नेपालगन्ज: भेरी अस्पतालले भोलिदेखि सबै स्वास्थ्य सेवा पुनः नियमित रूपमा सञ्चालन गर्ने भएको छ।
अस्पतालले आइतबार एक सूचना जारी गर्दै गृह मन्त्रालयबाट प्राप्त पत्रको आधारमा भोलिदेखि ओ.पी.डी लगायत सम्पूर्ण सेवा पूर्वनिर्धारित समयअनुसार सञ्चालन हुने जनाएको छ।
भेरी अस्पतालको सूचनामा भनिएको छ, “गृह मन्त्रालयको मिति २०८२ असोज १९ गतेको पत्र अनुसार अब जोखिम तथा प्रतिकार्यमा संलग्न नभएका जिल्लाहरूले सार्वजनिक सेवा सञ्चालन गर्न सक्ने व्यवस्था भएकाले भेरी अस्पतालबाट असोज २० गतेदेखि सम्पूर्ण सेवा सुचारु हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गर्दछौं।”
अस्पतालले विगत केही दिनदेखि सीमित रूपमा सञ्चालन भइरहेका केही सेवाहरू पनि अब नियमित हुने छ।
गृह मन्त्रालयको पत्रमा विपद् जोखिम तथा प्रतिकार्यमा संलग्न नभएका जिल्लाहरूमा सार्वजनिक सेवा सञ्चालन गर्न निर्देशन दिइएको छ। सोही निर्णयअनुसार भेरी अस्पतालले पूर्ण सेवा सञ्चालनको तयारी गरेको हो ।