नेपालगन्जः नेपाल फार्मेसी संघ बर्दिया शाखाले विश्व फार्मासिस्ट दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ । दिवसको अवसरमा फलफुल वितरण, दिप प्रज्ज्वलन लगायतका कार्यक्रम गरिएको संघका अध्यक्ष कृष्ण पौडेलले बताए ।
राजापुर नगरपालिकाको टपरामा आयोजना गरिएको कार्यक्रममा सिकलसेल एनिमियाका ३० जना बिरामीलाई औषधि तथा आर्थिक सहयोग प्रदान गरिएको छ । त्यसक्रममा एनसीडिए राजापुर–गेरुवा उपशाखाले सहकार्य गरेको थियो।
कार्यक्रममा राजापुर नगरपालिकाकी उपप्रमुख मनकला चौधरीले फर्मासिस्ट दिवसमा संघले सामाजिक कार्य गरेको भन्दै खुसी व्यक्त गरिन् ।
सिकलसेलका बिरामीले चाडपर्वमा खानपिन रहनसहन लगायतमा बिषेश ध्यान दिन पनि उनले सुझाव दिइन् ।
मानसरोवर अस्पतालका डाक्टर शशी यादवले सिकलसेल एनिमियाको कारण, लक्षण र सावधानीबारे जानकारी गराइकी थिइन् ।
नेपाल फार्मेसी संघ बर्दियाका अध्यक्ष पौडेलले सिकलसेल एनिमिया एक प्रकारको जेनेटिक रोग भएको भन्दै आत्मबल बढाउँदै जीवनलाई अगाडि बढाउनु पर्ने बिरामीलाई सुझाव दिए ।
मगंलराम थारुले सञ्चालन गरेको सो कार्यक्रममा औषधि व्यवसायी सघं बर्दियाका महासचिव देवेन्द्र काफ्ले, वडा नं. ६का सदस्य बलबिर रानाले सघंले गरेको कार्यको प्रशंसा गरेका थिए ।
संघकी कोषाध्यक्ष सरस्वती दहितका अनुसार दिवसको अवसरमा साँझ दिप प्रज्जवलन गरिएको थियो ।