अहिलेको अवस्थामा जुन दर्दनाक घटना भएको छ, त्यो घटनाको कारणले पहिला मानसिक समस्या भएकाहरूलाई फेरि त्यही समस्या फर्किन पनि सक्छ भने एक प्रकारको नयाँ खालको रोगको सृजना पनि हुन सक्छ। पहिला कुनै मानसिक रोग नलागेकाहरूलाई पनि नयाँ रोग देखिन सक्छ। यस्तो अवस्थामा ‘पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर’ (पिटिएसडी) हुने खतरा धेरै रहन्छ।
कुनै पनि ठूलो किसिमको घटनाहरूले गर्दा मानिसहरूमा एकदमै आघात पुगेको हुन्छ। जसले गर्दा मानिसहरूमा नकारात्मक सोचहरू आउने हुन्छ भने नकारात्मक घटनाहरू दिमागमा बेला बेला आइरहने पनि हुन्छ। हामी सुत्दा पनि निन्द्रामा आइरहने हुन्छ। त्यसैले जुन घटनास्थलमा हामी थियौ सम्भव भएसम्म त्यो ठाउँमा केही समय नगएकै राम्रो हुन्छ।
जो घटनास्थलमा थिएन उसले पनि समाचार हेरेको आधारमा धेरै कुरा देखेर समस्या पर्न सक्छ। जुन खालको आन्दोलन भयो हामी सबै प्रत्यक्ष रूपमा गएका हुँदैनौं। तर हरेक ठाउँमा प्रदर्शनहरू भएका थिए। आफूले प्रत्यक्ष नदेखेका ठाउँहरूको भिडिओ विभिन्न मिडियामा आइरहेका हुन्छन्। त्यसले पनि पीडा दिइरहेको हुन्छ। यसलाई सेकेन्डरी ट्रमा भनिन्छ।
उदाहरणको लागि हामीले कहिलेकाहीँ फिल्म हेर्दा पनि उराठ लाग्ने, दिक्क लाग्ने हुन्छ। आन्दोलनका भिडिओहरूले पनि यस्तै गर्न सक्छ। यसलाई सेकेन्डरी ट्रमा भनिन्छ। यसले पनि हाम्रो मनोबल कमजोर हुने तनाव बढ्ने खालका लक्षण देखा पर्छन्।
कहिलेकाहीँ एकै खालका भिडिओ बारम्बार देख्दा पनि समस्या हुन्छ। जसको लागि डिजिटल मिडियाबाट टाढा रहनुपर्छ। यसो भन्दै गर्दा डिजिटल मिडियाबाट टाढा रहनलाई सजिलो पनि छैन। त्यसैले कति समाचार हेर्ने भनेर यसको सीमितता तोक्न सक्नुपर्छ। आफ्नो ध्यान अन्त पनि लैजानुपर्छ।
हामीले दुर्घटनाका समाचारभन्दा पनि आफूलाई रमाइलो लाग्ने घटना हेर्नुपर्छ। एकअर्कामा कुरा गर्ने, साथीभाइ भेट्ने, शारीरिक गतिविधि बढाउने खेल, व्यायाममा ध्यान दिने गर्नुपर्छ। हामीले आफूलाई यस्ता गतिविधिमा पनि केन्द्रित गर्न सक्छौं।
यो बेला बच्चाहरूलाई पनि बलियो साथ दिन जरूरी छ। बच्चाहरूको हकमा हामी आफैले जे भइरहेको छ, जस्तो भइरहेको छ यो सबै ठीक हुन्छ म तिम्रो साथमा छु भन्नुपर्छ। संसारमा जे भए पनि तिमी सुरक्षित छौ भनेर बुझाउन सक्नुपर्छ। मलाई केही भयो भने मेरो परिवार छ है भनेर बच्चालाई पार्न सक्नुपर्छ।
यो घटनापछि मन डराउने, खिन्न हुने, नरमाइलो लाग्ने, निन्द्रामा समस्या भयो भन्दै बिरामीहरू आउने क्रम बढ्न थालेको छ। यस्ता खालका समस्याले गर्दा पहिला नै एजाइटी, डिप्रेसन, अनि निन्द्रा नलाग्ने समस्या भएकाहरूलाई अझै समस्या बढेको पाइएको छ।
हामीले अब जे घटना घट्यो, सकियो भन्ने ठान्नुपर्छ। हामीले नकारात्मक मात्र सोच्यौं भने बाहिर निस्किनै सक्दैनौं। त्यसैले जे हुन्छ अब ठीक हुँदै जान्छ भन्ने सोच्न जरूरी छ। हामीले सकारात्मक तरिकाले सोच्नुपर्छ।
यदि हामीलाई पहिलादेखि नै मानसिक रोग छ भने औषधि नियमित खानुपर्छ। योसँगै अप्ठ्यारो भएको छ भने आफ्नो चिकित्सकसँग परामर्श लिन पर्छ। त्यस्तै आफन्त साथीभाइलाई पनि भेट्नुपर्छ।
यस्तो बेला डिप ब्रिदिङ व्यायाम पनि गर्न सकिन्छ। यस्तो व्यायाम आर्मीहरूले पनि गर्ने गर्छन्। लामो सास तान्ने ४ सेकेण्डको लागि, त्यसपछि ४ सेकेण्डको लागि सास रोक्ने त्यसपछि ४ सेकेण्डकै लागि लामो सास फाल्ने गर्नु पर्छ। सास तान्ने, रोक्ने, फाल्ने गर्न सके आफूलाई शान्त भएको महसुस गर्न सकिन्छ। ५/६ पटक मात्र यस्तो गर्दा पनि धेरै सहज हुन्छ।
यस्तो समयमा मनोबल बढाउन एक अर्कालाई साथ दिनुपर्छ। गाह्रो, अप्ठ्यारो भयो भने एक आपसमा कुरा गर्ने हो। गुम्साएर राख्दा झन् पीडा बढ्न सक्छ। त्यसैले आफूले भन्न सक्ने आफन्त, साथीभाइलाई मनका कुरा भन्नुपर्छ। यस्तो गर्दा पीडा कम गराउन सकिन्छ। तर धेरै गाह्रो भयो भने चिकित्सकलाई भेट्न जरूरी छ।
अहिले जे भयो त्यो सबै अचानक भएको हो। जसले गर्दा भोलिका दिनमा केही हुन्छ कि भनेर नकारात्मक सोच आउनु स्वाभाविक हो। यसो भन्दै गर्दा नराम्रो सोचेर मात्र हुँदैन। यो बाहेक अरू पनि छन् भनेर घरपरिवार अनि काममा ध्यान दिन सक्नु पर्छ। जसले गर्दा आफ्नो मनोबल बढ्छ अनि काममा केन्द्रित हुन सकिन्छ।