृत्यु भएको थियो। ती औषधिहरू पनि नेपालमा उपलब्ध नभएको विभागले जनाएको छ।
औषधि नियामक निकायहरूका अनुसार, डाइथिलिन ग्लाइकोल सामान्यतया औद्योगिक प्रयोगका लागि हुने र मानव शरीरका लागि अत्यन्त विषाक्त रसायन हो। यस्तो पदार्थ सानो मात्रामा पनि शरीरमा पुगेमा मिर्गौला फेल, कलेजो क्षति, दृष्टि समस्या र अन्ततः मृत्यु समेत हुन सक्छ।
हाल भारतीय स्वास्थ्य मन्त्रालयले सिरप उत्पादन गर्ने स्रेसन फर्माको उत्पादन अनुमति निलम्बन गर्दै थप अनुसन्धानका लागि प्रयोगशाला परीक्षण अघि बढाएको छ। मृतक बालबालिकाका परिवारले भने दोषीहरूलाई कडा कारबाही गर्न माग गरेका छन्।
नेपालमा औषधि नियमन कडा बनाउने र आयातित औषधिको गुणस्तर जाँचलाई अझ सशक्त बनाउने सुझाव पनि स्वास्थ्य विशेषज्ञहरूले दिएका छन्।