दशैंको रमझम सुरु भइसकेको छ। यो पर्व हर्ष र उल्लासको मात्र नभई मासुका परिकारहरूको पनि पर्व हो। दशैंमा मासुको उपभोग गर्दा हामीले स्वास्थ्यलाई पनि प्राथमिकता दिनु जरुरी छ।
मासु पूर्ण प्रोटिनको ठुलो स्रोत हो। संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका अनुसार, मासुमा उच्च गुणस्तरको प्रोटिन हुन्छ, जसले मांसपेशी निर्माण, तन्तुको मर्मत र रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ। यसबाहेक, मासुमा आइअन, जिंकर भिटामिन बी–१२ जस्ता अत्यावश्यक पोषक तत्त्वहरू पनि पाइन्छन्, जुन अन्य खाद्य पदार्थहरूमा कम हुन्छन्।
पछिल्ला वर्षहरूमा नेपालमा मासुको प्रतिव्यक्ति खपत बढिरहेको छ। पशु सेवा विभागको तथ्यांकअनुसार, नेपालीहरूले प्रतिव्यक्ति वार्षिक करिब १९ किलोग्राम मासु उपभोग गर्छन्। मासुको उपभोग बढे तापनि हामीले मासुको गुणस्तरमा ध्यान दिनुपर्ने हुन्छ।
दशैंमा अक्सर खसी र राँगाको मासु लोकप्रिय मानिन्छ । यद्यपि, कुखुराको मासु (चिकेन) र बंगुरको मासु पनि निकै बढी उपभोग हुन्छ। कुखुराको मासुमा कम बोसो र उच्च प्रोटिन हुन्छ, जसले यसलाई स्वस्थकर बनाउँछ। पछिल्लो अध्ययनअनुसार नेपालमा कुखुराको मासु सबैभन्दा बढी खपत हुने मासुमध्ये पर्छ। सजिलै उपलब्ध हुने, फल मासु बढी हुने, पचाउन सजिलो हुने र यसको मूल्य पनि तुलनात्मक रूपमा कम भएकोले यसको खपत बढी हुन्छ।
दशैंमा मासु बढी खाने हुँदा स्वस्थ मासुको छनाेट कसरी गर्ने भन्ने कुरा जान्न अत्यावश्यक पर्दछ।
स्वास्थ पशुको छनाेट
मासुको गुणस्तर पशुको स्वास्थ्यमा निर्भर गर्छ। स्वस्थ पशुको मासु मात्र स्वस्थ, सुरक्षित र पौष्टिक हुन्छ। पशु काट्नुअगाडि पशु स्वस्थ छ कि छैन, ध्यान दिनु पर्छ। रोगी, दुब्लो वा घाइते पशु मासु उपभोगका लागि बध गर्नुहुँदैन। मासुका लागि स्वस्थ पशु चिन्ने तरिका यस प्रकारको छ।
– फुर्तिलो, चनाखो र सामान्य स्वभाव
– चम्किलो आँखा
– नाकबाट सिँगान र मुखबाट र्याल नबगाएको
– नखोक्ने, सामान्य श्वासप्रश्वास
– सफा र चम्किलो छाला वा रौँ
– शरीरमा कुनै घाउ तथा चोटपटक नभएको
– अस्वाभाविक शारीरिक बनावट नभएको
– मलद्वार सफा भएको
पशु काट्ने स्थान तथा बधस्थलको सरसफाइ
सम्भव भएसम्म पशु चिकित्सकद्वारा प्रमाणित व्यवस्थित बधशालाबाट बध गरिएको पशुको मासु खरिद गर्नुपर्छ। तर, यो गाउँ घरका लागि व्यावहारिक हुँदैन। पशु बध गर्ने स्थान वा बधशालामा पशुलाई काट्नुअघि र काटिसकेपछि पूर्ण सरसफाइ भएको सुनिश्चित गर्नुपर्दछ।
पशु बध गर्ने प्रक्रिया
पशुलाई बध गर्नुभन्दा कम्तीमा १२ घण्टा अगाडिबाट घाँस दाना दिनुहुँदैन, तर प्रसस्त मात्रामा पानी दिनुपर्छ। बध गर्नुअगाडि पशुको स्वास्थ्य निरीक्षण गरिनुपर्छ। रोगको शंका लागेमा पशुलाई बध गर्नुहुँदैन। पशुलाई बध गर्दा सकेसम्म धेरै रगत निकाल्नुपर्छ। मासु काट्ने क्रममा प्रयोग हुने पानी सफा हुनु आवश्यक हुन्छ। मासुलाई पेट तथा आन्द्रालगायतका अंगबाट अलग राख्नुपर्छ। बध गर्दा वा मासु काट्दा प्रयोग हुने हतियार सफा र धारिलो हुनुपर्छ।
मासु भण्डारण
मासु पसलमा मासु राख्ने ठाउँको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । मासुलाई चिसो ठाउँमा (जस्तै रेफ्रिजरेटर) राख्नुपर्छ । यदि रेफ्रिजरेटर छैन भने मासुलाई छिट्टै पकाउनुपर्छ वा सुकाएर राख्नुपर्छ। साथै मासुमा नुन छर्किएरसमेत राख्न सकिन्छ। यसले ब्याक्टेरियाको वृद्धिलाई रोक्छ र मासुको गुणस्तर कायम राख्छ।
घरमा सरसफाइ र पकाउने तरिकामा
मासु घरमा ल्याइसकेपछि पनि यसलाई तुरुन्तै चिसो ठाउँमा राख्नुपर्छ। मासु छुनुअघि र छोएपछि साबुनपानीले हात धुनुपर्छ। मासुलाई राम्ररी पकाउनुपर्छ । मासुलाई धेरै ठुला टुक्रामा पकाउँदा भित्रसम्म नपाक्न सक्छ । तसर्थ, सानो टुक्रामा काटेर पकाउनु राम्रो हुन्छ । राम्ररी नपाकेको मासुमा ब्याक्टेरिया र परजीवीहरू हुन सक्छन् जसको सेवनले मानिसमा समेत रोग लाग्न सक्छ।
आवश्यकताअनुसार मात्र उपभोग गर्नुपर्छ
दशैंमा धेरै मासु खाँदा स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ। दशैंमा मासु मात्र नभई हरियो सागसब्जी, सलाद र दाल पनि प्रशस्त मात्रामा खानुपर्छ। यसले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ। एकैचोटि धेरै मासु खानुभन्दा थोरै–थोरै मात्रामा नियमित रूपमा खाँदा राम्रो हुन्छ।
अन्त्यमा, दशैंको हर्षमा स्वास्थ्यलाई बेवास्ता नगरौँ । स्वस्थ पशुबाट काटिएको, सफा तरिकाले पकाएको, उचित मात्रामा खाइएको मासु नै हामी सबैको लागि सुरक्षित र फाइदाजनक हुन्छ। यसपालिको दसैँ, मीठो मात्र नभई स्वस्थ र सुरक्षित पनि बनाऔँ।