नेपालगन्ज: जेनजी आन्दोलनका घाइतेलाई भेरी अस्पताल नेपालगन्जमा ‘जेनजी क्लिनिक’ स्थापना गरिएको छ । घाइतेहरुको फलोअप उपचार व्यवस्थित होस् भन्ने उद्देश्यले गृह मन्त्रालयको निर्णय बमोजिम नेपालगन्जको भेरी अस्पतालसहित देशभरका १६ अस्पतालहरुमा ‘जेनजी क्लिनिक’ स्थापना गरिएको हो ।
भेरी अस्पतालका निमित्त मेसु डा आनन्द कर्णद्वारा जारी सूचना अनुसार अस्पतालको इमर्जेन्सी विभागबाट सेवा दिने गरि जेनजी क्लिनिक स्थापना गरिएको हो । त्यसका लागि मेडिकल अधिकृत डा राहुल कुर्मीलाई फोकल पर्सन तोकिएको अस्पतालले जानकारी दिए ।
साथै जेनजी आन्दोलनका घाइतेहरुलाई अस्पतालसम्म नि:शुल्क आउ–जाउको व्यवस्था समेत मिलाइएको मन्त्रालयले जनाएको छ । घाइतेहरुको वर्गीकरण गर्न उपचारमा संलग्न विज्ञ डाक्टरहरुको संयोजकत्वमा कार्यदल गठन हुनेछ । आइतबार बस्ने मन्त्रिपरिषद बैठकले यसबारे निर्णय गर्ने एक मन्त्रीले जानकारी दिए ।
एकपटक उपचार गरी पटकपटक फलोअपमा जानुपर्ने घाइतेहरुका लागि स्वास्थ्य मन्त्रालयले वा सम्बन्धित अस्पतालले नि:शुल्क एम्बुलेन्सको व्यवस्था मिलाउनेछन् ।जेनजी आन्दोलनका घाइतेहरुको उपचारमा सहजताका लागि अस्पतालहरुमा फोकल व्यक्तिहरु पनि तोकिएको छ ।
लुम्बिनीमा भेरी अस्पताल नेपालगन्ज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, कर्णालीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला तथा सुदूरपश्चिममा डडेलधुरा अस्पताल र गेटा अस्पताल धनगढीमा जेनजी क्लिनिक स्थापना गरिएको छ ।
यस्तै काठमाडौं उपत्यकामा वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा जेन–जी क्लिनिक स्थापना गरिएको छ ।
कोशी प्रदेशमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोशी अस्पताल विराटनगर, मधेश प्रदेशमा नारायणी अस्पताल वीरगञ्ज र गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीमा जेनजी क्लिनिक स्थापना गरिएको छ ।
यसैगरी बागमती प्रदेशमा चितवनको भरतपुर अस्पताल र गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जेनजी क्लिनिक स्थापना गरिएको छ ।