नेपालगन्जः नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले हालै लिएको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजाले देशको चिकित्सा शिक्षाको गुणस्तरमाथि गम्भीर प्रश्न खडा गरेको छ। एमबीबीएस र बीडीएस उत्तीर्ण गरी आधिकारिक चिकित्सक बन्ने सपना बोकेका धेरै विद्यार्थी पहिलो प्रयासमै असफल भएका छन्। विशेष गरी डेन्टल (बीडीएस) तर्फको नतिजा अत्यन्तै निराशाजनक बनेको छ। बुधबार र बिहीबार सम्पन्न ७३औँ लाइसेन्स परीक्षामा सहभागी १८३ जना बीडीएस स्नातकमध्ये १४८ जना (८१.३८ प्रतिशत) अनुत्तीर्ण भएका छन्। परीक्षा दिने हरेक पाँच डेन्टल स्नातकमध्ये चारजना असफल भएका छन् भने जम्मा ३५ जना (१८.६२ प्रतिशत) मात्र उत्तीर्ण भएका छन्।
एमबीबीएसतर्फ पनि नतिजा उत्साहजनक छैन। सहभागी ८९४ मध्ये ५०८ जना (५७.८१ प्रतिशत) अनुत्तीर्ण भएका छन्। जम्मा ३८६ जना (४२.१९ प्रतिशत) मात्र पास भएका छन्। एमबीबीएस र बीडीएस दुबै गरी परीक्षामा सहभागी १ हजार ७७ जनामध्ये ३९.०९ प्रतिशत (४२१ जना) मात्र उत्तीर्ण भएका छन्। दुईमध्ये बीडीएसतर्फको नतिजा झनै ‘चिन्ताजनक’ रहेको काउन्सिलले जनाएको छ।
यो नतिजा त्यस्तो समयमा आएको हो, जतिबेला चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएसमा सिट संख्या बढाउने निर्णय गरेको छ। नतिजाले सिट बढाउँदा पढाइको गुणस्तर खस्कने भन्दै व्यक्त हुँदै आएका चिन्तालाई थप बलियो बनाएको सरोकारवालाहरूको तर्क छ।
काउन्सिलका रजिष्ट्रार डा. सतीशकुमार देवका अनुसार यसपटक अनुत्तीर्ण हुनेहरूमध्ये अघिल्ला परीक्षामा फेल भएका विद्यार्थीहरू धेरै रहेका कारण नतिजा कमजोर आएको अनुमान गरिएको छ। तर, यति ठूलो संख्यामा असफलताले शैक्षिक संस्थाको अध्ययन–अध्यापन शैली, पाठ्यक्रमको प्रभावकारिता र विद्यार्थीको तयारीमाथि नै प्रश्न उठाएको उनको भनाइ छ।
अधिकारीहरूले चिकित्सा शिक्षाको गुणस्तर कायम राख्न तत्कालै शैक्षिक संस्थाहरूको अध्यापन पद्धति पुनरावलोकन गर्नुपर्ने बताएका छन्। साथै, लाइसेन्स परीक्षामा किन यति धेरै विद्यार्थी असफल भइरहेका छन् भन्नेबारे गहन अध्ययन गरी सुधारका उपायहरू अपनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।








