दसैँ बिदामा पनि कृष्णपुर स्वास्थ्यचौकीमा २४ सै घण्टा आकस्मिक स्वास्थ्य सेवा

    • स्वास्थ्य पेज

  • ११ आश्विन २०८२, शनिबार

कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर स्वास्थ्यचौकीमा दसैँको सार्वजनिक बिदामा पनि २४ घण्टे आकस्मिक सेवा सञ्चालन हुने भएको छ । कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझाका अनुसार नगर कार्यपालिकाको निर्णयअनुसार आकस्मिक तथा प्रसूति सेवा निरन्तर सञ्चालन गर्ने व्यवस्था मिलाइएको हो ।

‘नगर क्षेत्रमा अस्पताल नभएकाले आकस्मिक अवस्थामा स्वास्थ्यचौकीमै भर पर्नुपर्ने बाध्यता छ, त्यसैले दसैँ बिदामा पनि चौकीमा २४सै घण्टा सेवा निरन्तर गर्ने निर्णय गरेका हौँ’, नगरप्रमुख ओझाले भने ।

सरकारी कार्यालयहरू चाडपर्वमा बन्द भए पनि स्वास्थ्य सेवा भने निरन्तर रूपमा सञ्चालन गरिएको उनले बताए । स्वास्थ्यचौकीका इन्चार्ज वंशीराज भट्टका अनुसार आकस्मिक उपचार र प्रसूति सेवाका लागि आवश्यक स्वास्थ्यकर्मीको ड्युटी तालिका मिलाइसकिएको छ । उनले भने- ‘गत वर्ष पनि दसैँमा चौकीको सेवा खुला राखिएको थियो, यसपटक पनि निरन्तरता दिँदैछौँ ।’

नगरपालिकाले यस्तो व्यवस्था गरेपछि दसैँको समयमा हुने दुर्घटना, आकस्मिक बिरामी तथा प्रसूति हुने महिलालाई राहत पुग्ने अपेक्षा गरिएको छ । उपचारका लागि नगरवासीलाई अब टाढा महेन्द्रनगर, अत्तरिया वा धनगढी धाउनुपर्ने बाध्यता हट्ने भएको छ ।
कृष्णपुर नगरपालिकाले वि.सं २०७९ असार १ गतेदेखि स्वास्थ्यचौकीमा २४ सै घण्टा आकस्मिक स्वास्थ्य सेवा सञ्चालन गर्दै आएको छ । चाडपर्वका बेला पनि स्वास्थ्यचौकीका सेवालाई निरन्तरता दिने कार्यबाट स्थानीय बासिन्दाले सन्तुष्टि व्यक्त गरेका छन् ।

  • ११ आश्विन २०८२, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech